चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण नेपालका लागि के कति फलदायी रह्यो भन्ने विमर्श अहिले चलिरहेको छ । भ्रमणको उपादेयता आर्थिक र भौतिक हो कि परराष्ट्र नीतिमा नयाँ वा थप उद्बोधन ? जे होस्, सी जिनपिङको नेपाल भ्रमणको प्रभाव प्रायः पूरै एक पक्षीय वा चीन पक्षमा देखिन्छ । नेपालले पाएन भन्न मिल्दैन तर आर्थिकरुपले हामी चीनलाई के दिनसक्छौँ र ? कोसिस गरे चीन – भारत व्यापार सहजताका लागि बाटो भइदिनसक्छौँ । चिनियाँ रणनीति बीआरआईमा प्रतिबद्ध नेपालको भ्रमणसँग जोडिएको त्यही बाटोको बिसौनीहरु नै हाम्रा समृद्धिका सपना हुन् । चिनियाँ प्रस्ताव ‘ट्रान्स हिमालयन कनेक्टिभिटी’बाट चुहिने समृद्धिमा हाम्रो सपना अडिएको छ ।
परराष्ट्र नीति वा कूटनीतिमा पनि हामीले आर्जेको भन्दा प्रभावशाली चीनको सम्पूर्ण शक्तिको स्रोत सी जिनपिङ यहाँ आइदिए । त्यसको चासो विश्वव्यापी रह्यो । त्यही फल हो भन्दा हुन्छ । चीनको विखण्डन चाहनेलाई ‘धूलोपीठो’ पारिदिने ललकार यसपटक सीले नेपालबाट गरेर नेपाललाई पनि सम्झाउन खोजेको कि भन्ने लाग्छ । धेरै भन्नुपर्दैन, नेपालमा तिब्बती शरणार्थी छन् । भनिन्छ, ‘अमुक’ देशहरुको प्रोत्साहनमा तिनैमध्ये स्वतन्त्र तिब्बतको वकालत गर्नेहरु यहाँ छन् । बेलाबेला यिनको गतिविधि पनि भएकै छ । भ्रमणको बेला पनि केही तिब्बती यहाँ प्रक्राउ गरिए ।
भारतको धर्मशालामा स्वतन्त्र तिब्बतको मागका संरक्षक दलाई लामा बस्छन् । त्यही देशको चेन्नइ ममल्लापुरम्मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो भेटवार्ता गरी गत शनिबार नेपाल आएका सीले त्यहाँ होइन, यो ललकारका लागि नेपालको भूमि रोजे, किन ? तिब्बती स्वतन्त्रतालाई पुठ दिनेलाई प्रत्यक्ष र ठाउँ प्रयोग हुने गरेको नेपाललाई पनि घुमाउरोमा सुनिने गरी बुझाउन खोजे कि सीले ?
सीको नेपाल भ्रमणको विमर्शमा जुन गाम्भीर्य हुनुपर्ने हो त्यसमा चाहिं कमी रह्यो कि भन्ने लाग्दै छ । उनको भ्रमण प्रभावको विषयमा आआफ्नै मनोतग धारणाको छायामा मूल्यांकन गरिएजस्तो पनि छ । तर विश्लेषण यतिमै सीमित छैन । प्रभावको प्रवाहले लामो दूरीसम्म विश्लेषण खोजी रहनेछ । यस विषयमा पढिएका मध्ये केही विश्लेषकले गहिरो दृष्टि दिन खोजेका छन् । कतिपयको दृष्टि चाहिँ चीनजस्तो शक्तिशाली राष्ट्रको सर्वेसर्वा नेताको भ्रमणमा कहीँ अनर्थ भए, रहे वा बोलिए पनि नेपालीले देखाउनु हुँदैन वा त्यो हैसियत छैन भन्ने मानसिकतासमेत देखिएको छ ।
प्रभुत्वशाली चीनका राष्ट्रपतिको २३ वर्षपछि भएको भ्रमण नेपालका लागि स्वयंमा उपलब्धिमूलक हो । यसै कारण भनिएको हुनसक्छ – ‘सर्वे पदम् हस्ती पदे निमग्नम्’ अर्थात् धेरै जीवजन्तुको पदछाप रहेको धूलेबाटोमा हात्तीको ठूलो पाइतालाले टेक्दा सबै पदचिन्ह छोपिएजस्तै भ्रमणको सम्पूर्ण आयाम र कोणहरुलाई उनी आउनुकै महत्तामा ‘निमग्न’ भाष्य दिनखोजिँदै छ । खासगरी यस्तो भाष्यका प्रवक्ता सरकारी कम्युनिस्ट र तिनका समर्थक छन् र पनि सबैले भ्रमणलाई उपलब्धिमूलक मान्ने प्रयत्न भने गरेकै छन् ।
गत शनिवार भारतको चेन्नइबाट सिधै नेपाल आएका चिनियाँ राष्ट्रपति सीले दिनले दुई र समयले झन्डै बाइस घन्टा नेपालमा बिताए । त्यो समयमा भेटघाट र छलफलबाहेक राजकीय सम्झौता वार्ताको विषयले कति समय पायो र त्यति समयमा नेपालले कति उपलब्धि हासिल गर्न सफल भयो वा चीनले लियो के ? यो पनि भ्रमणको प्रभाव सन्दर्भसँगै हेरिनुपर्ने विषय हो ।
अब सीको भ्रमण केमा दाँज्ने ? विमर्शका लागि यो पहिलो र अन्तिम प्रश्न पनि हो । आर्थिक वा भौतिक पूर्वाधार विषयमा दाँज्ने कि ? यसको राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रभावको स्तरमा दाँज्ने ? सीको भ्रमणको अर्थ निम्ता पाउनेबित्तिकै घुमघाममा जान हतारिने नेपालका नेताहरुको जस्तो परम्परामा सीमित छैन । नेपालले के पायो र चीनले हासिल गरेको के हो ? त्यो पनि हेर्ने कि ? के चीन शून्यमा रहेर सीबाट नेपालले मात्रै पायो ? त्यो पनि होइन । पाए भने दुवैले पाए । अझ बढी चीनले नै पायो ।
नेपालको भूअवस्थितिको सामरिक महत्त्वको बाटो चीनले पायो जुनसँग अर्थ, व्यापार, कूटनीति र राजनीति जोडिएकै छ । हामीले पाएको गरिबी घट्छ कि भन्ने लालसा हो । यी विषयमा पनि समीक्षकहरुको ध्यान जाने नै छ । राष्ट्रपति सी भ्रमणको प्रभावको आकलन यतिबेलै सकिने होइन । कालान्तरसम्म यसको प्रभाव र विश्लेषण सहमति कार्यान्वयनको कोणबाट हुने नै छ ।
विश्वको शक्तिशाली मुलुकको कम्युनिस्ट पार्टीको महासचिव, राष्ट्रपति र विश्वमै ठूलो मानिने सैनिक संरचनाको ‘अधिपति’ सी जिनपिङको नेपाल भ्रमण स्वाभाविकरुपमा हाम्रा लागि गुरुत्वपूर्ण हो जुन भ्रभणले विश्वका शक्ति दृष्टिहरुको ध्यान खिचेकै छ । नेपालको महत्ता सामरिक हैसियतमा यस भ्रमणले अझ स्पष्ट गरेको छ । शक्ति राष्ट्रीचको प्रतिस्पर्धाले नेपालका लागि भने सामरिक संवेदनशीलता बढाएको हुनुपर्छ ।
ममल्लापुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफू नेपाल भ्रभणमा जाने जानकारी दिएको त सीले नै सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामला सल्लाहकारले सोमबार रेडियो कान्तिपुरसँगको बिहानी कुराकानीमा आफ्ना नेताहरुलाई सीले यो जानकारी दिएको बताएका थिए । सीले नेपालको भौगोलिक मर्म बुझेरै यसो गरेको हुनुपर्छ । माओत्से तुङ र चाउएन लाईको नेपाल दृष्टिलाई सीले पछ्याएकै जस्तो देखियो तर नेपालका कथित राष्ट्रवादी सरकारी पक्षले यो मर्म बुझेको देखिँदैन ।
भारत र चीनका नेताबीच नेपाल सन्दर्भमा मतैक्य वा विवादित विषयमा पनि कुरा भए कि भ्रमणको जानकारीमै सीमित रह्यो ? जानकारीमा मात्रै सीमित रहेको चाहिँ छैन होला । भारतजस्तो विशाल व्यापारिक साझेदार चिढिने गरी चीनले नेपाल पक्षमा मात्रै आफूलाई निश्चय पनि सीमित गर्नेछैन । आफ्नो पहिलो प्रतिस्पर्धी अमेरिकासँग दक्षिण एसियाली शक्ति भारतको बढी झुकाव नजाओस् भन्ने सचेत कूटनीति चीनको रहने नै भयो ।
नेपालको परराष्ट्र नीतिको लागि यस्तो सन्देशसमेत शुद्धता र सुशासनको पक्षमा काम गर भन्ने यहाँका समधर्मी सरकारी कम्युनिस्टलाई नेता सीले नै सुझाएपछि अब त यिनीहरुको ‘घैँटामा घाम’ लाग्ला कि ? नेपालको परराष्ट्र नीति एउटाको ‘काखमा रुने’ र ‘ओल्लो घरको नरे,पल्लो घर सरे’ जस्तै ‘अर्काको काखमा गएर मुख धुने’ प्रकारको हुनुहुँदैन भन्ने सन्देशको मर्म कथित राष्ट्रवादी यिनले पनि अब बुझ्नुपर्ला कि ?
नेपालको वर्तमान सरकारको कार्यशैलीमा शुद्धता नरहेको, सुशासन नभएको र जनपक्षीय हुन नसकेको सन्देश घुमाउरो तर स्पष्ट शैलीमा सीले दिए । जुन नेपाली जनताको गुनासो अनुरुप नै थियो । भाषण र कुराकानीमा सीले योजना कार्यान्वयन र कुराभन्दा काममा जोड दिएर नै चीनले प्रगति गरेको सुनाए । ‘गफाडी’जमातले यसको अर्थ बुझेकै हुनुपर्छ । सी भ्रमणको विषयमा नेपालमा राष्ट्रिय एकता बन्यो भन्ने तर्क दिएर सरकारी पक्ष आफ्नो पिठ्युँ थपथपाई रहेको छ । तर, त्यस्तो राजनीतिक सहमति जुटाउनेमा समेत सीकै चातुर्य देखिन्छ ।
पूर्वतयारी के थियो भन्ने जानकारीमा नआए पनि राष्ट्रपति सीले राजनीतिक भेटघाटको आरम्भ नेपाली कांग्रेसका सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेर सहमति प्रयासको सन्देश दिए । निश्चय पनि यो तारतम्य यहाँको सरकारी पक्षले मिलाएको होइन । बरु चीनको इच्छामा साथ चाहिँ दिएको हुनसक्छ । सभापति देउवासँगको भेटमा सीले नेपाली कांग्रेस र तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीनसँग स्थापित गरेको सम्बन्धको सुदृढ जगको स्मरण गरेर इतिहास सम्झाई दिए ।
नेपाली कांग्रेसले नेता गिरिजाप्रसाद कोइरालापछि चीनसँगको सम्बन्धलाई कम चासोमा राखेको चिनियाँ गुनासो त्यहाँको भ्रमणमा गएका कांग्रेस नेताहरुले सुनेको बताएका छन् । सीले नेपाली कांग्रेसलाई त्यो कमजोरी सच्याउन बुझिने गरी सन्देश दिए । निश्चय पनि चीनसँग नेपालको आधुनिक सम्बन्धको जग बसाउने श्रेय बीपी कोइरालालाई नै मिलेको छ । नेपालले भारतसँग सम्बन्ध नबिगारी चीनसँग सम्बन्ध राख्नुपर्ने माओकालीन सन्देशप्रति नेपाली कांग्रेस सजग हुनैपर्छ ।
चीन र नेपालबीच बीस बँुदे सहमति, सम्झौता भयो । तिनमा नयाँ कुरा के छ र ? चौध बुँदे संयुक्त वक्तव्यले नयाँ द्वार के खोल्यो ? वर्षौंदेखि पूर्व परामर्शमा रहेका अधिकांश योजनाले दुई देशबीच यसपटक पनि पुनर्पुष्टि पाए । नयाँ तमोर र माडी जलविद्युत योजना होलान् । तर, ध्यानमा रहेकै यी योजनालाई चीनले निर्माण गरिदिने भविष्य सूचक उदात्तभाव देखायो । रेल मार्ग होस् कि सुरुङको सम्भाव्यता अध्ययनको निरन्तरताको अवसर चीनले हासिल गर्यो । हामीले चाहिं उत्ताउलो पारा सिगार्यौँ, सजायौँ । ‘प्रपोगन्डा’ विभागको शैलीमा सरकारले प्रचार गर्यो, लालसाको पहाड खडा गरियो । तर, बाठो चीनले हामीलाई कहीँ निराश पनि बनाए । हेर्दा सबै पाएजस्तो, छाम्दा गहिरिएर सोच्नपर्ने बनायो । चिया पसलमा त योजना नतोकी चीनले दिएको ५६ अर्बको खुला रकम ‘अरिङगाल’ पाल्ने स्रोत भन्ने कटु टिप्पणी पो सुनियो । सरकारप्रतिको अविश्वास र सहयोग रकम दुरुपयोग हुने परम्पराप्रति जनसामान्यको व्यंग्य थियो यो ।
नेपालको सरकारी पक्षले डीपीआरकै हैसियतमा जाने प्रचार गरेको रेल र सुरुङ मार्ग यसपटक सम्भाव्यता अध्ययनको तहमै सीमित भए । भविष्यमा कार्यान्वयन होलान् तर अहिले ती सम्भाव्यतामा नै सीमित रहेको सत्य हो । चीनले यसपटक पनि आफ्नो तिब्बती सीमासँग जोडिएका नेपाली नाकाहरु खोल्ने सडक सञ्जालप्रति जुन तदारुकता देखायो यसबाट नेपालले दिनुपर्ने प्राथमिकताको जानकारीसँगै आफ्नो प्राथमिकतालाई पनि उजागर गरिदिएको बुझ्न कठिन छैन ।
चीन पहिलो महाशक्ति हुन दौडिएको मुलुक हो । यहाँका राष्ट्रपति नेपाल आउँदा के दिए वा दिएनन् भन्ने भौतिक आकलनभन्दा नेपालको भूराजनीतिक महत्त्व दक्षिण एसियाका लागि के हो र चीनको लागि त्यो कति महत्त्वपूर्ण छ भन्ने सन्देश विश्वको शक्ति स्पर्धामा सामेल मुलुकहरुलाई सीले दिए । नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि यही हो । यही उपलब्धिले हाम्रो सामारिक संवेदनशीलतालाई पनि थप बढाउँछ । यसको सामनाका लागि नेपाली राजनीति र कूटनीतिक क्षेत्रको दक्षता वा गाम्भीर्यमा थप वृद्धि र विस्तार हुन जरुरी देखिएको छ । बढ्दो स्पर्धाबीच हाम्रो भूसंवेदनशीलताको बढ्दो माग पनि यही हो ।
सीले चीनको अखण्डताको बारेमा यहाँबाट बोल्नु र यहाँकी राष्ट्रपतिले आफ्नो भाषणमा ‘सी विचारधारा’को उल्लेख वा प्रशंसा गर्नुको कारण अनुमानमा बुझ्न खोजे पनि रहस्यपूर्ण चाहिँ छ । पूर्व एमालेकी उपाध्यक्ष भएर कम्युनिस्ट नेता सी विचारको प्रशंसा गरिएको हो वा राष्ट्रपतीय पदले वैचारिक तटस्थता कायम गर्न नसक्दा दलीय आबद्धताको धङधङीले अझै नछोडेको के हो ? भ्रमणका बेलामा त चिनियाँ पक्षलेसमेत सी विचारबारे कुनै उच्चारण गरेको थिएन । यसमा रहेको रहस्य समयक्रममा उद्घाटित होला नै ।
अर्थ, व्यापार निर्देशित चिनियाँ कूटनीति शक्ति आर्जनसँगै अब राजनीतिक विचारमा पनि सुनिने प्रयासमा रहेको बुझिँदै छ । राष्ट्रपति सीको भ्रमणपूर्व यहाँका सरकारी कम्युनिस्ट नेताहरुलाई चिनियाँ कम्युनिस्ट नेता सीको विचारले प्रशिक्षित गर्नुको उद्देश्य राजनीतिक नै हुनुपर्छ । यसका लागि सम्भवतः संसारमै र मूलतः दक्षिण एसियामा नेपाल नै चीनको पहिलो रोजाइमा रह्यो । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दिएको चौतर्फी सन्देशसँगै परिणाममा आउँदै गर्ने प्रश्नहरुले यतिबेलै सजिलै उत्तर भेटिहाल्ने चाहिँ होइन ।