site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नगर संयोजक मनोनयनले महिला संघमा विवाद, अध्यक्षद्वारा राेक्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघमा केन्द्रीय कार्यसमिति र काठमाडौं जिल्ला कार्यसमितिबीच विवाद देखिएको छ । संघीय संरचनाअनुरुप विधान नबन्दै काठमाडौं जिल्लाले नगर कार्यसमिति गठन गरेपछि केन्द्रले हस्तक्षेप गरेको छ । 

महिला संघकी जिल्ला अध्यक्ष विष्णुदेवी पुडासैनीले काठमाडौंका विभिन्न १० नगरपालिकामा संयोजक मनोनित गरेपछि केन्द्रीय अध्यक्ष उमा रेग्मीले तदर्थ समिति निर्माण कार्य रोक्न निर्देशन दिएकी छन् । 

उनले संघीय संरचनाअनुसारको विधान तयार नहुँदै जिल्ला कार्यसमितिले नगर संयोजक मनोनित गरेर विधान उल्लंघन गरेका कारण तदर्थ समिति निर्माण कार्य रोक्न निर्देशन दिएको बताइन् । केन्द्रीय अध्यक्ष रेग्मीले जिल्ला अध्यक्ष पुडासैनीलाई साउन १३ गते लिखित पत्रमार्फत् विधान विपरित भइरहेको तदर्थ समिति निर्माण कार्य रोक्न निर्देशन दिएकी हुन् । 

जिल्ला अध्यक्ष पुडासैनीले असार १७ गते काठमाडौंका शंकरपुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा तदर्थ समिति गठनको अख्तियारी दिँदै नगर संयोजकहरु मनोनित गरेकी थिइन् । 

पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानलाई सघाउन पुग्ने गरी संगठनलाई क्रियाशील बनाउन केन्द्रले निर्देशन दिएका कारण आफूले नगर संयोजकहरु मनोनित गरेको उनको दाबी छ । तर, केन्द्रीय अध्यक्ष रेग्मीले जिल्ला अध्यक्ष पुडासैनीले विधान उल्लंघन गरेर नगर संयोजकहरु मनोनित गरेको दाबी गरेकी छन् । 

“हाम्रो संघीय संरचनाअनुसार विधान नै बनिनसकेको अवस्थामा गैरकाननुनी रुपमा संयोजकहरु मनोनित गर्ने काम भएकाले त्यसलाई तत्काल रोक्न निर्देशनसहित पत्राचार गरिएको छ,” केन्द्रीय अध्यक्ष रेग्मीले बाह्रखरीसँग भनिन्, “फेरि विधानअनुसार जिल्लाले क्षेत्रलाई, क्षेत्रले नगरलाई संगठन विस्तारको जिम्मा दिने हो । यहाँ जिल्लाले सोझै नगर संयोजक तोकेर क्षेत्रलाई नै बेवास्ता गर्यो । यहाँ क्षेत्रीय कार्यसमितिको अधिकार हनन् भएको छ ।”

तर, जिल्ला अध्यक्ष पुडासैनी भने आफूले विधानअनुसार नै तदर्थ समिति गठनका लागि नगर संयोजक चयन गरेको दाबी गर्छिन् । “विधानले नै मातहत गठन गर्न जिल्ला कार्यसमितिलाई अधिकार दिएको छ,” उनले बाह्रखरीसँग भनिन्, “विधानअनुसार नै काम भएको छ ।”

केन्द्रीय अध्यक्ष रेग्मीले विधानविपरीत नगर संयोजक मनोनित गरिएको भन्दै जिल्ला अध्यक्ष पुडासैनीलाई स्पष्टीकरणका लागि बोलाएकी छिन् । उनले आफूले नगर संयोजक मनोनयनका लागि चालिएको कदमका बारेमा केन्द्रीय कार्यसमितिलाई स्पष्टीकरण दिन तयार रहेको पनि बताइन् । 

पुडासैनीले महिला संघको केन्द्रीय कार्यसमितिमा विवादको समाधान नभए माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यसमितिमा जाने तयारी गरिएको पनि जानकारी दिइन् । “भोलि (बिहीबार) स्पष्टीकरणका लागि मलाई बोलाइएको छ । गएर आफ्ना कुरा राख्छु । उहाँहरु कन्भिन्स हुनुभएन भने पार्टीमा जान्छु,” उनले भनिन्, “पार्टीले जे भन्छ त्यही मान्छु । होइन, संगठन विस्तार नगर भन्छ भने चुप लागेर बस्छु ।”

जिल्ला अध्यक्ष पुडासैनीले मनोनित गरेका नगर संयोजकहरुलाई अवैधानिक भन्दै संगठनको नयाँ विधानअनुसार पुनः नगर संयोजकहरु मनोनित गरिनुपर्ने महिला संघका केन्द्रीय अध्यक्ष रेग्मीको भनाइ छ । उनले महिला संघको नयाँ विधानको मस्यौदा तयार भइसकेको र साउन २३ गते केन्द्रीय कार्यसमितिको बैठकमा मस्यौदाका बारेमा छलफल हुन् बताइन् । 

“हामी पदाधिकारीले विधानको मस्यौदा तयार गरिसकेका छौं । साउन २३ गते मस्यौदाका बारेमा छलफल गर्न बैठक बोलाइएको छ,” रेग्मीले भनिन्, “नयाँ विधान आएपछि विधानले जे भन्छ त्यही अनुसार संगठन विस्तार हुन्छ । अहिले मनोनितहरु अवैधानिक हो ।”

जिल्ला अध्यक्ष पुडासैनीले नगर संयोजक मनोनित गरेपछि जिल्ला कार्यसमतिमा रहेका कांग्रेसको संस्थापन पक्षीय सदस्यहरुले मनोनयन खारेजीको माग गर्दै केन्द्रीय कार्यसमितिलाई लिखित आग्रह गरेका थिए । उनीहरुले मनोनयन खारेजीको माग गर्दै केन्द्रीय कार्यसमितिलाई पठाएको पत्रको बोदार्थ सभापति शेरबहादुर देउवासँगै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई पनि बुझाएका थिए । 

महिला संघ काठमाडौंकी अध्यक्ष पुडासैनी केन्द्रीय सदस्य प्रकाशमान सिंह निकट हुन् । उनले मनोनयन गरेको दुई दिनपछि मनोनित नगर संयोजकहरुलाई चाक्सीबारी बोलाएर नेता सिंह र कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँसँग भेट गराएकी थिइन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro