
एजेन्सी । हिजोआजका कक्षाकोठाहरु परम्परागत भन्दा धेरै फरक भइसकेका छन् । कुनै समय कक्षाकोठामा चक र पेन्सिल अनि एउटा लेख्ने कापी भए पुग्थ्यो तर अहिलेको पढाइले बालबालिकालाई नयाँ डिजिटिल युगका लागि तयार गरिरहेको हुन्छ जसकारण पनि उनीहरुलाई कलम समाउनु अघि नै ग्याजेट चलाउन आइसकेको हुन्छ ।
यसरी विश्वव्यापी रुपमै शिक्षा क्षेत्रमा प्राविधिक उपकरणहरुको प्रयोग बढ्दै गएको छ जस्तै धेरै स्कुलले प्रोजेक्ट, थ्रीडी लगायत आधुनिक तरिकाले पढाउन सुरु गरिसकेका छन् । यस्तोमा सन् २०१८ र २०२५ का बीच शिक्षामा प्राविधिक विकास दुई गुणाले बढेर ३४१ अर्ब डलर पुग्ने रिसर्च तथा डाटा फर्म होलोन्कले जनाएको छ । यसरी अहिलेका बालबालिकाहरुलाई हामीले ठूलो भएपछि के बन्न मन छ भनेर सोधिरहेका हुन्छौँ तर वास्तवमा उनीहरुले भविष्यमा चुन्ने सम्भावित रोजगार क्षेत्र अहिलेसम्म आविस्कार नै नभइसकेको हिदर मेक्गोवन बताउँछिन् जो एक फ्युचर वर्क स्ट्राटिजिस्ट हुन् र मानिस र विभिन्न संस्थाहरुलाई चौथो उद्योग क्रान्तिका लागि तयार गर्ने गर्छिन् ।
यस ‘फोर्थ इन्डस्ट्रियल रिभोल्युसन’ अन्र्तगत अबको करिअर आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायत अन्य प्राविधिक आविस्कार सम्बन्धी हुने उनको भनाइ छ । जसमा यी क्षेत्रहरु पूर्ण विकास हुन अझै केही शताब्दी लाग्न सक्छ । यसकारण पनि २०१७ देखि प्रारम्भिक शिक्षा लिन सुरु गरेका ६५ प्रतिशत बालबालिकाले भविष्यमा चयन गर्ने रोजगार क्षेत्र अहिले उत्पति नै भएको छैन । यसैले हालको शिक्षा प्रणालीले तिनलाई नयाँ युगका लागि तयार गर्न नसक्ने वल्र्ड इकोनोमिक फोरमको रिपोर्टमा उल्लेख गरिएको छ । यसकारण पनि शैािक्षक प्रणालीमा समय अनुरुप बदलाव आउन आवश्यक रहेको र हामी ज्ञान प्रदान गर्ने सिस्टम भन्दा आफैँ ज्ञान आर्जन गर्ने क्षमतातर्फ केन्द्रित हुँदै जानुपर्ने मेक्गोवन बताउँछिन् । उनले भनेकी छन्, “भविष्यको मूलभूत ज्ञान भनेकै तपाईँको आफ्नै सिक्ने र नयाँ कुरा अपनाउन सक्ने क्षमता हुनेछ किनकी हामीले त्यसो गर्न सकेनौँ भने केही वर्षमै हाम्रो करियरले भयानक रुप लिनेछ । ”
त्यसैले अहिलेका बच्चाहरुलाई साधारण लेखाइ र पढाई स्तरको होमवर्क नभएर रमाइलो, उत्साहजनक अनि तिनको बौद्धिक क्षमतालाई पनि प्रभाव पार्न सक्ने किसिमको हुनुपर्छ । प्रविधिले बच्चाहरुलाई सिकाउनुका साथै राम्रो वातावरण पनि सिर्जना गरिरहेको छ । जस्तै डेनिस कम्पनी भेलक्स र लिपक्राफ्टले कक्षाकोठाहरुमा सेन्सर विकास गर्ने सम्बन्धी काम गरिरहेका छन् । यसले कक्षाको हल्ला, तापक्रम, धुलो, लगायत सबै कुराको जानकारी राख्छ अनि मोबाइल एप मार्फत शिक्षकलाई जानकारी पठाउँछ । यसअघि सालफोर्ड युनिभर्सिटीले प्रस्तुत गरेको रिपोर्टमा प्राकृतिक उज्यालो, तापक्रम र हावाको गुणस्तर जस्ता पक्षले प्रारम्भिक शिक्षा लिइरहेका बालबालिकाको पढाइ र सिकाइमा १६ प्रतिशतले सुधार ल्याउन सक्ने पत्ता लगाएको थियो । सिएनएन