site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहमतिको प्रयासमा देउवा, महाधिवेशन कार्यतालिका नल्याउँदासम्म बैठकमा नबस्‍ने पौडेलको अडान

फाइल तस्बिर


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारका लागि बोलाइएको बैठकका लागि सहमति जुटाउने प्रयासमा लागेका छन् । सभापति देउवा शनिबार बिहान पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटार पुगेका थिए । 

नेता पौडेलले बिहीबार बोलाइएको पार्टी केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका थिए । बैठकमा सभापति देउवाले विभाग गठनको प्रस्ताव गरेपछि वरिष्ठ नेता पौडेलले महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने माग राख्‍दै बैठक बहिष्कार गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीको केन्द्रीय कार्यसमिति बैठक आइतबार बोलाइएको छ । आइतबारको बैठकका लागि सहमति जुटाउन सभापति देउवा उपसभापति विमलेन्द्र निधिका साथ शनिबार बिहान १० बजे पौडेल निवास पुगेका थिए । 

शनिबारको छलफलमा पनि वरिष्ठ नेता पौडेलले महाधिवेश कार्यतालिका ल्याउँदासम्म बैठकमा नबस्‍ने अडान दोहोर्‍याएका छन् । छलफलका क्रममा सभापति देउवालाई उदृत गर्दै स्रोतले भन्‍यो, "निर्वाचनसम्बन्धी कार्यतालिका ल्याउने तालिका निर्वाचन समितिले हो, समितिले समायोजनको कम सम्पन्‍न गर्न बाँकी छ, हामीले त म्याद थप मात्रै गर्ने हो, नेबिसंघ, तरुण दल, विभाग गठनमा सघाउनुस् ।"

जवाफमा नेता पौडेलले भने, "सबै कुरो वार्ता समितिमार्फत गरौं ।" 

फर्किँने क्रममा निवासमा गएका उपसभापती विमलेन्द्र निधिले पौडेल समूहका नेता प्रकाशमान सिंहलाई फोन गरेर भने, "तपाईं उताबाट संयोजक, यताबाट म संयोजक । छलफल गरौं, म तपाईंकोमा आउँछु ।"

स्रोतका अनुसार नेता सिंहले अहिले आफू साग विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रमा गइरहेको र त्यहांबाट फर्केपछि नेता पौडेलसँग सल्लाह गरेर प्रतिक्रिया दिने बताए । 

अहिले उपसभापति निधि सिंहको प्रतिक्रियाको पर्खाइमा छन‍् । नेता सिंहले बैठक बस्‍न प्रतिक्रिया दिएमा  सिंह र निधिबीच आजै वार्ता हुनेछ । आज सहमति जुट्यो भने भोलि बैठक बसेर सहमतिमै सभापतिले २६ गतेको बैठकमा पेस गरेका प्रस्तावहरु पारित हुनेछन् । 

सहमति नजुटेमा पनि आइतबारको बैठक नसर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माले भने, "सहमति भएन भने पनि बैठक बस्छ । संस्थापन पक्षले विवाद नभएक एजेन्डाहरु भोलिको बैठकबाट पारित गर्छ । विवादित विषयमा फेरि पौडेल समूहसँग छलफल गर्ने मनस्थिति बनाएको छ ।"

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १५:३४
प्रतिक्रिया दिनुहोस्