बाह्रखरी परिवारका तर्फबाट हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं सहकर्मी सबैलाई बडादसैँ, २०७६ को हार्दिक मङ्गलमय शुभकामना !
सबै नेपालीको साझा चाड भन्न सकिने पर्व सम्भवतः बडादसैँ नै हो । धार्मिक र सांस्कृतिकरूपमा दसैँ नमनाउने नेपाली पनि सामाजिकरूपमा दसै मनाउँछन् । धार्मिकरूपमा दसैँलाई देवीको पूजा गरेर मनाउनेभन्दा शक्तिको पर्वका रूपमा अर्थात् सांस्कृतिक दृष्टिबाट दसैँ मनाउनेको संख्या ठूलो छ । सांस्कृतिकरूपमा दसैँ मनाउनेभन्दा सामाजिकरूपमा दसैँ मनाउनेको संख्या झन् ठूलो छ । सत्यको विजय, आशुरी शक्तिको पराजयको प्रतीक माने पनि नमाने पनि दसैँलाई जाति वा धर्म विशेषको पर्व भन्न मिल्दैन । यसैले बडादसैँलाई नेपालीहरूको साझा चाड भनिएको हो ।
दसैँ दक्षिण एसियाका विभिन्न संस्कृतिमा बेग्लाबेग्लै प्रकारले मनाइन्छ । वर्षाको हिलोमैलो हटेपछि प्रकृतिले शरदको स्वागत गर्न सुरु गर्दा असोज शुक्ल पक्षमा दसैँ मनाइन्छ । खेतीमा पनि केही फुर्सद हुने हुनाले रमाइलोका लागि मौका पाइन्छ । नवदुर्गाको आराधना र शक्तिपीठमा पशुबलि दिनेहरूसँगै बलि नदिने वा देवीको पूजा नगर्नेले पनि दसैँलाई उत्तिकै उत्साहका साथ मनाउँछन् । दसैँ मीठो खाने, राम्रो लगाउने र सफासुग्घर हुने पर्व त हुँदै हो यो रमाइलो गर्ने चाड पनि हो । तर, सामाजिकरूपमा दसैँको सबैभन्दा बढी महत्त्व पारिवारिक मिलनको पर्वका रूपमा रहेको छ । विश्वका विभिन्न संस्कृतिमा परिवारको मिलनका पर्वहरू हुन्छन् तर बडादसैँ जति व्यापक र उदात्त चाड भने अरू बिरलै होलान् ।
यदाकदा कोही कसैले विवादमा पार्ने र महत्त्व घटनाउने प्रयत्न गरे पनि बडादसैँको व्यापकता घटेको छैन । चाड मनाउने शैलीमा परिवर्तन भइरहेको छ तर मनाउन छाडिएको छैन । यह नै दसैँको जीवन्तताको प्रमाण हो । पक्कै पनि फजुलखर्ची, देखासिकी र अस्वस्थकर खानपानजस्ता विकृति पनि दसैँको व्यापकतासँगै बड्दै गएका छन् । दसैँ मनाउन वर्षभरको कमाइ सिध्याउनेहरूको संख्या पनि थोरै छैन । तर, यो पर्वको नभएर व्यक्तिको कमजोरी हो । परिवारलाई सम्झाएर गच्छेअनुसार दसैँ मनाउने हो भने विकृतिहरू आफैँ नै साम्य हुँदै जानेछन् । समाजमा देखिएका विकृतिका लागि दसैँलाई दोष दिन मिल्दैन ।
हामी पुनः सबै नेपालीलाई विजया दशमी, २०७६ का अवसरमा शान्ति र समृद्धिको शुभकामना दिन चाहन्छौँ ।