काठमाडौं । करिब २ महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको साढे ३३ किलो सुन र त्यसमा संलग्न १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सार्वजनिक गर्दै अदालतमा पेस गरेको छ ।
ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत भन्सार छली गरेर नेपाल भित्र्याइएको सुन र त्यसमा संलग्न १२ सहित ३० जनाको नामसमेत सार्वजनिक गरेको छ ।
यसमा विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्री, भन्सारका कर्मचारी, सुन बोक्ने भरिया, सुन रिसिभ गर्ने र ४ जना पसले गरी १२ जना पक्राउ परेका र पक्राउ पर्न बाँकी अन्य १८ जना छन् ।
प्रहरीका अनुसार दुबईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ पर्न बाँकी छ । भन्सार छलीको सुन बजारमा बेच्ने न्युरोडका मुख्य व्यापारीहरु अझै फरार छन् ।
ब्यूरोको दाबीअनुसार दुबईमा बसेर सुन तस्करीमा खड्काको नेटवर्कअन्तर्गत काम गर्नेहरुमा ध्रुव, रोशन भुसाल, कृष्णगोपाल अग्रवाल, राजनप्रसाद पन्त, अर्जुनप्रसाद खरेल, चूडामणि उप्रेती, केशव चापागाई, सञ्जय भनिने दुर्गाप्रसाद खरेल र गोपाल भुसाल छन् ।
त्यसैगरी नेपालमै रहेर सुन तस्करीमा लागेकाहरुमा सन्तोष काफ्ले, गोपाल शाही दिलबन्धु थापा मुख्य रहेको प्रहरीको दाबी छ । उनीहरु युएईबाट सुन ‘रिसिभ’ गर्ने र विभिन्न ठाउँमा सप्लाई गर्ने काममा संलग्न रहेको प्रहरीको भनाइ छ ।
युएईबाट आएको सुनका मुख्य रिसिभर व्यक्तिहरुमा रामहरि कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धिमान खरेल रहेको प्रहरीको दाबी छ ।
त्यसैगरी गोपाल शाहीसँग मिलेर भरियाको काम गर्नेहरुमा निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी रहेको सीआइबीले बताएको छ ।
सीआइबीका अनुसार एयरपोर्टमा दिलबहादुर थापाले ल्याएको सुन श्रीनारायण यादवसम्म आइपुग्ने र उनीबाट एसएसपी श्यामबहादुर खत्रीसमक्ष पुग्ने गरेको छ । यादवबाट एसएसपी खत्रीका अतिरिक्त राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रद्युन्नहरी श्रेष्ठसम्म विमानस्थलबाटै सुन तस्करीमा संलग्नता देखिएको सीआइबीको दाबी छ ।
मुख्य तस्कर बाँकी नै
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकृतका अनुसार साढे ३३ किलो सुन काण्डमा काम गर्ने मात्र पक्राउ परेका हुन् । भन्सार छलीको सुन किन्ने आरकेदेखि शालीमार ज्वलेर्सका संचालक पनि फरार छन् भने उनीहरुको पसल खुला रहेको प्रहरीले जनाएको छ ।
राजेन्द्रकुमार शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठले सुन मगाउने गरेको ब्यूरोको दाबी छ ।
बाह्रखरीसँग कुरा गर्दै एक प्रहरीले अधिकारीले भने, “दुबईमा बसेर सुन पठाउने हरी पनि कामदार नै हुन । साढे १८ करोडको सुन नेपाल पठाउने हैसियत उनीसँग छैन, बच्नका लागि उनको थाप्लोमा थोपरिदिने काम मात्र भएको छ ।”
अनुसन्धानलाई अझै फराकिलो पार्ने हो भने लगानीकर्तासम्म पुग्न सकिने भए पनि अहिलेलाई रोकिएको ती प्रहरीको भनाइ छ ।
रेडकर्नर जारी गर्न अदालतको आदेश कुर्दै
भन्सार छलीको साढे ३३ किलो सुन काण्डमा मुछिएर विदेशमा रहेकाहरुलाई अदालतको फैसलापछि प्रहरीले रेडकर्नर सूचीमा राख्ने तयारी गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, “अहिले नै रेडकर्नर सूचीमा राख्ने भन्ने कुरा हैन, मुद्दा अदालतमा दायर भएको छ । भोलि अदालतले वारेन्ट जारी गरेमा देश बाहिर भएकाहरुलाई कानुनी दायरामा ल्याउन हामीले इन्टरपोलसँग समन्वय गरी रेडकर्नरमार्फत नेपाल फर्काउने छौं ।”