
फिलिपिन्समा नरीवलको वाइन पिउँदा आठजनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी बिरामी परेका छन् । स्थानीय गाउँघरमै बनेको नरीवलको वाइन खाँदा आठजनाको मृत्यु भएको हो ।
विभिन्न सहरबाट बिरामीहरु आएको भए पनि उनीहरु सबैले एउटै पसलबाट उक्त वाइन खरिद गरेको पाइएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लामबानोग नाम दिइएको बुटलेग भर्सनको उक्त वाइनमा ४० प्रतिशत अल्कोहलको मात्रा रहेको पाइएको छ । उक्त वाइन खाइसकेपछि पेट दुख्ने र रिंगटा लाग्ने गरेको बिरामीले बताएको अस्पतालले जनाएको छ ।
बिरामीमध्ये अधिकांश लगुना प्रान्तस्थित रिजाल सहरका रहेको र अन्य क्विजोन प्रान्तका रहेको बताइएको छ । उक्त मदिरा बिक्री गर्ने व्यक्तिले अधिकारीसमक्ष आत्मसमर्पण गरिसकेको एबीएस- सीबीएनलगायतका समाचार संस्थाले जनाएका छन् ।
अघिल्लो साताको अन्तिममा सामाजिक सञ्चाल फेसबुकमा लगुना प्रान्तका गर्भनरले क्रिसमसको समयमा उक्त मदिरा माग निकै बढ्ने भएकोले अस्थायी प्रतिबन्ध लगाइएको बताएका थिए । गर्भनर रमिल हर्नान्डेजले उक्त घटनाको अनुसन्धान सुरु भइसकेको बताएका छन् ।
फिलिपिन्समा यसअघि पनि लामबानोग मदिरा पिएर २१ जनाको मृत्यु भएको थियो । -बीबीसी