
क्याप्सन : बन्दीगृह निर्माणको रेखदेख गरिरहेका साइट इन्चार्ज रविन दास । तस्बिर : बीबीसी
नयाँदिल्ली । भारतको असममा विश्वकै दोस्रो र एसियाको सबैभन्दा ठूलो डिटेन्सन सेन्टर (बन्दी गृह) बन्दै गरेको पाइएको छ । केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्तो बन्दीगृह बनाउन लागेको कुरा अफवाह फैलाइएको भन्दै प्रतिक्रिया जनाएका थिए । बीबीसी हिन्दीले भने स्थानीय स्तरमा बुझेर एउटा लामै समाचार बनाएको छ ।
प्रधानमन्त्रीको भनाइप्रति असमको ग्वालपाडा जिल्लाको माटिया गाउँका सामाजिक कार्यकर्ता शाहजहाँ अलीले भने, ‘‘मलाई थाहा छैन प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा बोल्दै भारतमा कुनै डिटेन्सन सेन्टर छैन भनेर किन भन्नुभयो । तपाईंले देख्न सक्नुहुन्छ यहाँ माटियामा भारतको सबैभन्दा ठूलो डिटेन्सन सेन्टर निर्माण भइरहेको छ । तपाईंले चाहे यहाँ काम गर्ने कामदारसँग सोध्न सक्नुहुन्छ । यो विशाल भवन अवैध विदेशीलाई राखिनेछ । यसका लागि बजेट भने संघीय गृह मन्त्रालयले दिइरहेको छ ।’’
प्रधानमन्त्रीले गएको आइतबार नयाँदिल्लीको सार्वजनिक कार्यक्रममा भारतमा कुनै डिटेन्सन सेन्टर नभएको बताएका थिए । तर, प्रधानमन्त्री मोदीको दाबीविपरीत असमको माटिया गाउँमा अढाइ हेक्टरमा देशको मात्रै होइन एसियाकै ठूलो बन्दीगृह बनाउने काम भइरहेको हो ।
यो सेन्टरको निर्माण हेरिरहेका साइट इन्चार्ज रविन दासले बीबीसीसँगको कुराकानीमा भने, ‘‘मैले सन् २०१८ देखि यो डिटेन्सन सेन्टरको निर्माणलाई हेरिरहेको छु । माटिया गाउँमा गत वर्षको डिसेम्बरबाट यसको निर्माण सुरु भएको हो । यो सेन्टरमा ३ हजार मानिस राख्ने योजना छ ।’’
यहाँ महिला र पुरुषलाई राख्न अलग–अलग सेल बनाइँदै छ । ‘‘हामीले डिटेन्सन सेन्टरको ७० प्रतिशत काम पूरा गरेका छौं । कुनै बिदा नलिई करिब ३ सय मजदुर निर्माणमा जुटेका छन् । यो पूरा गर्न ३१ डिसेम्बर २०१९ को समयसीमा दिइएको थियो । तर, मेरो विचारमा ३१ मार्च २०२० सम्ममा पूरा हुनेछ । वर्षाले केही समय निर्माणमा ढिला भएको हो,’’ उनले भनेका छन् । उनका अनुसार यसको निर्माणका लागि ४६ करोड रुपैयाँ खर्च हुने र सो रकम गृह मन्त्रालयले दिनेछ ।
यो अमेरिकामा रहेको विश्वकै सबैभन्दा ठूलो बन्दीगृहपछि दोस्रो ठूलो हुने साइट इन्चार्ज दासको भनाइ छ । यसभित्र अस्पताल र बाहिर प्राथमिक विद्यालय र बच्चा तथा महिला रेखदेखका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । अहिले नै पनि असमको विभिन्न क्षेत्रमा रहेका बन्दी गृहमा १,१३३ विदेशी थुनामा रहेको जनाइएको छ । यससम्बन्धी जानकारी गृह राज्यमन्त्री जीके रेड्डीले कांग्रेसका सांसद शशि थरुरको प्रश्नको जवाफ दिने क्रममा गएको जुन २५ मा बताएका थिए । –बीबीसी