
टोक्यो । घुस लिएको आरोपमा जापानी सत्तारुढ दल दल लिब्रल डेमोक्रेटिक पार्टीका सांसद सुकासा अकिमोटोलाई जापानी अधिकारीले पक्राउ गरेका छन् ।
उनले चिनियाँ क्यासिनो सञ्चालकबाट ३.७ मिलियन येन घुस लिएको आरोपमा बुधबार उनलाई पक्राउ गरिएको हो । ४८ वर्षीय अकिमोटो प्रधानमन्त्री सिन्जो आबेको पार्टी लिब्रल डेमोक्रेटबाट सांसदमा निर्वाचित भएका थिए । उनले भने आफूले कसैसँग घुस नलिएको बताएका छन् ।
अधिकारीले उनीसहित घुस दिने अन्य तीनजनालाईसमेत पक्राउ गरेको छ । उनलाई सरकारको तथाकथित संयुक्त रिसोर्ट प्रोजेक्ट नीति बनाउन सहयोग गरेको आरोपमा मुद्दा चलाइएको छ । उनलाई जापानमा ठूला होटलसहित क्यासो सञ्चालनको अनुमति दिने नीति बनाउन सहयोग गरेको आरोप छ ।
अकिमोटो जापानमा क्यासिनो सञ्चालनका लागि लबिङ गर्ने प्रमुख व्यक्ति भएको जापनी अधिकारीहरुले बताएका छन् । तर, अकिमोटोले भने उक्त आरोपहरु आधारहीन भएको बताएका छन् ।
उनले बुधबार बिहान ट्विटरमार्फत भनेका छन्, "म कुनै पनि किसिमको गलत क्रियाकलापमा संलग्न छैन । म त्यसलाई सत्यताका आधारमा छानबिन होस् भन्ने चाहन्छु ।"
उनले जापान सरकारको वरिष्ठ उपमन्त्री भएर गत वर्ष अक्टोबरसम्म काम गरेका थिए भने त्यसअघि वरिष्ठ पर्यटन उपमन्त्री भएरसमेत काम गरेका थिए । गत साता जापानी अधिकारीहरुले अनुसन्धानका क्रममा उनको संलग्नता दुई चिनियाँ क्यासिनो सञ्चालक र जुवा खेलाउनेहरुसँग भएको पाएका थिए ।
जापानले यही वर्षदेखि विदेशी पर्यटकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने भन्दै संयुक्त रिसोर्ट योजनाअन्तर्गत क्यासिनोलाई कानुनी मान्यता दिएको थियो । जसमा जापानले तीनवटा स्थानमा क्यासिनो सञ्चालनको अनुमति दिएको थियो । जुन सन् २०२० को मध्यतिरदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
उक्त क्यासिनो सञ्चालनमा चिनियाँ कम्पनीहरुले सञ्चालनको चाहना राखेका थिए । सोही योजनाअनुसार ती चिनियाँहरुले तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका अकिमोटोलाई सम्पर्क गरी सन् २०१७ मा क्यासिनो रिसोर्ट प्रोजेक्ट लागु गरेको स्रोतले बताएको साउथ चाइना मर्निङ् पोस्टले जनाएको छ ।