site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कुकुरका लागि विष समान हुन सक्छ ‘चकलेट’

एजेन्सी । हामीलाई थाहा नहुँदा वा कतिपय अवस्थामा दुर्घटनावश् कुकुरहरुले चकलेट सेवन गर्न सक्छन् जुन उनीहरुका लागि विष समान हुन सक्ने जीवविद्हरु बताउँछन् । यसरी कुकुरको शारीरिक आकार र तिनले सेवन गरेको चकलेटको मात्रा हेरेर कुकुर नराम्ररी प्रभावित हुने र धेरै ‘कोको’ युक्त उत्पादन निल्दा मृत्यु समेत हुने गरेको पाइएको छ । 

वास्तवमा चकलेटमा हुने ‘थिओब्रोमाइन’ नामक तत्व कुकुरका लागि विषाक्त मानिन्छ । मान्छेले यसलाई सजिलै पचाउन सक्छन् तर कुकुरलाई एकदम धेरै समय लाग्ने गर्दछ भने बिस्तारै त्यसले उनीहरुको शारीरिक प्रणाली अवरुद्ध गरि गम्भीर क्षति पुर्याउन सक्छ । थोरै मात्रामा चकलेट खानुले कुकुरको पेटमा समस्या हुने र बान्ता वा पखाला लाग्ने हुन सक्छ तर थिओब्रोमाइन धेरै भएमा चाहिँ यसले शरीर काम्ने, दिमागमा झट्का, अनियमित मुटुको धड्कन, भित्री अङ्गबाट रगत बग्ने वा ह्दयघात हुने सम्भावना हुन्छ । त्यसलाई थिओब्रोमाइन पोइजनिङ पनि भनिन्छ जसक्रममा कुकुरले असाधारण रुपमा अधिक सक्रियता देखाउँछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसको उपचारको सामान्य तरिका भनेको कुकुरले चकलेट निलेको दुई घण्टा भित्र त्यसलाई बान्ता गराउनु हो । तर हामीलाई त्यसले अधिक मात्रामा खाएको शंका लागेमा चाहिँ तुरुन्तै भेटनरी कहाँ लगिहाल्नुपर्छ । त्यस्तै साना कुकुरहरुले खाएको अवस्थामा पनि तत्कालै चिकित्सककहाँ पुर्याउनुपर्ने सुझाव दिइएको छ । 

चकलेटहरुमा थिओब्रोमाइनको मात्रा हेरिहेरि हुन्छ । जस्तै डार्क चकलेटमा यसको स्तर धेरै हुन्छ भने मिल्क चकलेट वा ह्वाइट चकलेटमा थिओब्रोमाइन सबैभन्दा कम पाइन्छ । यस्तोमा कुनैपनि कुकुरले थोरै मात्रामा पनि डार्क चकलेट खाएमा त्यो खतरनाक साबित हुन सक्छ । २८ ग्राम सम्मको डार्क चकलेटले एउटा २० केजीको कुकुरलाई सजिलै पोइजनिङ गराउन सक्छ । त्यसैले पनि कुकुरलाई फकाउन वा पुरस्कारका रुपमा कहिल्यै चकलेट दिनुहुँदैन र आफूले खाँदा पनि नभेट्ने ठाउँमा राख्नुपर्छ । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०६:३५
प्रतिक्रिया दिनुहोस्