site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतसँग जापान किन भयो निराश ?

नयाँ दिल्ली । तय भइसकेको भारत भ्रमण जापानका प्रधानमन्त्री सिन्जो आवे र बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले हालैका दिनमा रद्द गरेपछि अहिले सम्बद्ध देशका मिडियामा कारण के हुन सक्छ भनेर लेखाजोखा भइरहेको छ । 

बंगलादेशका विदेशमन्त्री मोमिन र गृहमन्त्री सदुजमान खानले आफ्नो भारत भ्रमण रद्द गर्नुमा भारतको नागरिकता विधेयकलाई कारण मानिएको छ । भारतको फरक–फरक भागमा नागरिकता संशोधन कानुनको विरोध भइरहेको छ । खासगरी पूर्वोत्तर राज्यमा । 

यो कानुनलाई लिएर भएका बहस र प्रदर्शनको असर भारतको दोस्रो देशसँगको सम्बन्धमा पनि परिरहेको पछिल्ला घटनाक्रमले देखाएको छ । जापानका प्रधानमन्त्री आबेको भारत भ्रमण रद्द भएपछि त्यहाँका प्रमुख क्याबिनेट सचिव योसिहिदे सुगाले टोकियोमा एक पत्रकार सम्मेलनका क्रममा भारतमा जे भइरहेको छ त्यसबाट जापान निराश रहेको जनाएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आबे आइतबार भारत आउने कार्यक्रम रहेको थियो । उनको भ्रमण १५ देखि १७ डिसेम्बरसम्म हुने तय थियो । उनले भारतका प्रधानमन्त्री मोदीसँग पूर्वोत्तर राज्य गुवाहाटीमा वार्ता गर्ने कार्यक्रम रहेको थियो । जबकी नागरिकता विधेयकका कारण गुवाहाटीमा अहिले चर्को विरोध प्रदर्शन भइरहेको छ । यसपालि भारत र जापानको शिखरवार्ता गर्ने कार्यक्रम रहेको थियो । तर, अचानक रद्द गरियो । 

यो भ्रमण रद्द भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिस कुमारले ट्विट गर्दै दुवै देशले वार्ताका लागि दुवैलाई सुविधायुक्त तिथि तय गर्ने बताएका छन् । यद्यपि यो वार्ता अब कहिले हुन्छ भन्ने निश्चित छैन । आबेको भारत भ्रमण रद्द भएको विषय जापानका मिडियामा पनि चर्चाको विषय बनिरहेको छ ।

जापानको म्यागेजिन निक्केई एसियन रिब्युले यसमा ८ सय शब्द खर्चेको छ । नागरिकता संशोधन कानुनका बारेमा केन्द्रित लेखको शीर्षक रहेको छ, ‘भारतको यो परिवर्तन अनैतिक र आफैंलाई हराउने खालको छ’ । लेखमा आबेको भ्रमण रद्दको बारेमा उल्लेख गर्दै नागरिकता विधेयकको आलोचनासमेत गरिएको छ ।

यसमा धार्मिक भेदभावमार्फत् भारतले प्रवासीलाई पेल्न खोजेको आरोप लगाइएको छ । यसले विदेशनीति र सुरक्षामा पनि असर गर्ने उल्लेख गरिएको छ । भारतलाई चेतावनी समेत दिँदै भनिएको छ, ‘‘अरू देशले पनि उसले गरेको जस्तै गरे भने के हुन्छ ? किनकि भारतीय नागरिक पनि अरू देशमा बसिरहेका छन् ।’’

द जापान टाइम्सले गुवाहिटीमा भीड र प्रहरीकाबीच हिंस्रक संघर्ष भइरहेको र स्थानीय हालतलाई ध्यानमा राख्दै आबेको भ्रमण स्थगित गर्ने निर्णय भएको जनाएको छ । समाचारमा जनाइएअनुसार चीनलाई काबुमा राख्नका लागि जापानले भारतसँग कूटनीतिक र सामरिक सम्बन्ध मजबुत पार्न खोजेको थियो ।

जापानकै अर्को अखबार असाई सिम्बुनले पनि भ्रमण स्थगनको समाचार प्रकाशित गरेको छ । दुवै देशले सैन्य सहयोगमाथि पनि एक सम्झौता गर्ने तयारी गरेको जनाइएको छ । आबे मोदीका साथ भ्रमणका क्रममा मणिपुरको राजधानी इम्फाल समेत जाने कार्यक्रम थियो । सन् १९४१ मा इम्फाल ब्याटलका क्रममा ३० हजारभन्दा बढी जापानी सैनिक मारिएका थिए । त्यसलाई जापानी सेनाको सबैभन्दा खराब अपरेसनका रूपमा समेत लिइन्छ । (बीबीसी)
 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  ०६:०५
प्रतिक्रिया दिनुहोस्