site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली सेनाले आफूलाई जोगाओस् ! 

बहसको विषय बन्न यतिबेला नेपाली सेना पनि आइपुगेको छ । सबै निकाय वा संस्थाले आआफ्नो दायित्व मर्यादापूर्वक निर्वाह गरेका राज्य नै सक्षम र सफल भएका छन् । दुनियामा भएको यही हो । मर्यादा नाघ्ने संस्था भएका मुलुक अन्ततः दुगर्तिको गर्तमा पुगेका छन् ।

मर्यादाको अर्थ सम्मानको व्यवहार गर्नु हो । अर्थात्, आफ्नो दायित्वको सीमा, स्वायत्तता र नेपालको सद्यः सन्दर्भमा लोकतान्त्रिक विधि निर्दिष्ट भूमिका पूरा गर्नु नै यहाँका संस्थाले मर्यादा निर्वाह गर्नु हो । सेनाको प्रसंगमा पनि यही सूत्र लागु हुन्छ ।

विधि, नैतिक र उचित सामाजिक मान्यताको पालनाबाट मर्यादित व्यवहार प्रदर्शित गर्न सकिन्छ । परम्परा सबै खराब हुँदैनन्, तिनले मर्यादाको मैदान पनि बनाएका हुन्छन् । यो  कसीमा राज्य सञ्चालनको हिस्सा वा हैसियत पाएका हाम्रा नेता र संस्था को कति पानीमा छन् भन्ने प्रश्न देशको स्थिति बुझ्न चाहनेका सामु कठोररुपमा यतिबेला उपस्थित छ । अरु संस्थाका पनि उदाहरण छन् । ती उदाहरणमा आए पनि यी पंक्तिमा नेपाली सेनाको विषय नै विशेष छ । किनभने सेना यतिबेलाको राष्ट्रिय बहस र आलोचनाको केन्द्र भागमा देखिएको वा तानिएको छ । 

कुनै पनि राष्ट्रका लागि सेना सुरक्षाको अन्तिम भरोसा हुन्छ । त्यसमा घुनपुत्लो लाग्नु नागरिक भरोसामा पहिरो जानु हो । नेपाली सेना यतिबेला यही बिन्दुतिर आएको हो कि भन्ने लाग्न थालेको छ । त्यसलाई गत शुक्रवार प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जालाई आचार संहिता जारी गर्दै व्यक्त गरेको विचारले अझ प्रस्ट उद्घाटित गरेको छ – ‘सेनाको लागि आचार संहिता जारी गर्नुपर्ने अवस्था चिन्ताजनक हो ।’ यही भाव र भाषामा प्रधानसेनापतिको विचार त्यो दिन व्यक्त भएको थियो । सेनापति थापाको मन्तव्यभित्र निहित यो एक वाक्य नै नेपाली सेनाको अहिलेको अवस्था चित्रण गर्न र बुझ्न पर्याप्त छ । यतिमात्रै होइन, नेपाली सेना बहस र आलोचनामा तानिएको विषयलाई उनले गम्भीरतासाथ लिएको र सत्यको नजिक मानेको पनि त्यस कथनले पुष्टि गर्छ । छवि सुधारको अभिलाषा पनि यसै भनाइले व्यक्त गरेको छ । के नेपाली सेना आफ्नो स्वच्छछवि र गौरवशाली इतिहासको मार्ग छोडेर ओरालो लागेको हो त ? 

