काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीसँगै नेपाली सेना पनि खटाइने भएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनालाई पनि निर्वाचनमा खटाउने निर्णय गरेको हो । बुधवार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले निर्वाचनमा सेनालाई मनोवैज्ञानिक सुरक्षाको लागि भए पनि परिचालन गर्नुपर्ने भन्दै परिचालनका लागि सिफारिस गरेको हो ।
बैठकले निर्वाचनको लागि तीन घेराको सुरक्षा योजना बनाउनेछ, जसमा पहिलो घेरामा नेपाल प्रहरी, प्रहरीलाई सहयोग गर्न सँगै म्यादी प्रहरी खटाउने, दोस्रो घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिने र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिने व्यवस्था मिलाउन बैठकले सरकारलाई सिफारिस गरेको स्रोतले जानकारी दियो । त्यसैगरी सेनालाई निर्वाचन सामग्री ढुवानी र मतदान गर्न आएका नागरिकको सुरक्षाको जिम्मा दिने तयारी छ ।
बैठकमा सबै सुरक्षा निकायका प्रतिनिधिहरुले आफ्नो–आफ्नो राय राखेका थिए । दोस्रो संविधानसभाको चुनावको अवस्थालाई हेरेर सुरक्षा निकायको रायका आधारमा यस्तो सुरक्षा व्यवस्था मिलाउन सरकारलाई राष्ट्रिय सुरक्षा परिषदले सिफारिस गरेको एक सहभागीले बताए ।
यसअघि सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा सरकारले नेपाली सेनासहित गृह मातहतका तीन सुरक्षा निकाय र म्यादी प्रहरी गरी एक लाख ८० हजार जनशक्ति खटाएको थियो ।
जसमा ६२ हजार नेपाली सेना , ४८ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी, ४५ हजार म्यादी र ७ सय गुप्तचर निकायका सुरक्षाकर्मी खटाइएको थियो ।