
नयाँ दिल्ली । भारतमा हालै ल्याइएको नागरिकता संशोधन कानुनको विरुद्धमा दैनिक विरोध प्रदर्शन भइरहेको छ । यो कानुन आएको करिब डेढ साताको बीचमा २० जना मानिसको ज्यान गइसकेको छ । देशैभरी प्रदर्शनले अवस्था तहसनहस छ ।
यही क्रममा राजधानी नयाँ दिल्लीमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले पनि रामलीला मैदानमा आइतबार एक कार्यक्रम आयोजना गरेर शक्ति प्रदर्शन गर्यो ।
त्यसमा प्रमुख अतिथि थिए–प्रधानमन्त्री नरेन्द्र मोदी । उनले विपक्षी कंग्रेस आई, नयाँ दिल्लीमा शासन चलाइ रहेको आम आदमी पार्टी र सहरी बुद्धिजीवी र पढालेखाहरुप्रति पनि आक्रोश पोखे ।
उनले कंग्रेस र सहरी बुद्धिजीवीलाई अर्बन नक्सल (सहरी नक्सलवादी)को नाम दिए । खासगरी उनको आक्रोश उनीहरुले मुसलमानलाई मोदीले ‘डिटेन्सन सेन्टर’मा राखेको वा राख्न लागेको भन्ने आरोपको खण्डन गरेका हुन् ।
नयाँ दिल्लीमा मोदी गर्जिँदै गर्दा भारतको आर्थिक राजधानी मानिने मुम्बइको धारावीमा आइतबार नै हजारौं मानिस सडकमा उत्रेका थिए । प्रदर्शनकारीको संख्या यति धेरै थियो ९० फिटको धाराबीको सडकमा मान्छेबाहेक केही देखिँदैनथ्यो ।
यता दिल्लीमा मोदी आफू पछि नहट्ने बताउँदै विपक्षीहरुले मोदीलाई नचिनेको भन्दै चेतावनी दिइरहेका थिए ।
उनी आफनो पुतला जति जलाए पनि हुने तर गरिबिमा रहेकाहरुलाई दुःख नदिन र प्रहरीलाई सम्मान गर्न आग्रह गरिरहेका थिए ।
रामलीला मैदानमा प्रधानमन्त्रीले भनेका थिए,‘‘केवल कांग्रेस र अर्बन नक्सलवादीद्वारा उठाइएको ‘डिटेन्सन सेन्टर’वाला अफवाह सरासर झूठ हो । बदनियतवाला हो । यो झूठ हो, झूठ हो, झूठ हो ।’’
कसलाई भने नक्सलवादी ?
सरकारका आलोचक पढालेखा बुद्धिजीवीहरु जो सरकारको विरुद्धमा छन् उनीहरुलाई मोदीले नक्सलवादीको संज्ञा दिएका छन् ।
नक्सलवादी आन्दोलन भनेको भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी)का कार्यकर्ताले शुरुवाती चरणमा गरेको आन्दोलन हो । सो पार्टी सन १९६९ मा कोलकाता (तत्कालीन कलकत्ता)मा स्थापना भएको हो ।
यो नाम पश्चिम बंगालको नक्सलबारी गाउँबाट सुरु भएको हो ।
सो गाउँमा नक्सलबारीका किसानहरुले १९६७ मा आन्दोलन गरेका थिए । उनीहरु माओवादी विचारधाराबाट प्रभावित थिए ।
सो आन्दोलनको इपिसेन्टर पश्चिम बंगाललाई मानिन्छ । आन्दोलन कम विकसित क्षेत्रमा विस्तार हुँदै गएको थियो ।
छत्तीसगढ, उडिसा, आन्ध्रप्रदेश र तेलंगनामा पछि आन्दोलन विस्तार भयो । चारु मजुमदार, कानु सन्याल, जंगल सन्थाल लगायतका नेताले १९६७ मा यो अभियान सुरु गरेका थिए । पश्चिम बंगालमा कम्युनिष्ट प्रभाव लामै समय रहे पनि पछिल्लो चुनावमा बामपन्थी पार्टीको कन्तबिजोग भएको छ ।
मोदी आइतबार दिल्लीमा तिनै नक्सलवादीसँग सहरी बुद्धिजीवीलाई तुलना गरिरहेका थिए । नक्सलवादीका गतिविधि भूमिगत हुन्थे । नेपालका कम्युनिस्टहरु पनि त्यसैबाट प्रभावित थिए । झापा आन्दोलन उतैको प्रभाव थियो ।
आइतबार मोदीले सम्बोधन गर्दै भने, ‘‘देशको लागि, देशको एकताका लागि म कहिल्यै पछि हट्दिनँ । कोही देशवासीले देशलाई झुक्न दिँदैनन् । मलाई जति विपक्षीले घृणा गर्छन् मलाई जनताको माया त्यो भन्दा बढी मिल्छ ।’’ एजेन्सीको सहयोगमा