site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा–पौडेलको दौडाहा कार्यकर्तालाई देखाउन कि चुनावी रणनीति बनाउन ?

काठमाडौं । गत पुस ८ गते महासमिति बैठकको समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेको ‘इमोशनल अट्याचमेन्ट’ सम्झिँदै सभापति शेरबहादुर देउवा ठट्टेउली पारामा प्रस्तुत भए । 

‘‘रामचन्द्रजीले अट्याचमेन्टको कुरा गर्नुभयो, इमोशनल अट्याचमेन्ट । यो लभ गर्ने केटाकेटीले भन्ने गरेको सुनेको थिएँ । यहाँ उहाँले यसो भन्दा खुसी लाग्यो,’’ सभापति देउवाले भने, ‘‘डिप लभमा परेका केटाकेटीमा इमोशनल अट्याचमेन्ट हुन्छ । यहाँ पनि इमोशनल अट्याचमेन्टको कुरो सुन्दा खुसी लाग्यो मलाई । हाम्रो पार्टीभत्र पनि यस्तो हुनु राम्रो कुरा हो ।’’

त्यसअघि समापन समारोहमा सभापति देउवा र आफूबीचको सम्बन्धलाई स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका थिए, ‘‘पार्टी सञ्चालन गर्न एउटा महत्वपूर्ण तत्व चाहिन्छ, त्यो हो– ‘इमोशनल अट्याचमेन्ट’ । त्यसैले जतिसुुकै विमति र घोचपेच भए पनि हामीमा एक हुन इमोशनल अट्याचमेन्टले भूमिका खलिरहेको छ ।’’

यही कुरालाई आधार बनाएर सञ्चारमाध्यमले कांग्रेस सभापति देउवा र वरिष्ठ पौडेलका बीचमा ‘डिप लभ’ परेको समाचार प्रकाशन–प्रशारण गरे ।  

समानपन समारोहमा केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति देउवाको खुलेरै प्रशंसा गरिन् । ‘‘धेरै चुनौती थियो । मानिसहरु चुनाव हुँदैन भन्दै थिए । कांग्रेस हार्छ भन्ने थाहा थियो । तर पनि शेरबहादुरजीले चुनाव गराउनुभयो,’’ उनले भनिन् ‘‘शेरबहादुरजीले पार्टी विधान बनाएर पनि राम्रो गर्नुभयो । राम्रोलाई राम्रो भन्न नडराऔं ।’’ 

महासमिति बैठकको समापन समारोहमा गरिएको प्रतिवद्धता विपरित सभापति देउवाले फागुन १२ गते बहुमतका आधारमा विधान अनुमोदन गर्दा वरिष्ठ नेता पौडेलले अन्य नेताहरुलाई साथमा राखेर निर्णय पुस्तिकामै ‘नोट अफ डिसेन्ट’ लेखे । दुई दिनपछि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक नै बहिष्कार गरे । 

फागुन २२ गते पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेता पौडेलसहितका संस्थापन इतर समूहमा आवद्ध नेताहरुले देउवालाई असहयोग गर्ने निर्णय गरे– असहमतिका विषयलाई सभापति देउवाले छलफल गरेर सहमतिमा नटुंग्याएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने । यद्यपि नेता पौडेल चाक्सीबारी बैठकमा सभापति देउवाप्रति नरम भने देखिएका नै थिए । संसददेखि सडकसम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग लड्नुपर्ने समयमा पार्टीभित्र आन्तरिक किचलोमा धेरै लाग्न नहुने शैलीमा उनी बैठकमा प्रस्तुत भए । 

संस्थापन इतर समूहले सहमति नभएसम्म बैठकमा सहभागी नहुने चेतावनी दिएकै भोलिपल्ट सभापति देउवाले चैत ४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक डाके । जिल्ला दौडाहाको एक हप्ते कार्यक्रम सार्वजनिक गरे । लगत्तै वरिष्ठ नेता पौडेलले पनि देउवाको सिको गर्दै जिल्ला दौडाहाको भ्रमण तालिका बनाए । 

शीर्ष नेताहरुले छुट्टाछुट्टै तालिका बनाएर जिल्ला दौडाहामा निस्कने तयारी गर्दा धेरैले पार्टीमा महाधिवेशन लागेको अनुमान पनि गरे । र, आगामी निर्वाचनमा सभापति पदका लागि दुबै नेताले तयारी सुरु गरेको धेरैको अड्कल थियो ।  पार्टीको भावी सभापतिका लागि तयारी गरिएको अड्कल काटिँदै गर्दा दुबै नेताहरु फागुन २५ गते म्याग्दीको तातोपानीमा एक साथ देखिए । दुबै जनाले एकसाथ तातोपानी कुण्डमा स्नान पनि गरे । 

