काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी संगठनलाई बलियो र एकतावद्ध बनाउन आफुले कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् ।
अपराध नियन्त्रण तथा समाजमा अमनचयन कायम राख्ने र वैशाखमा हुने स्थानीय निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन अर्यालले गहन अध्ययन गरी अघि बढ्ने बताएका छन् ।
उनले तयार पारेको ७ योजना अघि सार्दै बाह्रखरीसँगको कुराकानीका क्रममा भने– यति गर्न पाईयो भने प्रहरी संगठन साँच्चिकै सफल हुनेछ । यो योजना सफल बनाउन मैले कुनै पनि कसुर बाँकी राख्ने छैन ।”
अर्यालको पहिलो योजना छ–संगठनलाई एकतावद्ध बनाएर अघि लैजाने । त्यसमा आग्रह पूर्वाग्रहको अन्त्य, प्रणाली स्थापनामा जोड, व्यावसायिक सुनिश्चितता र आपसी सौहार्दता एवम् भाईचाराको अभिवृद्धिमा जोड दिइएको छ ।
उनी भन्छन्–सुरुमा यो कुरामा ध्यान दिने हो भने संगठनको नीति नियमभित्र रहेर काम गर्न कुनै गाह«ो हुनै छैन, त्यसैले यसमा मेरो जोड रहनेछ ।”
अपराध अनुसन्धान तथा संगठित अपराधलाई रोक्न पनि पनि अर्यालले विषेश योजना बनाएका छन् ।
“संगठित अपराध तथा गुण्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत हुन अहिले जरुरी छ,” अर्याल भन्छन्,“योसँगै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिन जरुरी छ ।”
त्यस्तै अपराध रोकथाम, न्यूनीकरण तथा अभियोजन प्रणालीलाई व्यवस्थित र सुदृढ वैज्ञानिक र विशिष्ठिकृत बनाउन जरुरी रहेको योजनामा उल्लेख गरेका छन् ।
उनी भन्छन् –मानव अधिकारको पूर्ण संरक्षण हुने खालका प्रहरीले काम गर्नुपर्छ त्यहीअनुसार लागु गराउनेमा मेरो जोड रहनेछ ।”
अर्याल थप्छन्–प्रहरी कार्यालयमा आउने जो सुकैले निशुल्क न्याय पाउनुपर्छ । सेवाग्राहीबाट रकमको आशमा काम गर्ने प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा छुट हुँदैन । यदि कोहीबाट त्यस्तै काम भएको भए आजैबाट बन्द गरे हुन्छ । गुनासो सुन्नासाथ कारवाही हुन्छ । प्रहरी संगठनलाई दाग लगाउने काम कतैबाट भएमा छुट हुनेछैन ।”
प्रहरीको वृतिविकासमा अर्यालले ध्यान दिने प्रतिवद्धता जनाएका छन् । अर्यालले भने–सरुवा बढुवालाई पूर्ण पारदर्शी बनाउन जरुरी छ, त्यसमा मेरो ध्यान जानेछ ।”
महिला प्रहरीको प्रतिनिधित्वलाई बढाउँदै लैजाने, कल्याणकारी कार्यक्रमको निरन्तरता एवम् नविन कार्यक्रमहरु संचालनमा ल्याउने, जनमुखी सेवा प्रदान गर्न आवश्यक पर्ने प्रशिक्षणहरु संचालन गर्ने तथा प्रहरीले संचालन गरेको मुस्कानसहितको प्रहरी सेवालाई व्यवहारमा उतार्ने उनको योजना छ ।
त्यसैगरी प्रहरीको संघीय संरचना संचालन गर्न पनि योजनाहरु बनाउने उनले योजना बनाएका छन् ।
त्यसैगरी अर्यालले आगामी वैशाखमा हुने स्थानीय निकायको निर्वाचनलाई निष्पक्ष तरिकाले सम्पन्न गराउनका लागी सुरक्षा चुनौतीको विष्लेशण गरी जनशक्ति व्यवस्थापन गर्ने बताए ।