
पाकिस्तानमा रहेको आतंकवादी समूह जैस-ए-मोहमम्द (जेएम) ले भारतको उत्तरप्रदेशस्थित अयोध्यामा आक्रमण गर्ने योजना बनाएको भारतीय गुप्तचर स्रोतले बुधबार सार्वजनिक गरेको छ ।
स्रोतका अनुसार अयोध्यामा आक्रमण गर्नेसम्बन्धीका म्यासेजहरु सामाजिक सञ्जालका विभिन्न एपमार्फत् आदानप्रदान भइरहेको सुरक्षा निकायले जनाएका छन् । जेएम प्रमुख मसुद अजहरले रामको जन्मभूमि अयोध्यामा आक्रमण गर्ने सन्देश प्रवाह गर्न आदेश गरेका छन् ।
उक्त आक्रमणको सन्देश प्रवाह भएलगत्तै सुरक्षा निकायले आफ्ना मातहतमा सम्पूर्ण सुरक्षा निकायमा पठाएर अयोध्याका मुख्य स्थानहरुमा कडा सुरक्षा व्यवस्था मिलाएका छन् ।
त्यससँगै जेएमका मुख्य नेटवर्कहरुमा समेत निगरानी बढाइएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अजहरमाथि सन् २०१९ मे १ मा धारा १२६७ अन्तर्गत प्रतिबन्ध लगाइएको छ भने विश्वव्यापी आतंककारीको सूचीसमेत राखिएको छ । -डीएनए इन्डिया