स्नानपछि आयोजित कांग्रेस म्याग्दीको भवन उद्घाटन समारोह सुरु हुनुअघि सभापति देउवाले नेताहरुका माझ ‘तातोपानी भनेको मनको मैलो धुने ठाउँ हो, तनको मैलो पनि धुने ठाउँ हो । हामी त पार्टीका पुराना दुईजना मित्र, हामी बुढाहरु त आज तातोपानीमा डुबेर आएका छौं । कांग्रेसलाई राम्रो बनाउनु छ । तपाईं (युवा नेता) हरु पनि डुबेर आउनुस् है’ भन्न भ्याए । 

\"\"

जसको खुलासा गरे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भवन उद्घाटन समारोहको मन्तव्यका क्रममा ।   एकसाथ स्नान गरेका देउवा र पौडेल आइतबार बिहानै कुहिनोमा कुहिनो जोडेर बसिरहेको अवस्थामा देखिए ।  पूजा–अर्चनाका लागि मन्दिर जाँदै गर्दा नेता पौडेलले सभापति देउवाको जनैको बचाउसम्म गर्न भ्याए । ‘‘हामी यहाँ एक भएर हिँडेका छौँ, यस्तो कुरा कहीँ आउँदैन । अरु के–के नचाहिँदा कुरा मिडियामा किन आइरहेका छन् ?’’ उनले देउवाको जनैका विषयमा भइरल समाचारप्रति ईंगित गर्दै सञ्चारकर्मीहरुसँग गुनासो गरे । शनिबार तातोपानी कुण्डमा नुहाउँदा देउवाको शरीरमा जनै नदेखिएपछि उनको तस्बिर भाइरल भएको छ । 

पछिल्लो तीन महिना यता सभापति देउवा र वरिष्ठ नेता पौडेलले एक–अर्काप्रति देखाइरहेको व्यवहारले दुबै नेताले साच्चिकै पार्टीलाई एकढिक्का बनाउन चाहेका हुन भन्न सक्ने अवस्था भने छैन । कार्यकर्तापंक्तिले नेताहरुलाई मिल्न दबाब दिँदै आएका कारण उनीहरु सभा–समारोहमा जाँदा आफूहरु एक भएको सन्देश दिने भरपूर प्रयास गर्दै आइरहेका छन् ।

म्याग्दी कांग्रेसको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शनिबार पनि दुबै नेताहरुले वीपी, गणेशमान, किशुनजीले चलाए जस्तै गरी पार्टी चलाउने प्रतिवद्धता जनाएका थिए । दुबै शीर्ष नेताहरु कार्यकर्तालाई निरास नबनाउने र आ–आफ्नो समूहलाई पनि नचिढाउने राणनीतिमा देखिएका कांग्रेसकै नेताको बुझाइ छ ।   

‘‘नुहाउनदेखि पूजा–आजा गर्न सँगै जानुभयो । हेलिकोप्टर पनि सँगै चढ्नुभयो । पानीमा बसेर मैलो फाल्नुभयो । पार्टीभित्रको धुलोमैलो फाल्नुभयो कि भएन अहिलेनै भन्न सकिन्न,’’ देउवा र पौडेलसँगै म्याग्दी पुगेका कांग्रेसका युवा नेता रामहरि खतिवडाले बाह्रखरीसँग भने, ‘‘कार्यकर्ताहरुको बीचमा उहाँहरु उत्साहित हुनुहुन्छ । कार्यकर्तालाई निरुत्साहित बनाउन पनि चाहनुहुन्न । एक्लाएक्लै भएपछि व्यक्तिगत स्वार्थका कारणले आफ्ना–आफ्ना कुरा गर्नुहुन्छ ।’’  

पार्टीभन्दा आफू ठूलो होइन भन्ने कुरा अब दुबै नेताले बुझ्न आवश्यक रहेकोमा जोड दिँदै उनले कार्यकर्ता माझ जाँदा मिलेको देखाउने र ‘कोटरी’ मा फर्किँदा आफ्नो समूहका कुरामात्रै सुन्ने प्रवृत्ति सुधार्न आग्रह गरे ।  ‘‘पार्टीभन्दा आफू ठूलो होइन भन्ने कुरा अब दुबै नेताले बुभ्mन आवश्यक छ । पब्लिकमा जाँदा मिले जस्तो गर्ने र आफ्नो कोटरीमा आयो कोटरीकै कुरा सुन्ने प्रवृत्ति ठिक होइन, यसले पार्टीको हित गर्दैन,’’ नेता खतिवडाले भने ।  

सभापति देउवा र वरिष्ठ नेता पौडेलको व्यक्तिवादी प्रवृत्ति परिवर्तन नभए नेताहरुको पछाडि लागेर पार्टी सहिद भने नहुने उनले स्पष्ट पारे । ‘‘अब साच्चै आफूभन्दा कांग्रेसलाई प्राथमिकता दिनुभएको हो भने मिल्नुहोला । होइन, व्यक्तिवादी प्रवृति हो भने अब कांग्रेस पनि नेताहरुका पछाडि लागेर सहिद हुँदैन’’ खतिवडाले भने ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro