site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
 प्रथम राष्ट्रपतिसँग ‘जंगल बाथ’

मंसिर १९ गते बिहान नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका साथ हामी जंगल सफारीको तयारीमा थियौँ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय अघि हरियो पिकअप भ्यान तम्तयार अवस्थामा थियो । अघिल्लो सिटमा डा. यादव, अनि त्यसपछिको सिटमा पूर्वमन्त्री एवं सांसद सञ्जय गौतम, राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बराल र मेरा लागि ठाउँ छुट्टाइएको रहेछ । 

अतिथि गृहबाट निस्केर मोटर चढ्नै लाग्दा गणपति प्रमुख सेनानी नन्दबहादुर गुरुङसहित नेपाली सेनाका अधिकृतले डा. यादवलाई बिदा गरे । सुरक्षाका निम्ति सेनाको हतियारधारी टोली पिकअपको पछिल्लो भागमा तम्तयार अवस्थामा छ । त्यसपछि राष्ट्रिय निकुञ्ज प्रशासनको अर्को पिकअप ।

देशकै ठूलो ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज हेर्न निस्कँदै गर्दा हामीमा उत्साहको कमी थिएन । 

KFC Island Ad
NIC Asia

म चाहिँ तीन दशकअघि स्कूल पढ्दा ट्य्राक्टर चढेर पुगेको त्यस ठाउँमा के कस्तो परिवर्तन भयो भनेर हेर्न आतुर थिएँ । केटाकेटी उमेरको मधुरो सम्झना छँदै थियो । त्रिभुवन मावि सूर्यपटुवाका हामी भुराभुरीले ठाकुरद्वाराबाट बघौरा फाँटसम्मको यात्रा गरेका थियौँ । संयोगले तीस वर्षपछिको रुट पनि उही गर्न गयो । त्यस बेलाको जस्तो मज्जा लिन पाइएला, नपाइएला ? मनमा कुरा खेलिरहेका थिए । 

बाघ, हात्ती, गैँडाजस्ता जंगली जनावर हेर्न चाहने स्वदेशी तथा विदेशी पर्यटकको कमी थिएन । जंगलभित्र प्रवेश गरेपछि मानिसले खचाखच केही मोटर देखिए । त्यही निकुञ्जकै आसपास हुर्किए पनि चिडियाखानामा बन्दबाहेक वनमा बाघ हेर्ने मौका नपाएकाले होला मेरो भित्री मनले जंगलको राजा देख्न पाए त यात्रा कति रोमाञ्चक हुँदो हो भनिरहेको थियो । मन बाँध्न सकिन बार्डेन बराललाई सोधी हालेँ– सर एकपटक राजा साहेबको दर्शन पाए त धन्य हुन्थ्यो नि !  

Royal Enfield Island Ad

त्यसपछि डा. यादव पनि ठट्यौली शैलीमा खुलिहाले । देशमा गणतन्त्र आएको दशक नाघिसक्यो । यहा“ त राजतन्त्र कायमै छ क्यारे ! वर्तमान राष्ट्रपति आएको भए, उसले (वनको राजा बाघ) दर्शन दिइहाल्थ्यो कि ? म त पूर्व परेँ । 

मोटरमा हाँसो गुञ्जियो । 

वार्डेन बरालले विस्तार लगाए– हजुर नेपालका २३५ मध्ये ८७ बाघ यहीँ छन् । कुनै एकसँग जम्काभेट हुन पनि सक्छ । निकुञ्जभित्र जंगली जनावर अवलोकनका लागि भनेर ठाउँ ठाउँमा काठका अग्ला अग्ला मचान बनाइएका छन् । बराल भन्दै थिए– कैयाैँ विदेशी पर्यटक त यहाँ बाघलगायत दुर्लभ जनावर हेर्नकै लागि भनेर सात समुद्र पार गरेर आउँछन् ।

खाना पानी बोकेर हप्तौं यिनै मचानमा बिताउँछन् । भाग्यमानीले क्षणभरमा दर्शन पाए पनि बढीमा साता दिन बस्यो भने प्रायः धेरैले यहाँका ३८ गैँडा, १२० हात्ती र ८७ बाघमध्ये कुनैसँग त साक्षात्कार हुने अवसर पाइहाल्छन् । 

डा. यादवले सुनाए प्रकृति र मानवबीच कस्तो अनोन्याश्रित सम्बन्ध छ भने जंगल, जंगली जनावर र प्रकृतिको अभावमा मानव जाति तीन पुस्तासम्म मात्र बाँच्न सक्छ । मेरो चिन्ता यही छ प्रकृतिले दिएको यो नासो भावी पुस्ताका लागि कसरी जोगाउने ? राष्ट्रपति भएका बेला बल्लबल्ल तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई ‘कन्भिन्स’ गरेर चुरे संरक्षण आयोजना बनाउन लगाएँ । सुरुमा विज्ञहरुको समूहलाई नियुक्त गरिएकाले केही काम भयो । तर, अहिले आएर त्यो निकाय कार्यकर्ता भर्ती केन्द्रजस्तै भइसक्यो । प्रकृतिको दोहन बढ्दो छ । तर, राजनीतिक नेतृत्वले यस भयावह समस्यालाई गम्भीरतापूर्वक लिएकै छैन । 

वार्डेन बरालले भने– ‘हजुर, यहा“ पनि संरक्षणको काम चुनौतीपूर्ण बन्दै गएको छ । अतिक्रमण रोक्न खोज्यो । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र जनता एकातिर हामी अर्कोतिर पर्छौँ ।’ 

