site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा हिन्दू राष्ट्रको एजेन्डा पेचिलो बन्दै

काठमाडौं । केन्द्रीय समितिबाट विधान संशोधन अनुमोदन गर्न नसकेर विवादमा रुमल्लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको एजेण्डा पेचिलो ढंगबाट उठिरहेको छ । उपसभापति विमलेन्द्र निधिले महासमितिमा पेस गरेको राजनीतिक प्रतिवेदन अनुमोदनका क्रममा हिन्दू राष्ट्रको एजेण्डा पेचिलो ढंगबाट उठ्ने देखिएको हो । 

गएको पुस १ गते महासमिति बैठकमा पेस भएको राजनीतिक प्रस्तावमा उपसभापति निधिले धर्मनिरपेक्षतालाई ‘विशिष्ट उपलब्धि’ भनेका थिए । पार्टीको राजनीतिक प्रतिवेदनमा धर्मनिरपेक्षतालाई ‘विशिष्ट उपलब्धि’ उल्लेख गरिएपछि हिन्दू राष्ट्रको वकालत गर्दै आएका कांग्रेस नेताहरुले महासमिति बैठक जारी रहेकै बेला आपत्ति जनाएका थिए । 

उनीहरुले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नका लागि पार्टीले धर्मनिरपेक्षतालाई विधानबाट संशोधन गरेर हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गर्दै हस्ताक्षर संकलनसमेत गरेका थिए । नेपाललाई ‘वैदिक सनातन हिन्दू धर्म’ कायम गर्नुपर्ने माग गर्दै महासमिति बैठकस्थल परिसरमा संकलन गरिएको हस्ताक्षरलाई कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सभापति शेरबहादुर देउवालाई बुझाएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, महासमितिबाट आएका सुझावसहित परिमार्जन गरेर फागनु १ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिएको निधिको राजनीतिक प्रतिवेदनमा धर्मनिरपेक्षतालाई ‘उपलब्धि’ का रुपमा उल्लेख गरेर पेस गरिएको छ । उनको परिमार्जनसहित अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पेस भएको राजनीतिक प्रतिवेदनमा सहमति जुट्न जटिल अवस्था रहेको नेताहरुको भनाइ छ । 

‘‘राजनीतिक प्रस्ताव बडो जटिल छ । उपसभापतिजीको व्यक्तिगत प्रस्ताव हुन्थ्यो भने एउटा कुरो हुन्थ्यो, अब यो त कांग्रेसको राजनीतिक प्रस्ताव हो,’’ नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने अभियानमा रहेका कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘‘उहाँले प्रस्तावमा नियतवश धर्मनिरपेक्षतालाई जोड दिएर राख्नुभएको जस्तो लाग्छ । त्यो कुरो स्वीकार्य हुन सक्दैन । त्यो कांग्रेसको दस्तावेज बन्न सक्दैन ।’’ कांग्रेसको महासमिति बैठक चल्दै गर्दा हिन्दू राष्ट्रको पक्षमा सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा नेता भण्डारीले पहिलो नम्बर हस्ताक्षर गरेका थिए । 

उक्त हस्ताक्षर पुस्तिकामा कांग्रेस महासमिति सदस्यहरुका तर्फबाट पूर्वमन्त्रीहरु मोहन बस्नेत, भक्तबहादुर बलायर, चिरञ्जिवी वाग्ले, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ, कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरे, केन्द्रीय सदस्यहरु कुमार खड्का, पुष्पा भुषाल, डडेल्धुरा सभापति कर्णबहादुर मल्ल, कास्की सभापति कृष्ण केसी, ओखलढुंगा सभापति प्रदीपकुमार सुनुवार, अछाम सभापति भरतबहादुर स्वाँर, बझाङ सभापति हर्कजंगबहादुर सिंह, हुम्ला सभापति जयपति रोकायलगायतका जिल्ला सभापतिहरुको हस्ताक्षर गरेका थिए । 

काठमाडौं महानगरपालिकाका मेयर पदका उमेदवार राजुराज जोशी र तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री तथा कांग्रेस महासमिति सदस्य भारतेन्द्र मल्लिकसहित सात सय २५ जनाले पनि हिन्दू राष्ट्रको माग गर्दै हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका थिए । नेपालको सनातनदेखिको हिन्दू धर्मलाई समाप्त पारेर देश बन्न नदिनेहरुले संविधानमा धर्मनिरपेक्षता कायम गर्न लगाएको उनीहरुको निष्कर्ष छ । 

धर्मनिरपेक्षता नेपाललाई धार्मिक द्वन्द्वमा लैजाने षड्यन्त्र स्वरुप आएको हो,’’ केन्द्रीय सदस्य भण्डारीले भने, ‘‘नेपालको सनातनदेखिको हिन्दू धर्मलाई समाप्त पारेर हाम्रो देशलाई बन्न नदिन विभिन्न खेलहरु भएका छन् । त्यसको प्रमुख कारण भनेको धर्मनिरपेक्षता हो भन्ने हाम्रो निष्कर्ष छ ।’’ 

उनले नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्नेमा मुस्लिम, आदिवासी जनजाति समुदायले उभिएको दाबी गर्दै हिन्दू धर्मको एजेण्डालाई कांग्रेसले राष्ट्रिय एजेण्डाका रुपमा लिनुपर्ने जिकिर गरे । केन्द्रीय सदस्य भण्डारीले हिन्दू धर्मको एजेण्डा आगामी महाधिवेशनमा प्रधान विषय बन्ने र यही विषयले पार्टी नेतृत्व चयन गर्ने पनि दाबी गरेका छन् । 

‘‘कांग्रेसमा दुःख गरेका, लगानी गरेका अग्रज नेताहरुले हिन्दू धर्मका लागि हस्ताक्षर गरेर बुझाउनुभएको छ । मुस्लिम, आदिवासी जनजातिले हस्ताक्षर गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्नुभएको छ,’’ भण्डारीले भने, ‘‘यो कांग्रेसको एजेण्डा बन्नुपर्छ, रााष्ट्रिय एजेण्डा बन्नुपर्छ भन्नुभएको छ । यो एजेण्डालाई कांग्रेसले अंगीकार गर्नुपर्छ ।’’ 

समय–समयमा हिन्दू राष्ट्रको पक्षमा अभिव्यक्ति दिँदै आएका महामन्त्री डा. शशांक कोइरालाले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हिन्दू राष्ट्रको एजेण्डालाई समर्थन गर्न सक्ने अनुमान गरिएको छ । उनले केही साताअघि चितवनको देवघाटमा आयोजित एक धार्मिक कार्यक्रममा हिन्दू राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्ने बताएका थिए ।  

उपसभापति निधिले पारिमार्जित राजनीतिक प्रतिवेदन कार्यसमितिमा पेस गरेकै दिन केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीको आगामी महाधिवेशनमा हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति आफू हुने बताएको श्रोतले जानकारी दिएको छ । कांग्रेस श्रोतका अनुसार सांसदसमेत रहेका केन्द्रीय सदस्य अख्तर कमाल मुसलमानले पनि सोही दिन हिन्दू राष्ट्रको एजेण्डालाई समर्थन गर्ने दृढता प्रकट गरेका छन् । 

त्यस्तै बौद्ध धर्म मान्ने कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङले पनि आफू हिन्दू धर्मावलम्बी नभए पनि हिन्दू राष्ट्रको एजेण्डालाई समर्थन गर्ने बताएका छन् । ‘‘नेपाल हिजो पनि हिन्दू राष्ट्र थियो र भोलि पनि हुन्छ भने मलाई कुनै आपत्ति छैन,’’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 
फाइल तस्बिर 

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  ०९:४६
प्रतिक्रिया दिनुहोस्