काठमाडौं । स्वास्थ्य परीक्षण गर्ने नाममा छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने एकजना डाक्टर पक्राउ परेका छन् । मेडिकल शिक्षाका लागि चीन जान लागेका १९ जना छात्राहरूको स्वास्थ्य परीक्षणका क्रममा डाक्टर प्रशान्त भट्टले यौन दुव्र्यवहार गर्ने गरेको पीडित छात्राहरूले बताएका छन् ।
छात्राहरुको बयानका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका छविलाल जोशीले भने, ‘‘सिनामंगलमा रहेको स्पेस मेडिकल सेन्टरमा कार्यरत डाक्टर प्रशान्त भट्टले छात्राहरूको स्वास्थ्य परीक्षण गर्ने बहानामा दुर्व्यवहार गर्ने गरेको भन्ने उजुरी परेपछि हामीले पक्राउ गरेर अनुसन्धान थालेका हौं ।’’
एसएसपी जोशीले अगाडि भने, ‘‘अहिलेसम्म १९ जना छात्राहरू सम्पर्कमा आएका छन् । ललितपुरमा रहेको नेस्फिल्ड इन्टरनेशनलमा अध्ययनरत ती छात्राहरू अध्ययनका लागि चीन जाने तयारीमा रहेको र त्यसैका लागि स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले कलेजले सिनामंगलस्थित स्पेस मेडिकल सेन्टरसँग समन्वय गरेर स्वास्थ्य परीक्षणको रिपोर्ट लिने गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । मेडिकल सञ्चालकलाई पनि नियन्त्रणमा लिएका छौं । यसबारे थप अनुसन्धान गर्दै छांै । अनुसन्धान पूरा नभई सबै कुरा बताउन सकिँदैन ।’’
फेसबुक ग्रुपबाट घटनाको रहस्य खुल्यो
नेस्फिल्ड इन्टरनेशनलमा कलेजमा अध्यनरत केही छात्राहरूले आफ्नै फेसबुक ग्रुप बनाएका थिए । चीनमा अध्ययन गर्न जान लागेका ती छात्राहरूले आपसी छलफल र विचार आदानप्रदानका लागि उक्त ग्रुप बनाएका थिए । कुरा चल्दै जाँदा स्वास्थ्य परीक्षण गर्ने क्रममा डाक्टरले शरीरको संवेदनशील अंगमा छुने र अर्कै खालको व्यवहार गर्ने गरेको कुरा उठ्यो । सबैलाई एकनासले परीक्षण गर्ने गरेको भए पनि एक जनालाई चाहिँ अलग्गै राखेर शरीरमा नछोई स्वास्थ्य परीक्षण गरेको थाहा भयो, उनी नर्स भएका कारण डाक्टरले उनलाई छोएका रहेनछन् । डाक्टरको नियत गलत भएको कुरामा सबैजना एकमत भएपछि उनीहरू आफ्ना अभिभावक हुँदै प्रहरीसम्म पुगे ।
छात्राको स्वास्थ्य परीक्षण गर्ने काममा महिला डाक्टर हुनुपर्नेमा त्यसो नगरिएको भन्दै छात्राका अभिभावकले मेडिकल सञ्चालकमाथि समेत कारबाही हुनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य परीक्षण गर्दा छात्रामाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी परेपछि उक्त घटनाको समाचार संकलनका लागि महानगरीय प्रहरी परिसर टेकू पुगेका पत्रकारहरूमाथि स्कुलका प्रिन्सिपल तथा कोअर्डिनेटरले दुर्व्यवहार गरेका छन् । कलेजका प्रिन्सिपल अरुण केसीले समाचार संकलन गर्न प्रहरी कार्यालय पुगेका पत्रकारहरूलाई धम्क्याउँदै यस्तो गम्भीर घटनालाई समेत आफ्नो आन्तरिक मामिला भएको बताउँदै समाचार नछाप्न चेतावनी दिएका थिए ।
उनले धम्कीको भाषामा भने, ‘‘पत्रकार भन्ने तिमीहरू को हौ ? हामीले नबोलाइकनै किन आएको ? हाम्रो कलेजको नाम उल्लेख भयो भने राम्रो हुने छैन ।’’
अध्ययनका लागि चीन जाँदा स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्नु अनिवार्य भएकाले ललितपुरको नेस्फिल्ड इन्टरनेशनल कलेजले बिचौलियामार्फत सिनामंगलमा रहेको स्पेस मेडिकलमा आफ्ना छात्राहरूलाई स्वास्थ्य परीक्षणका लागि पठाउँदै आएको थाहा भएको छ ।