प्रत्येक शासकमा निरंकुश हुने चाहना हुन्छ । प्रत्येक व्यक्तिमा धेरथोर देखापर्ने यो निरंकुश हुने प्रवृत्ति सायद मानवीय कमजोरी नै हो । राज्यको इतिहासको आरम्भतिर आदिम लोकतन्त्रको अभ्यास भएको मानिए पनि मध्ययुगमा शासकहरू बढी नै निरंकुश हुन थाले । निरंकुशता अभ्यासकै लागि शासकहरूले आफूलाई दैवी प्रतिनिधि घोषणा गरेको हुनुपर्छ । मानव इतिहासको लामो कालखण्ड निरंकुश शासकहरूको अधिनायकत्वमा बितेको छ । तर, सधैँ नै शासकको निरंकुशताविरुद्ध नागरिकहरूका तर्फबाट संगठित, असंगठित, प्रकट वा सुषुप्त अनेकौं रूप र शैलीमा विद्रोह भने भइरह्यो । नागरिकले कला र साहित्यलाई पनि विद्रोहको माधयम बनाए । यही निरन्तर विद्रोहको जितका रूपमा लोकतन्त्रको अभ्यास सुरु भएको हो । शासकको छनोट जनताले गर्ने मान्यता निरंकुशताविरुद्ध स्थापित भएको हो । दुर्भाग्य, राजा महाराजाहरूको निरंकुशता अन्त्य गर्न जनताको नेतृत्व गर्नेहरू नै मौका पाउनेबित्तिकै आफू निरंकुश हुन अगाडि सरिहाल्छन् । इतिहासमा धेरैपटक दोहोरिएको यो विसंगतिमा नेपाल पनि अपवाद बन्न सकेन । गणतन्त्रको स्थापनापछि जनताबाट निर्वाचित शासकहरू त झन् राजाहरूलाई नै जित्ने होडमा लागेका देखिएका छन् । उनीहरूको जीवन शैली र राजसी ठाँटबाँठमात्र हैन अपारदर्शी खर्चले पनि नेपालका राजाहरूलाई उछिनेको छ ।
कतै जाँदाआउँदा आकाश बन्द गर्ने, सडक खाली गराउने राजसी सोखलाई सुरक्षा आवश्यकताको नाममा उचित ठहर्याउन खोजिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारको उच्च पदमा पुग्नेबित्तिकै विशेष सुविधा चाहिन्छ । व्यक्तिलाई आजीवन आवश्यक नभएको सुविधा उपभोग गर्ने चाहना राजा हुने रहरकै अभिव्यक्ति हो । कुनै पदमा नियुक्त वा निर्वाचित हुनेबित्तिकै व्यक्तिका केही दायित्व र आवश्यकता थप हुन्छन् । पदीय दायित्व पूरा गर्न आवश्यक सार्वजनिक सुविधा प्रयोग गर्नु अस्वाभाविक पनि होइन । तर, संघ सरकारले थोत्रो मोटर दिएर हेप्यो भन्ने बहानामा गण्डकी प्रदेशका मुख्यमन्त्रीले अढाइ करोडको गाडी प्रदेशको विकासका लागि खर्च गर्नुपर्ने रकमबाट किने । राष्ट्रपतिलाई शीतल निवास साँगुरो भयो । प्रधानमन्त्री निवासमा विलासका थप सुविधा चाहियो । मन्त्रीहरूका लागि पौडी पोखरीसहितको भव्य, अत्याधुनिक सुविधायुक्त विलासी भवनहरू आवश्यक भयो । गण्डकी प्रदेशमा स्थानीय तहका उपप्रमुख र उपाध्यक्षका लागि पनि अलग्गै मोटर सुविधा दिने निर्णय गरिएको छ । प्रदेश २ मा कारखाना कब्जा गरेर कार्यालय चलाइएको छ भने प्रदेश ३ का मन्त्रीहरूले उद्योगका भवनहरू कब्जा गरेका छन् । सहचिवहरूलाई मोटर दिने निर्णय भए पनि अर्थ मन्त्रालयका सबै उपसचिवले अलग्गै मोटर चड्छन् । सेना र प्रहरीका अवकाशप्राप्त अधिकृतहरूले सुरक्षाकर्मीलाई घरेलु कामदारजस्तै व्यक्तिगत काममा लगाउँछन् ।
यी सबै विलास र सानसौकत जनताको खर्चमा हुन्छ । व्यक्तिले हिजो पनि प्रयोग नगरेको र भोलि पनि नपुग्ने विलासका लागि गर्ने यस्तो रहरलाई ‘राजसी’ भनेर मात्रै पनि पुगेन । राजाहरूले त जन्मदैदेखि विलासी सुविधा प्रयोग गरेका हुन्थे । बाँचुन्जेल राजा हुन्थे । यसैले उनीहरूको विलास क्षणिक हुँदैनथियो । तैपनि, जनताले आफ्नो सम्पत्तिमा राजाले विलास गरेको सहन सकेनन् र राजतन्त्र समाप्त गरे । संसारका धेरै मुलुकबाट मूलतः कुशासनकै कारण राजतन्त्र समाप्त भएका हुन् । विलास र निरंकुशताबीच सकारात्मक सहसम्बन्ध हुन्छ । विलासको रहर जति बढ्छ निरंकुशता पनि उत्तिकै बढ्छ । विलासको आलोचना रोक्न शासक थप निरंकुश हुने चाहन्छ । सामाजिक संजाल नियन्त्रणको सरकारी प्रयत्नको पछाडि शासकहरूको विलासी प्रवृत्तिको सामाजिक सञ्जालमा भएको तीव्र आलोचना नै हो भन्ने सजिलै बुझिन्छ । राजाहरूले पनि यसै गर्थे । राजाहरू आफूलाई जनताभन्दा विशेष देखाउन सबै प्रयत्न गर्ने । अहिलेका मन्त्रीहरू कहिले कर्त १० लाख जनता त कतै २० हजार व्यवसायी उतार्ने गुड्डी हाँक्छन् । मानौ, जनता यिनका रैती हुन् र ‘स्वामित’को सेवामा हाँजिर हुन कटुवालको हाँक पर्खेर बसेका छन् । यस्तो हुँकार जनतालाई मामुली ठान्ने सामन्ती मानसिकताको अभिव्यक्ति हो । लोकतन्त्रमा जनताले चुनेका प्रतिनिधिहरूले राजा हुने रहर गर्दा विकृति र विसंगतिमात्र बढ्छ । आफ्नो धरातल बिर्सेर राजा हुने रहर नगर्दा नै देश, जनता र जनप्रतिनिधि स्वयंको भलो हुनेछ ।