भावुक हुँदै डा. यादवले सम्झिए ‘म केटाकेटी हुँदा जनकपुरलगायत अहिले प्रदेश नम्बर दुई रहेका जिल्लामा यस्तै घना जंगल थियो । पानीको कमी थिएन । प्रशस्त उब्जनी हुन्थ्यो, अन्नको कमी थिएन, पोखरी नहुने गरिबहरु पनि खेतका माछा खान पाउँथे । फलफूलको अभाव थिएन । हेर्दा हेर्दै मेरो जीवनकालमै त्यस क्षेत्रको जंगल सखाप भयो । तराई मरुभूमिमा परिणत भइरहेको छ । चुरेमाथिको दोहन बढ्दो छ । जताततै डोजर आतंक । राज्य संयन्त्रमा भएका जिम्मेवार व्यक्तिहरुसमेत यो भयावहताबाट मुलुकलाई जोगाउने भन्दा व्यापारीहरुसँग मिली प्राकृतिक स्रोत दोहन गरेर कमाउने ध्याउन्नमा छन् ।

डा. यादव भन्दै थिए– ‘बर्दियाको हरियाली जंगल हेर्दा मलाई बाल्यकालको जनकपुरको याद आयो । तपाइँहरुले अहिलेसम्म जोगाएर राख्नुभएको रहेछ । खुसी लाग्यो । कुरा गर्दै जाँदा लामो कासे घारी पार गर्दै बघौरा पुगिहाल्याैँ । बघौरा निकुञ्जको त्यही विशाल कासे झाडी हो जहा“ पहिला राजा महाराजाले हात्ती र मचानमा बसेर बाघको सिकार गर्थे । 

बाघको बासस्थान आसपास घुमिसक्दा चराबाहेक कुनै जनावर देख्न पाइएन । फर्किने बेला हुन लागिसक्यो, राजाको त के कुरा खरायोसम्म पनि देख्न पाइएन । एक प्रकारले आशा मारिसकेका हामीलाई आश्वस्त पार्दै वार्डेन बराल भन्न थाले– हजुर, रातभरको चिसोबाट काठाङग्रिएका जनावरहरु बिहान पारिलो घाम ताप्न घना जंगल र झाडीबाट बाहिर आउँछन्, अझै सम्भावना टरिसकेको छैन ।   

हामी बोलेका थिएनौँ । डा. यादवले भने– हेर्नुस् है, जनावर हेर्न नपाए पनि प्रकृतिको वरदानका रुपमा यत्रो रमणीय जंगल हेर्न पाइयो । मैले जापान भ्रमणका बेला थाहा पाएँ । वन जंगल घुमाइले मानिसलाई शान्ति मात्र मिल्दैन, उसको तनावसमेत कम गरिदन्छ र नकारात्मक सोचसमेत घट्दै जान्छ रे । डा. यादवले भने– जापानीहरुले मलाई सुनाएका थिए उनीहरुको  अध्ययनले यो तथ्य प्रमाणित गरिसकेको छ । उनीहरुले मलाई पनि एउटा घना जंगलमा लगे । ध्यान गरे झैँ मौन बस्न र रुखलाई ढोग्न सिकाए । सन बाथ, वाटर बाथ, साउना बाथ भने झैँ जापानीहरुबीच ‘जंगल बाथ’ प्रख्यात रहेछ । 

झन्डै डेढ घन्टाको यात्रा सकिनै लाग्दा चित्तलहरुको बथान नै देखियो । तीन तीन पटकसम्म ।  

तर, बाघ हेर्ने हाम्रो चाहना पूरा भएन । के गर्ने होला भनेको के थिएँ वार्डेन बरालले भने– ल जंगलभित्र तपाईँहरुको चाहना पूरा गराउन नसके पनि खोरभित्रको चाहिँ म देखाई छाड्छु । मोटरबाट ओर्लिएर वार्डेन कार्यालयतिर गयौँ । निकुञ्जका एक कर्मचारी लामो फलामको डण्डी बोकेर अघि अघि लागे हामी उनको पछि पछि । तार जालीभित्र त्यो फलामे डण्डी घुसाएर अलिकति के हल्लाएका थिए । एकैपटक सातोपुत्लो जाने गरी भयानक डरलाग्दो ह्वाङ ह्वाङको आवाज सुनियो । 

जसै ती कर्मचारीले फलामको डण्डी हल्लाउँदै गए जाली बाहिरका हामी सबैलाई एकैपटक झम्टौँला जसरी भयानक पाटे बाघ उफ्रियो । 

दुई वर्षअघि पूर्वपश्चिम राजमार्गमा मोटरले हानेर घाइते बनाएको बाघलाई निकुञ्ज प्रशासनले खोरमा राख्ने व्यवस्था मिलाएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने स्वदेशी हुन् वा विदेशी सबैजसो पर्यटकका लागि यो बाघ आकर्षणको केन्द्र बनेको रहेछ । 

सुरुमा त बाघको गर्जनले तर्सायो । झम्टिहाल्छ कि भने जसरी । केही समयपछि मैले मजाक गर्दै भने– ‘यसको नियति नै रहेछ । जीवनकालमै गणतन्त्र भोग्नु पर्‍यो । यो जस्तै अरु ८७ राजा यही निकञ्जमा शासन गरिरहेका छन् । मन लागेको जनावर सिकार गर्छन् । यसले भने दैनिकरुपमा प्रशासनले उपलब्ध गराउने एक दुई किलो मासुमै चित्त बुझाउनु परेको छ ।’ 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro