site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नायकभन्दा ९० प्रतिशत कम पारिश्रमिकमा काम गर्छन् नायिका, किन ? 

काठमाडौं । केही वर्षयता एकैपटक दुईटा कुराले नेपाली सिने जगत तताएको छ । एउटा, चलचित्रको निरन्तर ओरालो लागेको बजार र अर्को, कलाकारको निरन्तर उकालो लागेको पारिश्रमिक । 

जब चलचित्रको बजार खस्कियो, ठिक त्यही बेला कलाकारको पारिश्रमिकको पारो भने उकालो लाग्यो– बजार शास्त्रको नियम विपरित । निर्माण पक्ष घाटामा गइरहेका बेला कलाकारको पारिश्रमिक भने दिनदिनै बढेको बढ्यै छ । दिने राजीखुसीले पारिश्रमिक दिन तयार छ भने अरुलाई केको टाउको दुखाइ ? यसले गर्दा न सवाल, न जवाफ । नेपालमा चलचित्रको औसत लागत मूल्यको ३०–४० प्रतिशत एउटै कलाकारले लिइरहेका छन् । 

तर यो प्रतिशत आम कलाकारमा भने लागु हुँदैन । केही सीमित कलाकारमा मात्रै लागु हुन्छ । त्यसमा पनि नायकको हकमा उच्च पारिश्रमिक लिनेको संख्या कम छ । उनीहरुले लिने पारिश्रमिक अन्य नायिकाले लिने पारिश्रमिकको तुलनामा उच्च रहेपनि नायकको तुलनामा भने न्यून नै छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिले नेपाली रजतपटमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह र नम्रता श्रेष्ठमात्रै हुन् । उनीहरुले १४ लाखसम्म प्रतिचलचित्र पारिश्रमिक बुझ्दै आएका छन् । यद्यपि बजार हल्ला भने योभन्दा उच्च छ ।

यी दुई नायिका अपवाद हुन् । अन्य अधिकांश नायिकाको पारिश्रमिक निकै कम छ । नायकले ४० लाखसम्म प्रतिचलचित्र पारिश्रमिक बुझ्दा उनीहरुको अपोजिटमा रहेका नायिकाहरु भने १० लाख पनि पारिश्रमिक बुझ्न पाउँदैनन् । सेटमा उत्तिकै समय खर्चिने र चलचित्रको प्रचारमा नायकले भन्दा धेरै कुद्नुपर्ने बाध्यता भने तिनै नायकालाई छ । 

नेपाली चलचित्रमा नायकले भन्दा नायिकाले १० गुणाभन्दा कम पारिश्रमिक पाउँछन् । तीन महिना अगाडि रिलिज भएको एउटा चलचित्रकी नायिकाले बाह्रखरीसँग भनिन्, “नायकको भन्दा १० गुणा कम पारिश्रमिकमा प्रोड्युसरले काम लगाउँछन् । कि तिमीले काम गर्न सक्तैनौं, तिम्रो अभिनय राम्रो छैन भन्नुपर्यो ।  अभिनयको तारिफ गर्ने अनि एक–दुई लाखमा काम लगाउने प्रवृत्ति छ । नायकलाई दिन पैसा जति पनि हुने तर नायिकालाई दिन नहुने भन्ने पनि हुन्छ ?”

चलचित्रको पूरै कथा बोकेर हिँड्ने नायिकाहरुको क्षमतालाई नै नजरअन्दाज भइरहेको ती नायिका बताउँछिन् । आफूलाई प्रमाणित गरिसकेको अवस्थामा पनि डेब्यू नायिका सरहको पारिश्रमिकमा काम गर्न बाध्य भएको उनको भनाइ थियो । 

दक्षिण एसियामै अक्सर पुरुष चरित्रलाई प्रधान बनाए चलचित्रको कथा लेखेको पाइन्छ । त्यसको प्रभाव नेपालमा पनि छ । महिलालाई केन्द्रमा राखेर कमै चलचित्र बन्छन्, अपवादबाहेक । पछिल्लोपटक चलचित्र ‘बुलबुल’मा निर्देशक तथा राइटर विनोद पौडेलले महिलालाई केन्द्रीय चरित्र बनाएर चलचित्रको कथा लेखे । त्यो अवसर स्वस्तिमा खड्कालाई थमाए । स्वस्तिमाले आम सिनेकर्मी, समीक्षक तथा दर्शकलाई नै चकित पार्दै आफ्नो भूमिका कुशलतापूर्वक निभाइन् ।

‘बुलबुल’मार्फत् विनोद र स्वस्तिमाले प्रमाणित गरेका छन्– अवसर पाए नायिकाले सिङ्गो चलचित्रको भारी आफ्नो पिठ्यूँमा बोकेर हिँड्न सक्छन् । चलचित्र चलाउन बलिष्ठ पाखुरा भएको आकर्षक हिरो नै चाँहिदैन ।

चुलबुले, चटपटे भूमिकामा देखिँदै आएकी स्वस्तिमाले त आफूलाई पहिलोपटक प्रमाणित गर्ने अवसर पाइन् । यसअघि नै ‘डाइङ क्यान्डल’मार्फत् आफूलाई सिर्जना सुब्बाले महिलाले पनि लिड रोल गर्न सक्छन्, पुरुष पात्रमात्रै त्यसका हकदार हैनन् भन्ने सन्देश दिइसकेकी छन् । सिर्जनालाई त्यो अवसर दिएका दिएका थिए निर्देशक तथा राइटर नरेशकुमार केसीले । 

सुरक्षा पन्त पनि सिङ्गो चलचित्रको कथा बोकेर हिँड्न सक्ने कलाकार हुन् । ‘धनपति’, ‘गोपी’लगायत चलचित्रबाट उनले आफूमा त्यो क्षमता देखाइसकेकी छन् । उनी पुरुष पात्रका तुलनामा महिला पात्रले निकै कम पारिश्रमिक पाउने गरेको बताउँछिन् । अधिकांश नायिका आफ्नो पारिश्रमिकबारे बोल्न हिचकिचाउने गरेपनि उनी यसबारे खुलेर बोल्छिन् । “नायकहरु अहिले प्रोड्युसरबाट पारिश्रमिक लिइरहेका छन् । तर नायिकाहरु प्रोड्युसरले दिएको पारिश्रमिक लिइरहेका छन्,” सुरक्षा भन्छिन्, “लिनु र दिनु फरक कुरा हुन् ।”
कामका आधारमा पारिश्रमिक दिनुपर्छ, जेन्डरका आधारमा होइन भन्ने उनको धारणा छ । 

नायिका केकी अधिकारीको अभिनयको तारिफ सबैले गर्छन् । प्रोड्युसर, निर्देशकदेखि प्रतिस्पर्धीसम्म उनको तारिफ गर्छन् । दर्शकले गर्ने तारिफ उनको फ्यान फलोइङले नै पुष्टि गर्छ । तर उनको पनि पारिश्रमिक ५ लाखबाट उकालो लाग्न सकेको छैन । कथा पाए केकी आफ्नै बलबुताले चलचित्रलाई बोकेर हिँड्न सक्छिन् । 

उषा रजक पनि सिङ्गो चलचित्र काँधमा बोकेर हिँड्न सक्ने कलाकार हुन् । चलचित्र ‘कथा’मार्फत् उनले आफ्नो क्षमता पुष्टि गरिसकेकी छन् । मेनुका प्रधानले चलचित्र ‘पुरानो डुङ्गा’बाट आफ्नो कला क्षमता प्रस्तुत गरिसकेकी थिइन् । 

सरिता गिरी, दिया मास्के, ऋचा शर्मा, लक्ष्मी बर्देवा, रेश्मा गुरुङ रगतमै अभिनय बगाउने कलाकार हुन् । एक नायिका भन्छिन्, “यहाँ अहिले दर्शकले मन पराएका, अभिनय क्षमता भएका र निर्माता तथा निर्देशकको पहिलो रोजाइमा पर्ने नायिका एक लाखदेखि अढाइ लाखमा फिल्म गरिरहेका छन् ।”

सिर्जना सुब्बाको अनुभव पनि उस्तै छ । उनले दुई लाख माग्दा प्रोड्युसरले छक्क पर्दै नायिकाहरुले लिने पारिश्रमिकको सम्झौतापत्र नै देखाए । उनले मानिन् । सिर्जना नै त्यो चलचित्रका लागि चाहिने थियो तर निर्माताले भने, ‘तिमी दुई लाख भन्छौ भने तिम्रो विकल्पमा म अर्को कलाकार लिन्छु ।’ 

“नायकले १० लाख रुपैयाँ लिँदा हामी (नायिका) लाई २ लाख दिन पनि तयार हुँदैनन् प्रोड्युसर,” सिर्जना भन्छिन्, “हामी आफैँमा पनि केही कमजोरी छ । मैले प्रोड्युसरले भनेको पारिश्रमिकमा काम नगरे अर्को नायिकाले गरिदिन्छ । काम अनुसारको पैसा लिन हामीले पनि सक्नुपर्छ ।”

मुख्य चरित्रमा नायिका भएका चलचित्र बजारमा चलिसक्दा र समीक्षा राम्रो आउँदा पनि नायिकालाई पारिश्रमिक दिन प्रोड्युसरहरुले कन्जुस्याइँ गरिरहेको उनको भनाइ छ । “अर्को चलचित्रका लागि सम्बन्ध बन्छ, विज्ञापन खेलेर पैसा कमाउने हो भनेर कन्भिन्स गर्न खोज्छन्,” सिर्जना भन्छिन्, “५–६ वटा चलचित्र गरिसक्दा पनि सम्बन्धकै लागि काम गरिरहनु पर्ने ? कहिलेसम्म अर्को चलचित्रले चाहिँ देला भनेर बस्नु ?”

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १२:१२
प्रतिक्रिया दिनुहोस्