site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरुद्ध कांग्रेस र राजपा मोर्चाबन्दीमा, एकअर्काविरुद्ध नबोल्ने सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच सरकारविरुद्ध संसदमा मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र राजपाका नेताहरु महन्थ ठाकुर, अनिल झा र राजकिशोर यादवबीच सरकारविरुद्ध संसदमा मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो ।   

असार २१ गते बूढानीलकण्ठस्थित देउवा निवासमा नेताहरुका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश ढंगको शासनशैलीको यात्रा रोक्न सदनभित्र सहमतिको दिशामा एक भएर जाने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

दुवै दलहरुका बीचमा मिल्ने मुद्दामा सहमति गरेर अगाडि बढ्ने र नमिल्ने मुद्दामा एक–अर्काको विरोधमा नबोल्ने पनि सहमति भएको खाँणले बताए । ‘‘राष्ट्रिय मुद्दामा सहमति गरेर अगाडि बढ्ने र नमिल्ने मुद्दामा संसदमा एक–अर्काको विरोध नगर्ने हामीबीच भद्र सहमति भएको छ,’’ शुक्रबार बत्तिसपुतलीमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने । 

सहमतिअनुसार नै दुबै दलले सर्लाही गोलीकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै पहिलो पटक एकसाथ प्रतिनिधिसभामा बेल घेराउ र नाराबाजी गरेका थिए । कांग्रेस र राजपाबीच संसदीय समिति गठन नभएसम्म दुवै दलले सदनको कारबाही अवरुद्ध गर्ने र त्यो प्रक्रियाबाट पनि सरकारले नटेरे बहिष्कार गर्नेसम्मको रणनीति तय भएको छ ।

सरकारविरुद्ध दुई दल मोर्चाबन्दी गरेर अगाडि बढ्ने विषयमा असार २० गते कांग्रेस प्रमुख सचेतक खाँण, राष्ट्रियसभाका नेता सुरेन्द्र पाण्डे र राजपाका अध्यक्ष मण्डलका संयोजक अनिल झा, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवबीच सहमतिको प्रयास भएको थियो । कांग्रेस संसदीय दलको कार्यालयमा गरिएको सहमतिको प्रयासलाई दुवै दलले गोप्य राखेका थिए । 

त्यसको भोलिपल्ट चारै जना नेताहरुले कांग्रेस सभापति देउवा र राजपा संसदीय दलका नेता ठाकुरका बीचमा वार्ता तय गरेका बताइएको छ । देउवा र ठाकुरबीचको छलफलले संसदमा सभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्रीले निरीह बनाएकोले संसदबाटै सरकारलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

दुवै दलका नेताबीच भएको छलफलले प्रधानमन्त्री ओलीले राज्यका महत्वपूर्ण निकायमा आफ्नो प्रत्यक्ष निगरानी राखेको, संसदलाई आफ्नो इसारामा चलाएको र न्यायालयमा हस्तक्षेप र प्रभाव बढाएको निष्कर्ष निकालेको बताइएको छ ।

कांग्रेस र राजपाबीच पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सर्लाहीमा प्रतिबन्धित नेकपाका नेता कुमार पौडेलको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठनका लागि संयुक्त रुपमा पहल गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

सर्लाहीको ईश्वरपुरमा गैरकानुनी ढुंगा गिटी उत्खनन् गरेर बनेको खाल्डोमा परी बालकको मृत्यु भएको र न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएकालाई प्रहरीले मधेसी भएकै आधारमा गोली हानी सरोजनारायण सिंहको हत्या गरेको विषयमा संसदीय समिति गठन नगरे सदन अवरोध गर्ने सहमति दुई दलका बीचमा भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro