
काठमाडौं । चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ ।
चलचित्रका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम ग्रहणपछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले चलचित्र ‘यात्रा’को सफलताको शुभकामना दिँदै सहयोगप्रति आभार व्यक्त गरे । “थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौं । त्यसैले यो सहयोग हाम्रो लागि अमूल्य छ,” धुर्मुसले भने, “हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्य प्राप्तिको उदेश्य, सफलता हात पर्छ ।”
उनले चलचित्र ‘यात्रा’मा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
आउँदो शुक्रबार रिलिज हुने चलचित्रमा सलिनमान बनियाँ सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।
विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । मुजिकल जर्नीमा आधारित चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।