site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि कांग्रेस, नेपाली कांग्रेस    

नेपाली कांग्रेसका नेताहरूलाई नराम्रो लाग्नसक्छ तर कांग्रेसलाई दायित्वप्रति विमुख हुँदै गएको दाग लागेको छ । दायित्व निर्वाह गर्न कमजोर बन्दै, प्रभाव स्खलित भएको छ भने पनि हुन्छ । यस्तो दाग कांग्रेसलाई खिसिट्युरी गर्नेले लगाए त्यति गम्भीर हुनुपर्दैन । तर, प्रतिपक्षी दलको हैसियतमा यतिबेला कांग्रेस खरो उत्रिनुपर्छ भन्ने शुभेच्छुकहरूको चिन्तालाई भने गम्भीररूपमा लिनुपर्ने हो । प्रजातन्त्रको अविच्छिन्न भावनासँग जोडिएका शुभेच्छुकले पनि कांग्रेसले हैसियत कायम गर्न नसकेको दाग लगाइरहेछन् । किन, कांग्रेस यस्ता अपजसको भारी उठाइरहेछ ? कारक र कारण के ? यति सुन्नेबित्तिकै अधीर नहुनोस्, धीरतापूर्वक सुन्नोस् भन्ने हो । प्रजातन्त्रमा जनता मत दिन्छन्, त्यतिमात्रै होइन सुनाउन पनि चाहन्छन् । जनतालाई सुनाउनु छ भने नेतृत्वले सुनेर पनि सिकाउनुपर्छ । यिनको सिंगो प्रश्न हो, काँग्रेस किन लुरे भयो, सुकेनास लागेजस्तो ?

लोकतन्त्र वा प्रजातन्त्र, भनिन्छ– संवाद, सहमति, सम्झौता र सहअस्तित्वको माध्यमबाट चल्ने राजनीतिक पद्धति हो । यस कारण लोकतन्त्र संवेदनशील पद्धति र जटिल शासकीय प्रणाली पनि हो । त्यतिमात्रै होइन लोकतन्त्र अत्यन्त सरल, सरस र प्रभावी सरकार चलाउने विधिसमेत हो । राज्य सञ्चालनको विधिमात्रै किन कुनै पनि प्रजातान्त्रिक दललाई चलाउने विधि पनि यही हो र आन्तरिक लोकतन्त्रलाई समेत यसरी नै स्थापित गर्न सकिन्छ । बुझ्दा हुन्छ, दलहरूको कार्यविधि वा व्यक्तिको मनोवृत्तिलाई पनि यसरी नै लोकतान्त्रिक ढाँचामा ढाल्नुपर्छ । 

कारण, शासकीय प्रणालीमा संवाद, सहमति, सम्झौता र सहअस्तित्वलाई सम्मानका साथ प्रयोग गरियो भने लोकतन्त्र सरल, सरस र प्रभावकारी हुन्छ । त्यसो गर्न नसक्दा या नचाहँदा र नमान्दा लोकतन्त्र अत्यन्त जटिलमात्र के दुर्घटनाग्रस्त समेत हुन्छ । प्रजातान्त्रिक .दल पनि यही सूत्र अनुकूल चलाउँदा आन्तरिक लोकतन्त्र फुल्छ, फस्टाउँछ । व्यक्तिले प्रजातन्त्रलाई जीवन पद्धति बनाउने रहर गर्यो भने यही सहअस्तित्वको भावलाई उसले सम्मानपूर्वक स्वीकृत गर्नुपर्छ, प्रयोगमा ल्याउनुपर्छ । 

यस प्रसंगले कांग्रेससँग राखिएको दुई अपेक्षा उद्घाटित हुन्छन् — एक, कांग्रेसले प्रतिपक्षको हैसियत देखाओस् र  कायम गरोस् । दुई, प्रजातान्त्रिक अभ्यासलाई विश्वसनीय बनाओस् । बुझिने गरी हुने, विश्वासिलो प्रजातान्त्रिक अभ्यास नै प्रजातन्त्रप्रतिको आकर्षण र नेपाली कांग्रेसप्रतिको भरोसा हो, हुन्छ । के कांग्रेससँगको भरोसा अहिले कमजोर भएको हो ? निश्चय पनि, यही कारण ऊसँगको अपेक्षा बढेको होे । अपेक्षामात्रै होइन, उसको आलोचना पनि बढेको हो । प्रतिपक्षले दायित्व निर्वाह गरोस् वा यसको सोझो अर्थ कांग्रेस सुध्रियोस् भन्ने अपेक्षा नै हो । अर्को अर्थमा त्यो अपेक्षा उसको दुर्बलतापछि बढेको  हो । बढी आलोचना अपेक्षाले उत्पन्न भएको छ । 

स्पष्ट छ, अपेक्षा बढेको छ । तर कांग्रेस फुरुंग हुनुपर्ने कारण छैन, किनभने ऊप्रति बढेको हैन । अपेक्षा त्यतिखेर बढ्छ जतिखेर त्यो अपेक्षा यसले पूरा गर्नसक्छ भन्ने विश्वासमा । यसो भए त रमाइलै हुन्थ्यो । तर, अर्को अवस्था त्यतिखेर अपेक्षा बढ्छ जतिखेर अपेक्षा गरिएकाले अपेक्षा अनुरूप काम गर्न सकेन, गरोस् भन्ने आशा जाग्छ । कांग्रेसको अवस्था यही हो । धक नमानी भन्नुपर्छ नेपाली कांग्रेसले जनताको अपेक्षा अनुरूप प्रभाव दिन सकेन । अहिलेको अपेक्षित अवस्था इतिहास भोगेर वा पढेर बनेको, बढेको हो । उसको वर्तमान कार्य उपलब्धिले होइन । 

विगत बिसौँ सरकार चलाउँदाको । त्यो हामी भन्नसक्छौँ, विस्मृतिमा थन्क्याइदिन मानौला । तर, इतिहास मान्दैन । त्यो जे हो त्यही बोल्छ । विगतको समीक्षा हुँदै गर्ला । तर, अहिले कांग्रेससँग माया राख्नेहरूले मागेको के हो ? कांग्रेस त्यो सुन्न तयार छ ? के ऊसँग त्यति धैर्य छ ? एकपटक यसका नेता र कांग्रेस चलाउने हामी नै हौँ भन्नेहरूले सोचून् र जबाफ दिऊन् — के तिनीहरू आफ्नै भूमिकाप्रति सन्तुष्ट छन् ? असन्तुष्ट तिमीहरू मात्रै हो हामीलाई भन्नसक्छन् वा के यो जबाफ कांग्रेसका नेता दिनसक्छन् ? सक्छन् भने भयो, प्रश्न बाँकी रहेन । सक्दैनन् भने अब गर्छन् के त यिनले ?

अहिले हेर्दा काँग्रेसले दुई कोणमा आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने छ । पहिलो पार्टी संगठन, दोस्रो सरकारी भूमिकाको निगरानी । चुनावपछिको एकवर्षे लामो अवधिमा कांग्रेसले कम्युनिस्ट सरकारको निगरानी पनि राम्ररी गर्न सकेको छैन । खबरदारीको त कुरै छोडौँ । विज्ञप्तिको भरमा लिपापोतीमात्रै गरेको छ । तीनवर्ष बढी बित्यो पार्टी महाधिवेशनपछि नेतृत्वमा आएको नेतृत्व । के सन्तुष्ट छ त, त्यो नेतृत्व आफ्नो नेतृत्वप्रति ? वा अरूमाथि दोष थोपरेर आत्मरति गर्दैछ त्यो नेतृत्व, अथवा त्यसैमा रमाउने भुलभुलैयामा पार्दैछन् नेतृत्वको दौरा समाएर परिक्रमा गर्ने परजीवीले ? नेतृत्व हुँ भन्नेले सोचून् । 

बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि अर्थात् छयालीस सालपछिको सबैभन्दा अनुदार र विमर्शप्रतिको अनुदार सरकार यही अहिलेको हो । राजाको स्वशासनको कुरा छाडौँ, त्यो सधैँ अनुदार र तानाशाही संस्कारको रह्यो । प्रजातन्त्र भन्नेहरूले चलाएकोमध्ये यही कम्युनिस्ट सरकार लोकतन्त्रको अलोकतान्त्रिक सरकार हो । कम्युनिस्टहरु विचार निषेधको पाठ्यक्रम माक्र्सवादी स्कुलमै पढेर आएका हुन् । त्यस्तो स्कुल लेनिनले स्थापना गरे । स्टालीन र माओ प्राचार्य भए । तर, आशा थियो सुध्रिए र नेपाली कम्युनिस्ट लोकतान्त्रिक भए । यो आशा भ्रम साबित भयो अहिले आइपुग्दा । सौभाग्य, दुई तिहाइले नेपालीको भ्रम निवारण गर्यो, मौसम आएपछि काग र कोइली छुट्टिन्छ भनेजस्तै काम्रेड र साथी छुट्टिए । 

यो सरकारले सुशासन देला, विकास ल्याउला, समृद्धि ल्याउला, सम्पन्नताका आकाशे सपना सजाउला ? शुभकामना छ ल्याओस्, गरोस् । तर, मानिसको विवेक र स्वतन्त्र विचार र विमर्शमाथि यो सरकाराले राखेको दुष्टभाव, त्यो स्वीकार्य हुँदैन, हुनैसक्दैन । यो कुरा सत्तासँग वौद्धिकताको मोलतोल गर्ने कथित बौद्धिकसँग मेल खाँदैन । ती सत्ताको चरनचरीमा सुस्वादुको उग्राइ बुजोले बोल्नै नसक्ने गरी मुख थुनिएका छन् वा आँ गरेर बुजो पर्खिएका छन् । बिकाउ तिनको कुरै व्यर्थ छ । 

रह्यो स्वतन्त्र विचारको कुरा । रह्यो, कांग्रेसको कुरा । उसले भुल्नु भएन, लोकतान्त्रिक संसदीय प्रणालीमा प्रतिपक्ष भनेको के हो ? तर, यसका चाटुकारले आरोप जडी देलान् प्रतिपक्ष जान्ने तँमात्रै होस् ? त्यसो होइन, मात्र हनुमानले आफूलाई चिन्न नसक्दा रामले चिनाएजस्तै हो । याद राख्नोस् यी पंक्तिमा कोही राम छैनन् दृष्टान्तमात्र छ । विज्ञेषु किमधिकम् भनेजस्तो । 

छोटकरीमा बाहिर चिल्लो, भित्र कुहिएको फर्सीजस्तो भएको छ मुलुक नेपाल । सुशासन मारियो । लोकतन्त्र सबै अधिकार प्रधानमन्त्रीमा केन्द्रित गर्न प्रयोग भयो । अर्थतन्त्र भाषण गर्ने तर अधोगतिको यात्रा भयो । विकास र समृद्धि ‘आकाशको फल आँखा तरी मर’ जस्तै बन्यो । आलोचनात्मक चेतलाई बोल्छस् त भने झैं अनेक प्रकारका मोटा छडी तेस्र्याइएका छन् । विचार दमित छ, पारिदैछ । छरपस्ट छन् जनताका लागि पीडादायी कुरा, अवस्था । उसका दैनन्दिन महँगा र असुरक्षित छन् । यो कम्युनिस्ट सरकारले सिर्जना गरेका हो, थप थपेको हो र थप्थपाएको हो । तर कांग्रेस यस्तो रौरव पीडाबीच पनि किन प्राणविहीन देखिँदैछ ? ए देशभरिका विवेक वा विदेशभरिका बुद्धि !  यसको उत्तर खोज्ने को सँग ? जिज्ञासा मेटिन्छ कसरी ? नेपाली कांग्रेससँग छ कि केही उत्तर ? छैन । भए यतिलामो क्रन्दन गर्नै पर्थेन । 

सरकारले प्रतिपक्ष छैन भन्ने बुझेको छ । यो उसले बुझेको होइन काँग्रेसले नै बुझाएको हो । कति भन्नु, ढुंगामा चाबुक हानेझैँ वा दूधको कटौरी सर्पको अघिल्तिर राखेझैँ । अब रह्यो पार्टी संगठनको कुरा । संगठन सशक्त बनाइन्थ्यो भने कांग्रेसलाई सरकारका नेताले खिसी गर्नै सक्थेनन् । प्रजातन्त्र संवाद, सहमति, सम्झौता र सहअस्तित्वमा चल्छ, चलाउनुपर्छ भन्ने संस्कार बसिदिएको भए बहुमतको दम्भमा चल्ने हठ कांग्रेसभित्र देखापर्ने नै थिएन । 

धेरै लेख्नै पर्दैन । इतिहासको शुभ्र वस्त्रले वर्तमानको लाज ढाक्दैन । अहिले बनाइएका अनुशासन, निर्वाचन र नियमावली परिमार्जन समिति साँच्चै सहमतिमा बनेको भए कांग्रेसमा विवेकले नै सहमति हुन्छ भनिन्थ्यो तर भयो दबाबमा । बुझियो, संवाद, सहमति, सम्झौता र सहअस्तित्वको बुझाइ कांग्रेसमा विवेकले स्थापित छैन, दबाबले सिर्जितमात्र हो । कसको दोष कति छ कसैलाई भन्न खाँचो र हिसाब सजिलो छैन तर सभापति शेरबहादुर देउवाको चाहिँ शतप्रतिशत हिस्सा छ । यसैले जबाफ उनैले दिनुपर्छ । किनभने यसको जबाफ अहिलेको कांग्रेसमा अरू कसैले दिनसक्दैन । उनीबाहेक अरूले दिए पनि पत्यारिलो हुँदैन ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro