नेपाली राजनीतिमा पूर्वप्रधानमन्त्री सुशील कोइराला अविस्मरणीय व्यक्तित्व हुनुहुन्छ । नेपाली कांग्रेसको सभापतिको पदमा रहेकै अवस्थामा उहाँको निधन भएको थियो । यही माघ २६ गते चौथो स्मृतिदिवस थियो । तर, उहाँको सम्झनामा नेपाली कांग्रेसले कुनै कार्यक्रम त के विज्ञप्तिसम्म निकालेर दुनियाँलाई उहाँको सम्झना ताजा बनाउने कामसमेत गरेन । उहाँको स्मृति दिवस कांग्रेस स्वयंले बिर्सेछ क्यारे ?
सुशील कोइरालालाई कांग्रेसले मात्रै होइन नेपाल राष्ट्रले नै सम्झनुपर्ने थुप्रै कारण छन् । सबभन्दा महत्त्वपूर्ण कारण त ऐतिहासिक योगदानप्रतिको कृतज्ञ संस्कार बचाइराख्न सधैँ न सके पनि जयन्ती र स्मृतिदिवसमा यस्ता व्यक्तित्वको सम्झना गर्नु वाञ्छनीय हुन्छ । किन यसपटक कांग्रेस यो मामलामा चुक्यो वा बेवास्ता गर्यो ।
स्मृति दिवस होइन, जन्मजयन्ती मनाउने हो, एउटा तर्क गर्न सकिन्छ वा गरिएको छ । स्मृतिदिवस परिवारका हकदारले श्राद्ध गर्ने दिन हो । योगदानको सम्झना जन्मजयन्तीको अवसरमा गर्नुपर्छ । यो तर्कलाई मान्न सकिएला । तर, एउटा राजनीतिक संस्थाले आफ्ना स्मरणीय नेताको सम्झना गर्ने दिवसमा समान मापदण्ड बनाउनुपर्छ । कसैको मनाउने, कसैको छाड्ने दोहोरो शैली अपनाउनु उपयुक्त हुँदैन ।
कांग्रेसले जन्मदिनमा मात्र स्मृति कार्यक्रम गर्ने निर्णय गरेको थाहा छैन । त्यसो हो भने सार्वजनिक जानकारीमा आएको भए गुनासो रहन्थेन । गिरिजाप्रसाद कोइराला सभापति रहँदा नेपाली कांग्रेसले मनाउने वा कार्यक्रम गर्ने दिनहरूको विवरण क्यालेन्डर बनाएरै जिल्ला समितिहरूलाई समेत परिपत्र गरेको थाहा थियो । अहिले पार्टी कार्यालयमा त्यस्तो क्यालेन्डर छ कि छैन ? शंका गर्ने कुरा भएन तर त्यही नभएर सुशील’दालाई उसले बिर्सिन पुगेको हो कि ? कुनै नेताको दुवै दिन, कुनैको एक दिन सम्झने दिवस बनाउन खोजेको हो वा ?
यहाँनेर अर्को खड्कने कुरा त, जतिबेला उहाँको स्मृतिदिवस थियो,त्यतिबेला कांग्रेस केन्द्रीय समितिको बैठक लगातारजस्तो बसेको हो । त्यसले न कुनै स्मृति निर्णय लेख्यो वा कुनै सम्झना विज्ञप्ति निकाल्यो । अथवा, बैठक पूर्व केही मिनेटको श्रद्धाञ्जली कार्यक्रम राखेर उहाँको तस्बिरमा दुई थुँगा फूल अर्पित गर्ने कष्ट नै सहकर्मी साथीले गरे । केही गरेको तर हाम्रो तहसम्म जानकारी नआएको भए आफ्नै अज्ञानको कुरा भयो । के कांग्रेसजनका लागि सुशील कोइराला यतिछिटै बिर्सन मिल्ने नाम हो ?
