
जाभा । अहिलेको मानवको प्राचीन पुस्ता दक्षिण पूर्वी एशियामा धेरै पछाडिसम्म पनि रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सो प्रतिवेदनका अनुसार ‘होमो इरेक्टस’ नामको सो प्रजाती करिब २० लाख वर्ष अघि विकास भएको र सोही प्रजाति पूर्ण रुपमा उभिएर हिंड्न सक्ने पाइएको जनाइएको छ ।
नयाँ प्रमाणका अनुसार १ लाख वर्ष अघि सम्म इण्डोनेसियाको जाभा क्षेत्रमा अन्यत्रबाट हराउँदा समेत सो प्रजाती देखिएको अध्ययनले देखाएको छ । त्यसको मतलब अहिलेको मानव पृथ्वीमा आइसक्दापनि आदिम मानव पृथ्वीमै रहेको समेत जनाइएको छ ।
त्यसबारेको विस्तृत विवरण जर्नल नेचरमा व्याख्या गरिएको छ ।सन् १९३०को दशकमा १२ वटा होमो इरेक्टसको टाउकोको खोपडी र दुई वटा खुट्टाको तल्लो भागको हाड मध्य जाभाको नदी क्षेत्रमा फेला परेको थियो ।
वर्षौको अनुसन्धानपछि अनुसन्धाताले उक्त जिवांशको तिथी पत्ता लगाउने प्रयास गरेका थिए । तर त्यो विषय निकै जटिल भएको थियो ।
तर, पछिल्लो अध्ययनपछि त्यसबारेमा अनुसन्धाता निष्कर्षमा पुगेको जनाइएको छ । यसअघि चीन लगायतका मुलुकबाट सो प्रजाती ४–५ लाख वर्षअघि नै हराएको अनुमान गरिएको थियो । तर, जाभाको पछिल्लो अध्ययनले धेरैपछि सम्मपनि सो प्रजाती पुथ्वीमै भएको पुष्टि भएको हो । (बीबीसी लगायत एजेन्सी)