कर्नाटक । भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस यदुरुप्पाले नागरिकता संशोधन कानुनको विरोधका क्रममा ज्यान गुमाउनेलाई क्षतिपूर्ति नदिइने बताएका छन् ।
गत साता मंगलुरुमा नागरिकता संशोधन कानुनको विरोधका क्रममा भएको झडपमा दुईजनाले ज्यान गुमाएका थिए । अनुसन्धानमा संलग्न मंगलुरु प्रहरीले आफ्नो सामाजिक सञ्जालको पेजमा गत साताको विरोध प्रदर्शन पूर्वयोजना अनुसार भएको भन्ने भिडियो सार्वजनिक गरेपछि मुख्यमन्त्री यदुरुप्पाले यसो बताएका हुन् ।
"नागरिकता संशोधन कानुनको विरोधका क्रममा मंगलुरुमा भएको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका दुईजनालाई घोषणा गरिएको क्षतिपूर्ति थप अनुसन्धानपछि मात्रै निर्णय गरिनेछ," यदुरुप्पाले बुधबार भने ।
राज्य सरकारले उक्त घटनाको छानबिन गर्न मजिस्ट्रेटलाई निर्देशन दिएको छ ।
डिसेम्बर १९ मा भएको उक्त आन्दोलनका क्रममा प्रहरी कारबाहीमा परी ४९ वर्षीय जलिल र २३ वर्षीय नौसहीनले ज्यान गुमाएका थिए । यसअघि शनिबार मंगलुरु पुगेका मुख्यमन्त्री यदुरुप्पाले मृतकका परिवारलाई भेट्दा १० लाख क्षतिपूर्ति दिने घोषणा गरेका थिए । तर, पछि भिडियो सार्वजनिक भएपछि भने उनले छानबिनपछि मात्रै क्षतिपूर्तिको निर्णय गरिने बताएका हुन् ।
बीजेपीका सांसद सोभा करन्डाजेले पनि सरकारको बचाउ गर्दै भने, "संसारमा कुनै ठाउँमा अपराधीलाई क्षतिपूर्ति दिने चलन छैन ।"- हिन्दुस्तान टाइम्स