site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभापतिहरूको निष्कर्ष– ‘भागबन्डा अन्त्य गरौं’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहमा आबद्ध जिल्ला सभापतिहरूले पार्टीमा चल्दै आएको भागबन्डा अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार सम्पन्न तीनदिने भेलाले पार्टीमा चल्दै आएको ६०–४० को भागबन्डा अन्त्य गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

भागबन्डाका आधारमा चलाउँदा पार्टीमा त्याग गरेका कार्यकर्ताहरूको अवमूल्यन हुने गरेकाले आगामी दिनमा भागबन्डाको परिपाटी अन्त्य गर्नुपर्नेमा जिल्ला सभापतिहरू एकमत देखिएका छन् । कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा चल्दै आएको भागबन्डाको राजनीति अन्त्य गरेर पार्टीलाई विधानअनुसार अगाडि बढाउनुपर्ने निष्कर्ष भेलाले निकालेको जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जसरी विधानमा सभापतिलाई स्पष्ट रूपमा क्षेत्राधिकार दिइएको छ, त्यहीअनुरूप पार्टीलाई चलाउनुपर्छ । अब कसैले कसैलाई यति दिने र लिने भन्ने ६०÷४० को अवधारणालाई अन्त्य गरिनुपर्छ,” भेलापछि पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले भने, “पार्टीभित्र त्याग, तपस्या, बलिदानीको हिसाबमा सभापतिज्यूले सबैको मूल्यांकन गरी नियुक्तिहरू गर्नुपर्छ । बलिदानी दिने कार्यकर्ताको पछि पर्नुपर्ने अवस्था आयो त्यसकारण यो भागबन्डा अन्त्य गर्नुपर्ने निष्कर्ष हो ।”

भेलाले पुस ११ मा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट उत्पन्न पार्टीभित्रको विवादलाई नेतृत्वले छिटोभन्दा छिटो सहज ढंगले समाधान गर्नुपर्ने, विधानका निलम्बित धाराहरू फुकवाका लागि पहल गर्नुपर्ने र विभागलाई २८ वटै ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । जिल्ला सभापतिहरूले भेलाले निकालेका निष्कर्ष समेटेर बिहीबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । दुवै शीर्ष नेतृत्वलाई पार्टी कार्यालयमै छुट्टाछुट्टै ज्ञापनपत्र बुझाइने तयारी छ ।

“भोलि १० बजे बूढानीलकण्ठमा सभापतिज्यूलाई भेट्छौं । त्यही भेटमा दिउँसो पार्टी कार्यालयमा समय निर्धारण गरी ज्ञापनपत्र बुझाउँछौं,” नुवाकोटका जिल्ला सभापति केसीले भने, “हामीले विधि र विधानसम्मत कुरा उठाइरहेका बेला घर–घर गएर होइन कि पार्टी कार्यालयमै उहाँहरूलाई बुझाउँछौं । विधिसम्मत रूपले पार्टी कार्यालयमै दिने तयारी हो ।”  वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा सहभागी हुन काठमाडौं आएका जिल्ला सभापतिहरूलाई सभापति देउवाले ‘लन्च पार्टी’ दिने भएका छन् । कांग्रेस काभ्रेका सभापति मधु आचार्यका अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानीलकण्ठमा ‘लन्च पार्टी’ का लागि बोलाएका हुन् । 

सोहीबखत देउवासँग समय लिएर पार्टी कार्यालयमा भेलाको निष्कर्षसहितको ज्ञापनपत्र बुझाउने तयारी छ । गत सोमबारदेखि सुरु भेलामा ४३ जिल्लाका सभापतिको सहभागिता थियो । यद्यपि, केही जिल्ला सभापतिले भेलामा ५० भन्दा बढीको उपस्थिति रहेको दाबी गरेका छन् । यसैबीच वरिष्ठ नेता पौडेल आफूनिकट जिल्ला सभापतिको भेलाबाट उत्साही देखिएका छन् । भेलामा सहभागी जिल्ला सभापतिहरू आफूले अडान लिएको मुद्दामा उभिएपछि उनको उत्साह बढेको हो । भेलापछि पत्रकारहरूसँगको कुराकानीमा उनले भने, “हाम्रो मागमा जिल्ला सभापतिहरूले समर्थन जनाउनुभयो । त्यसले हामी थप उत्साही भएका छौं ।” पौडेल समूहले पुस ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू सच्याउनुपर्ने माग राख्दै आएको थियो ।

पौडेल समूहका नेताहरू पुस ११ को निर्णय सच्याउन सभापति देउवा सहमत हुनेमा आशावादी देखिएका छन् । पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले जिल्ला सभापतिहरूको भेलाको निष्कर्षपछि सभापतिले निर्णय सच्याउने भन्दै आशा व्यक्त गरेका छन् । “विश्वास छ, आजका दिनमा विश्वास गरौं । उहाँले अग्रसरता लिनुहुन्छ,” उनले भने ।

यस्तै महामन्त्री डा. शशांक कोइरालाले पनि पुस ११ मा सभापतिले गरेका निर्णय सच्याउन तयार रहेको प्रतिक्रिया दिए । सभापतिले निर्णय नसच्याए के गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “निर्णय नसच्याए हामी फेरि सोच्छौं र अर्को कदम चाल्छौं ।” उनले अर्को कदम के हुने भन्ने विषयमा भने स्पष्ट पारेनन् ।
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १९:२६
प्रतिक्रिया दिनुहोस्