नेपाल (गोर्खा) राज्यविस्तारको चरणसँगै संगठित स्वरुप धारण गरेर आएको अहिलेको नेपाली सेनाको परम्परामा एकीकृत राष्ट्र निर्माणको ऐतिहासिक भूमिका सन्निहित छ । एकपटक सोचौँ, नेपाली सेनाको भूमिका र कर्तव्य ? राज्य विस्तारको क्रमलाई एउटा राष्ट्र निर्माणको अभियानमा सफल बनाउनु आफैँमा स्तुत्य मर्यादा हो । तर, अहिलेको नेपाली सेना के त्यही स्तुत्य परम्परा अक्षुण्ण बनाइराख्न समर्थ छ ? नागरिक समाजले भन्दा पनि यस विषयमा सेनाले नै सोच्नु आवश्यक छ । 

कतिपय सेनाका अधिकृतलाई आलोचना र सुझाव सबै अप्रिय लाग्नसक्छन् । तर, सेनाभित्र सुझाव र आलोचनालाई पर्गेल्न सक्ने बौद्धिकता पनि त छ । नभए, जनस्तरबाट किन यस्तो कुरा आयो ? उसको नेतृत्वले विचार गर्नसक्छ । समग्रमा नेपाली सेनाले आफ्नो इतिहासतर्फ फर्किएर हेरोस् र दायित्वप्रति गम्भीर बनोस् भन्ने मनसाय नै सेनापतिको अभिव्यक्तिमा छ । यसबाट  सैनिकहरूले अहिलकोे तस्बिर कस्तो हुँदैछ भन्ने छर्लङ्ग देख्नेछन् । 

नेपाली सेनालाई खासमा दुई विषयमा आलोचना गरिएको छ । त्यहाँभित्र आर्थिक अनियमितता र व्यापारिक कामकुरा बढेको छ भन्ने आरोप छ । यी दुई आरोप सेनाको छवि, विश्वसनीयता र मर्यादा स्खलित गर्न पर्याप्त छन् । यस्तो आरोप वा शंकामात्र पनि सेनामाथि लाग्नुहुन्थेन । यो अत्यन्त दुःखद कुरा भयो । उपल्लो दर्जाका वरिष्ठहरु नै यस्तो आरोपले मुछिएको सुनिदै र पढिँदैछ । यस्तो अवस्थाबाट जोगाएर नेपाली सेनाको पारम्परिक मर्यादा पुनः प्राप्त गर्न अहिलेको नेतृत्व के वा कति सफल हुन्छ ? वा नेतृत्वले यसका लागि कति साथ, सहयोग पाउँछ र जुटाउँछ भन्ने आधारमा त्यो तय हुनेछ । 

माथि भनिए झैँ, सबै राजनीतिक संस्था कमजोर र एकप्रकारले अविश्वसनीय बनाइएको अवस्थामा पनि देशको रक्षा हुन्छ भन्ने अन्तिम विश्वासको कडी नेपाली सेना नै हो । त्यो पनि भत्कियो भने कल्पनामात्रै पनि भयावह लाग्छ । 

ठूलाबडा तहको जिम्मेवारीमा रहेकाहरु नकारात्मक विषयमा आरोपित हुन्छन् भने त्यो थाहा पाएर सानो तहसम्मको दायित्वमा रहेका पनि त्यस्तै गर्न दुरुत्साहित हुने नै भए । सेनाप्रति नेपाली नागरिकको विश्वास वा भरोसा ज्यादै माथिल्लो प्रकारको छ, थियो । यस्ता आरोपले त्यो पुँजीलाई क्षय गर्ने नै छ । नेतृत्वले पक्का पनि यो गाम्भीर्य बुझेको छ । 

मुलुक लोकतान्त्रिक प्रणालीले सञ्चालित छ । लोकतन्त्रका केही आधार हुन्छन् । पहिलो लिपिबद्ध आधार संविधान नै हो । त्यसपछि यसले संरचना गरेका संस्था छन् । जस्तै राजनीतिक दल, संसद् र न्यायपालिका । अर्थात् संक्षिप्तमा व्यवस्थापिका र न्यायपालिका । सरकार त जुनसुकै प्रणालीमा पनि हुन्छ । तर, लोकतान्त्रिक विधिमा नै स्वतन्त्र व्यवस्थापिका र न्यायपालिकाको सम्भावना छ र यहाँ तिनैको कुरा गरिएको हो । स्वतन्त्र र सबल हुनुपर्ने हाम्रा यस्ता संस्थाहरुको हबिगत अहिले कस्तो छ ? यो प्रश्नमा आउने उत्तर सकारात्मक छैन । 

दलहरु कमजोर हुँदैमात्रै होइनन् प्रतिदिन तिनले नागरिकको विश्वास पनि गुमाउँदै छन् । अर्थात्, दल र यसको नेतृत्वप्रति जुन भरोसा समाजमा हुनुपर्ने हो त्यसमा पहिरो गएको छ । दलहरु कमजोर वा बेथितिका भएपछि परिणाम राष्ट्रको क्षमतामा नै पर्ने हो । सरकार राजनीतिक दललाई प्राप्त जनादेशकै आधारमा बन्ने, बनाइने हो । तर, सरकार बनिसकेपछि ऊ सबै प्रकारको आस्था, विश्वास र विचार राख्ने नागरिकका लागि समान बन्छ, बन्नुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो । 

यो लोकतान्त्रिक मान्यताअनुसार सरकार र यहाँका संस्था चलेका छैनन् । पूरै क्षेत्रमा अनियन्त्रित राजनीतिकरण गरिँदैछ । भन्नु नपर्ला न्यायालयजस्तो संस्थामा लागेको आरोप वा देखिएको लाज, अन्ततः नागरिक अधिकार र स्वतन्त्रतामाथि घातक हुनेछ र यस कारण राष्ट्र नै कमजोर बन्नेछ । राजनीतिकरण अझ अगाडि बढेर दलीयकरण वा हेर्दाहेर्दै सबै लोकतान्त्रिक संस्थाको कम्युनिस्टकरण, अहिलेको नेपाली सत्ताको प्रयत्न हो भन्ने त प्रस्टै छ ।

संसद् संसद्जस्तो छैन । यो कुनै दलको भातृसंस्थाजस्तो भएको छ । यो आरोप होइन, संसद्,संसदीय समितिहरु र सांसद्हरुले निर्वाह गरेको व्यवहारको प्रभाव, प्रस्तुति हो । व्यवस्थापिका र न्यायपालिकाको यस्तो हबिगतले मुलुकको लोकतान्त्रिक पद्धति र राज्य सञ्चालनको स्थिति बिगार्दै र बिगँ्रदैछ । यसरी हेर्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैले बाटो बिराएको देखिँदैछ । परिणामस्वरूप, अन्ततः यसको क्षति देशले नै चुक्ता गर्नुपर्ने अवस्था आउनसक्छ । 

नेपाली सेना सत्ताको दुर्नियतबाट जोगिओस् । अहिलेको सरकार सेनालाई प्रयोग गर्ने सबालमा प्रधानमन्त्री एक्लैलाई सर्वेसर्वा बनाउने कोसिसमा लागेको देखिएको छ । यो सरकारी मनसाय अन्ततः सेनाको दुरुपयोग गर्ने र नागरिक अधिकारमाथि धावा बोल्ने बाटो बन्नसक्छ । जोगिनुपर्ने अर्को विषय आर्थिक अनियमितता वा भ्रष्टाचार र नीतिगत त्रुटिबाट पनि हो । सेनाले आफूलाई जोगाओस्, अनिमात्र उसले नेपालको रक्षा र नेपाली नागरिकको अधिकारको संरक्षण गर्नसक्छ । यिनै कठिन लाग्ने कामबाट सेनाप्रति राखिएको भरोसा पूरा हुनसक्छ । 

उद्धार, मानवीय सहायता, कठिन भौतिक निर्माणजस्ता केही आवश्यक कार्यबाहेक आर्थिक लाभका अरू क्षेत्रमा सेनाले हात हाल्नु हुँदैन भन्ने विचारप्रति यसको नेतृत्व सजग नै होला । उद्देश्य विमुख हुँदा दायित्व निर्वाह असम्भव बन्छ । यति त सैनिक नेतृत्वले अवश्यै बुझ्ने नै छ ।    
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro