site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कारबाहीको सिफारिसमा परेका नेता नै कांग्रेसको अनुशासन समितिमा 

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीकै उमेदवारलाई अन्तर्घात गरेको भन्दै कारबाहीको सिफारिसमा परेका एकजना नेतालाई अनुशासन समितिको सदस्य बनाएको छ । कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पार्टीमा अन्तर्घात गरेको भन्दै कारबाहीको लागि सिफारिस गरिएको थियो । तर गत सोमबार राति बसेको बैठकमा उनै कँडेललाई अनुशासन समितिमा राखिएको छ ।

नेता कँडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिलाई सिफरिस गरेको छ ।  क्षेत्रीय कार्यसमितिले गत माघ ८ गते उनलाई कारबाहीको सिफारिस गर्दै जिल्ला कार्यसमिति नवलपरासीलाई पत्राचार गरेको हो । 

तर सोमबार बसेको बैठकले भीष्मराज आङ्दम्बेको संयोजकत्वमा अनुशासन समिति बनाएको थियो । समितिमा कँडेल, किशोरसिंह राठौर, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसको विधानमा पार्टीमा अनुशासन कायम राख्न र आचारसंहिता पालन गराउन केन्द्र, प्रदेश र जिल्लामा गरी तीन तहमा अनुशासन समिति गठन गर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाले सभापतिमा निर्वाचित भएको तीन वर्षपछि उक्त समिति गठन गरेका हुन् ।  

न्यायिक समितिमा रुपमा लिइने केन्द्रीय अनुशासन समितिको काम, कर्तव्य र अधिकारहरुका बारेमा विधानमा बुँदागत रुपमा उल्लेख गरिएको छ । 

केन्द्रीय अनुशासन समितिको काम, कर्तव्य र अधिकारको महलमा उल्लेख तेस्रो अर्थात ‘ग’ बुँदामा भनिएको छ– जिल्लावा प्रदेशले कारवाही गरेको वा कारवाही गर्न सिफारिस गरेको बाहेक पार्टीको उदेश्य, नीति र आचारसंहिताविरुद्ध अथवा विधानको उल्लंघन भयो भनी पार्टीका निकाय, पदाधिकारी वा सदस्यबाट केन्द्रीय अनुशासन समितिमा सोझै उजुरी परेमा वा केन्द्रीय अनुशासन समितिलाई कुनै पनि रुपमा जानकारी हुन आएम छानविन गर्ने । यसरी जानकारी लिने, छानविन गर्ने वा स्पष्टिकरण लिने लगायतका कार्य गर्ने केन्द्रीय अनुशासन समितिले प्रदेश वा जिल्ला अनुशासन समितिलाई निर्देशन दिन सक्ने छ ।’

गत माघ ६ गते नवलपरासीको गोपीगञ्जमा बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य कँडेलसँगै सक्रिय सदस्य इन्द्रप्रसाद सापकोटा, मोहन गिरी, गणेश विश्वकर्मा र लक्ष्मण ज्ञवालीलाई कारबाहीका लागि जिल्ला कार्यसमितिलाई आग्रह गर्ने निर्णय गरेको थियो । 
क्षेत्रीय कार्यसमितिको पूर्ण बैठकले उमेदवार, अन्य नेता–कार्यकर्ताले गरेको मौखिक उजुरीका आधारमा केन्द्रीय सदस्य कँडेलसँगै सक्रिय सदस्य सापकोटा, गिरी, विश्वकर्मा र ज्ञवालीलाई कडा कारवाही गर्ने निर्णय गरेको जिल्ला कार्यसमितिलाई पठाइएको पत्रमा उल्लेख छ । 
क्षेत्रीय सभापति मुकुलकुमार आचार्यको हस्ताक्षरयुक्त उक्त पत्रमा बैठकले बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ चुनावमा निष्कृय बसेको भन्दै नसिहत दिने निर्णयसमेत गरिएको भनिएको छ ।  क्षेत्रीय सभापति आचार्यले बाह्रखरीसँग कुरा गर्दै कँडेललाई कारबाहीका लागि जिल्लादेखि केन्द्रसम्म नै उजुरी दिएको बताए ।

“जिल्ला समिति र केन्द्रीय कार्यालयमा क्षेत्रीय समितिको सर्वसम्मत निर्णय बमोजिम कारबाहीका लागि पत्र काटेका हौं,” क्षेत्रीय सभापति आचार्यले भने, “निर्वाचनपछि गाउँ गाउँमा मतदाता र साथीहरुलाई धन्यवाद दिने कार्यक्रम बनाएर हिँड्यौं । त्यसपछि क्षेत्रीय समितिको बैठक बस्यो । बैठकले चुनाव हार्नुको कारणमा उहाँको पनि संलग्नता देखियो । उहाँको सल्लाह र निर्देशनमा चुनाव हराउने काम भएको भन्ने कुरा आएपछि क्षेत्रीय समितिले दोषी मानेर कारबाहीका लागि सिफारिस गरेको हो ।”

उनैले अन्तर्घात गरेका कारण कांग्रेस पराजित भएको उल्लेख गर्दै कारबाहीका लागि सिफारिस गरेको उनको भनाइ थियो ।

यसअघि माघ ४ गते बसेको जिल्ला, क्षेत्र, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर, गाउँ र वडा कार्यसमिति लगायत सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संगठनहरुको बृहत भेलाले पार्टी पराजयको प्रमुख कारण पार्टीभित्र अन्तरघात भएको ठहर गर्दै अन्तरघातीको पहिचान गरेर कारवाही प्रक्रिया अघि बढाउन क्षेत्रीय कार्यसमितिलाई निर्देशन दिएको थियो । 

प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेसका उमेदवार देवकरणप्रसाद कलवार तत्कालीन नेकपा एमालेको चुनाव चिन्हबाट चुनाव लडेका हृदयश त्रिपाठीसँग पाँच हजार एक मतले पराजित भएका थिए । त्रिपाठीले कुल खसेको मतमध्ये ३८ हजार ५९२ मत ल्याउँदा कांग्रेस उमेदवार कलवारले ३३ हजार ५९१ मत पाएका थिए । 

त्यस्तै प्रदेशसभा ‘क’ बाट कांग्रेस उमेदवार तथा क्षेत्रीय सभापति मुकुलकुमार आचार्य तत्कालीन एमालेका उमेदवार अजय शाहीसँग छ हजार ७२४ मतले हारेका थिए । उनले १२ हजार ६०९ मत ल्याउँदा एमाले उमेदवार शाहीले १९ हजार ३३३ मत प्राप्त गरेका थिए ।   

प्रदेशसभा ‘ख’ तर्फ कांग्रेस उमेदवार विक्रम खनाल तत्कालीन नेकपा एमालेका उमेदवार दिपेन्द्रकुमार अधिकारीसँग दुई हजार चार मतले पराजित भएका थिए ।  कांग्रेसका खनालले १८ हजार ५०२ मत ल्याएका थिए भने विजयी उमेदवार अधिकारीले २० हजार ५०६ मत पाएका थिए । 

यस्तो छ कँडेललाइ कारबाहीका लागि क्षेत्रीय समितिले गरेको सिफारिस 

\"\"   
      
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०८:५९
प्रतिक्रिया दिनुहोस्