क्रोएसिया । क्रोएसियामा आगामी पाँच वर्षका लागि नयाँ राष्ट्रपति चयन गर्न आइतबार मतदान भएको छ ।
स्थानीय समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँ राष्ट्रपति बन्नका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । विद्युतीय माध्यमबाट निर्वाचन भएकाले बेलुका ७ बजे मतदान सकिएपछि ८ बजे नै नतिजा आउने अपेक्षा गरिएको छ ।
निर्वाचनका लागि २४ हजारभन्दा बढी अनुगमनकर्ताहरु खटिएको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन् ।
क्रोएसियामा राष्ट्रपति चयन हुनका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याएकै हुनुपर्ने व्यवस्था रहेको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुनेछ ।
पहिलो चरणको मतदानमा धेरै मत ल्याएका मध्ये दुई उम्मेदवारका बीचमा दोस्रो चरणमा मतदान गराइने छ । अहिलेको निर्वाचनमा पनि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन गराइने छ । दोस्रो चरणको निर्वाचन गर्नु परेमा जनवरी ५ तारिखका दिन गराइने तय भएको छ ।
प्रारम्भिक सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक, पूर्वप्रधानमन्त्री जोरान मिलानोभिक र लोकप्रिय गायक मिरोस्लाभ स्कोरोका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
वर्तमान राष्ट्रपति ग्राबर सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियनबाट उम्मेदवार बनेकी हुन् भने अर्का उम्मेदवार मिलानोभिक सोसल डेमोक्र्याटिक पार्टीबाट चुनावी मैदानमा छन् । त्यसैगरी स्कोरो भने स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका छन् । - सिन्ह्वा