यही स्मृतिदिवस प्रसंगसँग जोडिएको एउटा घटना छ । कांग्रेस महामन्त्री डा.शशांक कोइराला सुशील कोइराला मेमोरियल फाउन्डेसनको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले यस फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालामार्फत पठाउनु भएको एकलाख रुपियाँ देवघाटस्थित महेश आश्रम(गुरुकुल)लाई कोइरालाको स्मृतिमा हस्तान्तरण गर्नुभएछ । विज्ञप्ति र सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक भयो । यो दान पारिवारिक श्रद्धाको श्राद्धको कोटीमा बुझ्न लायक हुन्छ । भलै महामन्त्रीको तर्फबाट प्रदान गरिएको भए पनि । यहाँ पार्टीको संस्थागत कार्यक्रम र दृष्टिकोणको सन्दर्भप्रति लेख्न खोजिएको हो ।
सम्झिन लायक कारण । सुशील कोइराला मानिस भएकाले मानवीय कमीकमजोरी उहाँमा थिएन भन्ने होइन । तर, केही त्यस्ता गुण र योगदानले उहाँलाई औसत मानिसभन्दा बढी साबित गरिदिए । सरल, त्यागी र सहिष्णु समवेत गुणका उदाहरण सभापति कोइरालाको प्रजातन्त्रप्रतिको अविचलित समर्पण र राष्ट्रप्रतिको बफादारी अत्यन्त उच्च थियो । यी शब्द प्रशंसाको पुल बाध्न लेखिएको होइन । उहाँसँग झन्डै तीन दशकभन्दा लामो चिनारी र नजीकबाट हेर्ने अवसरजन्य अनुभूतिको प्रस्फुटन हो ।
उहाँको धेरै भनाइबाट प्रभावित, अझ जीवनपद्धतिबाट पनि प्रभावित मैले कहिल्यै बिर्सन नसक्ने र बारम्बार सम्झने वाक्य – ‘चुनाव हारियोस् तर जित्नका लागि गलत तरिका अपनायो भन्ने आरोप बोकेर नआउनोस् ।’
नेपाल प्रेस युनियनको महाधिवेशन दाङ तुलसीपुरमा उद्घाटन भयो । कारणवश चुनाव रोकियो । यसको ६ महिनापछि सुनसरीको इटहरीमा चुनावी कार्यक्रम थियो । सम्पर्क कार्यालय महाराजगंजमा उहाँ १०२ डिग्री ज्वरोले थलिएर बसेका बखत म भेट्न गएँ । वीरेन्द्र दाहाल हुनुहुन्थ्यो – नभेट्न सल्लाह दिनुभयो । म निराश फर्कन खोज्दै थिएँ के लागेछ कुन्नी, भेट्न पाएँ । भित्तातर्फ मुख फर्काएर सुत्नु भएका सुशील’दा मतिर पर्कनुभयो । म ढोकामा उभिएको थिएँ, केही भित्र गएँ । चुनावी कुरा गरेँ । हो, त्यसैबेला उहाँले मलाई दिनुभएको सल्लाह हो त्यो । जो बिर्सन सम्भव छैन । यो वाक्य मलाई सल्लाहमात्रै भएन सुशील’दा को सिंगो जीवन बुझ्ने मन्त्र पनि बन्यो ।
सुशील कोइरालामा देशभक्तिको अन्तरंग गहिराइ जो नजिकबाट सुनेको छु, त्यसको एक अध्येताजस्तै भएँ । त्यसो त कोइरालाहरूको देशभक्तिको धड्कन मैले स्पष्टसँग सुनेको छु । जसरी मैले सुशील दालाई बुझेँ, चिने र सिकेँ त्यसरी नै सबैले गर्नेहुन् भन्ने पनि मान्दिन । ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुझाइ ।’ सत्ता, शक्ति र सम्भावनाको खेलमा सभापति सुशील कोइरालालाई कसले कसरी बुझ्यो, लियो र दियो त्यो उसैको काम कुरा भयो । उहाँलाई ‘कोटरी’ चलाएको आलोचना सञ्चारमाध्यममा प्रशस्त भयो । तर, अभिव्यक्तिको स्वतन्त्रताप्रति उहाँले अहिलेको सरकारले जस्तो अपराध टिप्पणी र धम्की कहिल्यै दिएको सुनिएन, पढिएन ।
निष्ठा, त्याग र समर्पणको जीवन केही पंक्तिमा समेट्न सक्ने धृष्टता कसैले गर्दैन । तर, कांग्रेसले बिर्सँदा सुशील’दाको केही त्यस्ता विशेषता बारे कोर्न मन लागेको हो । चुनावी बेला होस् कि केही अघिसम्म इतिहासको नेतृत्व कांग्रेसले गरेको यसको नेता भन्थे । भाषण गर्थे । जनप्रतिनिधि, संविधानसभाबाट संविधान बनाउने झन्डै सात दशक लामो जनताको धोको कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सम्भव भयो, कांग्रेस नेता दोहोर्याई रहन्थे । हो पनि ।
सहमति, सहकार्य र एकता प्रधानमन्त्री सुशील कोइरालाको तन्त्रमन्त्र थियो । मेलमिलापको यही बाटो हिँडेर उहाँले प्रमुख सबै दललाई संविधान बनाउन सहमत बनाउनुभयो । उहाँमाथि विभिन्न दबाब आए रे तर झुक्नु भएन । संविधान ल्याउन, तत्कालीन एमालेले प्रधानमन्त्री र सरकार आफूले पाउनुपर्ने सर्त तेस्र्याएछ । सरकार दिन वा छोड्न तयार तर संविधान बनाउनै पर्ने अडानले उहाँलाई सफल बनायो ।
कांग्रेस सभापति कोइरालाले हार्ने जान्दाजान्दै पुनः प्रधानमन्त्री पदका लागि किन उम्मेदवारी दिनुभयो ? शेरबहादुर देउवा र रामचन्द्र पौडेल किन बसे प्रस्तावक र समर्थक ? थरीथरीका मानिसले उहाँमा सत्ता लालसाको आरोप पनि जडे । तर, जुन कामको कर्ता जो हो, त्यसको सत्य प्रवक्ता पनि त उही स्वयं होला नि ? अर्थात्, उम्मेदवारी दर्ताको स्वंय प्रवक्ता सुशील कोइराला नै हो । सोची हेर्दा उहाँको भनाइ सत्य नजिक लाग्छ ।
संविधान बनाउँदा मधेस केन्द्रित दलहरू संविधानसभा बाहिर बसे । संविधानप्रति उनीहरुको स्वीकृति थिएन । कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिए ती दलका सांसद्ले व्यवस्थापिका संसद्मा आएर उहाँलाई मत दिने भए । संविधान अस्वीकृत गर्ने दल, त्यही संविधानको प्रक्रियामा सहभागी हुने प्रतिबद्धताले कोइरालालाई उत्साहित बनायो । आफूले सहमति जुटाएको संवैधानिक प्रक्रियामा सबैको सहभागिता हुनु कोइरालाको इच्छा र प्रतिबद्धता स्वाभाविक हो । यो मान्यताको अघिल्तिर उहाँलाई जय पराजय गौण भयो ।
संविधानको स्वीकार्यता महत्वपूर्ण रह्यो । कांग्रेस सभापति कोइरालाले त्यही रोज्नुभयो । लेखिएका यी कुरा उहाँले नै भन्नुभएको हो । आफ्नो उम्मेदवारीको अर्थ उहाँले नै यसरी उद्घाटित गर्नुभएको थियो । त्यही उम्मेदवारी पहिलो प्रहर थियो, मधेस केन्द्रित दलहरु सशर्त भए पनि यो संविधानको प्रक्रियामा क्रमशः आउनु, सरकारमा बस्नु वा संसदीय कार्यप्रणालीमा हिस्सा जनाउनुको । त्यो प्रहर उद्घाटित हुन्थेन भने अहिले कस्तो हुन्थ्यो होला ?
सुशील कोइराला राजनीति बुझेको मानिस हो । उहाँको उम्मेदवारी पक्कै अबुझ थिएन । त्यसैले, हलाहल विष पानले नीलकण्ठ बनेका शिवशंकरजस्तै उम्मेदवारी कोइरालाले दिनुभयो । संविधान, त्यसको पहिलो संशोधन र पहिलो प्रयोगमा सुशील कोइरालाले जुन सुझबुझ प्रयोग गर्नुभयो, त्यसैले उहाँलाई एक नेताबाट राजनेता बनायो । वर्तमानले भविष्यद्रष्टा साबित गर्यो ।
उहाँ प्रधानमन्त्री हुँदा जनस्तरबाट निकै सद्भाव मिल्यो । कारण स्वच्छछवी, भ्रष्टाचार गर्दैनन्, देश डुबाउने छैनन् भन्ने विश्वास थियो । उहाँको सादगी नागरिकका लागि आकर्षण, सद्भाव र विश्वासको कारक बन्यो । उहाँप्रतिको यही विश्वास निर्वाचनमा कांग्रेस ठूलो दल बन्ने प्रमुख आधार बन्यो । अहिले हिन्दुस्तान र पाकिस्तानबीचको तीव्र झगडाले सार्कको भविष्य अन्यौल मात्रै के अन्त्यको डिलतिर पुगेजस्तो छ । फर्कने कहिले हो भन्न सकिँदैन तर नेपालमा सार्कको १८ औं सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्री कोइरालाको नेतृत्व सफल मानिएकै हो ।
यस्ता राजनेतालाई चटक्कै बिर्सन कांग्रेस र कांग्रेसका कार्यकर्तालाई पटक्कै मन छैन होला । तर, कांग्रेसको परिस्थिति कस्तो बन्यो कुन्नि ? आफ्नो निष्क्रियता, निस्पृहता वा लघुताभाषलाई सरकारको लागि प्रतिपक्षीको रचनात्मक सहयोगको ‘सुतुरमुर्गे’ अर्थ दिन कांग्रेस नेता व्यस्त छन् । पार्टी संरचनालाई व्यवस्थित, जुझारु र संगठनको आन्तरिक कार्यलाई सक्रिय पार्दा सरकारलाई असहयोग हुने हो र ? कि सरकारकै सहयोगका लागि पार्टी पनि लथालिङ्ग पार्नु परेको हो ? संगठन नगर्ने तर भाषणमात्र गर्ने कांग्रेसका नेता अकर्मण्य भइसके ?
श्रद्धाञ्जली सुशील दा ।