site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
सरकारलाई पर्ख र हेरको सुविधा कहिलेसम्म ?

सरकारले केही गर्छ कि भन्ने अपेक्षामा ‘पर्ख र हेर’ मा बिताउने समय कतिसम्म हुन्छ ? अर्थात् जनताले सरकारसँग राख्ने आशा र पर्खने समय कहिलेसम्म ? सोझो उत्तर हुन्छ आउने निर्वाचनसम्म । भनिन्छ, सरकार बनेको सय दिनसम्म विरोध नहुने सुविधा सरकारलाई प्राप्त हुन्छ । यसैले सामान्यतः तीन महिने ‘हनिमुन पिरियड’ सरकारलाई निर्बाध चल्न दिने चलन बसेको छ  । 

सरकारका लागि यी तीन महिना वैवााहिक जीवन प्रारम्भको मधुमासजस्तो पक्कै होइन । यो समय सरकारले गर्ने गति संयोजन, नीति संकेत र कार्यशैली निर्धारणका लागि हो  । यतिबेलै नागरिकले ‘बिहानीले दिउँसो बोध’ गराएजस्तै सरकार कसरी अगाडि जान वा चल्न खोज्दैछ भन्ने बुझ्ने हो । 

प्रजातान्त्रिक तरिकाले हुने आवधिक निर्वाचनबाट बलियो सरकार निश्चित वैधानिक समयसम्म चल्नसक्छ, पाउँछ । कहिले काहीं गठबन्धनको वा अल्पमत सरकार बन्ने व्यवस्था पनि हाम्रो संविधानमा छ । यस्ता सरकार कुनै कारण बदलिने अवस्था सजिलो हुन्छ । तर, वर्तमान संविधानले सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने, एकपटक ल्याएपछि छ महिनासम्म पुनः त्यस्तो प्रस्ताव ल्याउन नसकिने व्यवस्था गरेको छ । 

KFC Island Ad
NIC Asia

विगतमा विविध कारणले सरकार अस्थिर र अस्थिरताका कारण विकासमा गतिरोध वा विकृतिमा बढोत्तरी आएको निष्कर्षसहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । केही स्थिरता कायम होस् र सरकारले काम गर्नसकोस् भन्ने अपेक्षाले यो व्यवस्था भएको देखिन्छ । संविधानले गठबन्धन सरकारको कल्पना गरे पनि दुई वर्ष अगावै बाहिर वा भित्रबाट सरकारलाई दिएको समर्थन कुनै दलले  फिर्ता लिए वा बहुमत गुमाए के गर्ने भन्ने स्पष्टता संविधानमा छैन । समस्या आए समाधानको उपाय निकालिएला । बहस त्यतिबेलै होला । हाल यो समस्या छैन । 

अहिलेको कम्युनिस्ट सरकार भने बहुमतको मात्र हैन, दुई तिहाइको भारिभरकम हो । त्यसैले यसलाई पाएको अवधिसम्म माथि भनिएको जस्तो कुनै जोखिम छैन, ढुक्क छ । यो सरकारमा मन्त्रिपरिषद् पुनर्गठन र नेतृत्व परिवर्तनको गुञ्जायस छ तर कम्युनिष्ट पार्टीको सरकारको अहिलेको निरन्तरता कुनै अकल्पनीय दुर्घटनाबाहेक अरु चारवर्षसम्म रहन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । 

Royal Enfield Island Ad

यस्तो बलियो सरकारसँग जनताले कहिलेसम्म आशा राख्ने र त्यो अवधिमा निराशा आउँछ कि आउँदैन ? वा निराशा आए के गर्ने, आदि प्रश्न यतिबेला नेपाली राजनीतिमा उत्पन्न भएको छ । के बाँकी अवधि निराशामै पर्खेने वा सरकारले भरोसा जगाउने शैली अपनाउने ? फागुन ३ गते त यो सरकारको चार ‘हनिमुन’ अवधि, अर्थात् एक वर्ष बित्दै छ ।  

नेकपाको यो सरकारले यतिबेलासम्म समाजमा कति आशा जगाएको छ वा निराशा बढाएको छ ? प्रतिक्रिया सुन्दा  र पढ्दा आशाभन्दा निराशा बढी भएको, बढ्दै गएको बुझिन्छ । निराशा बढ्नुको कारण अयथार्थवादी लाग्दैन । खाइपाइ आएका सरकारी पार्टीका कार्यकर्ता र समर्थकले हेर्ने दृष्टिकोणबाट यसको मूल्यांकन गर्नु एकपक्षीय हुनजान्छ । जनस्तर वा नागरिक समाजबाट आएका प्रतिक्रिया र टीप्पणीले सरकारको कामकारबाही र परिणामको समीक्षा गर्नु सबैभन्दा सही तरिका हो । बलियो यो सरकारसँग राखिएको अपेक्षाविपरीत केही त्यस्तो व्यबहार भयो, जसले समाजलाई निराश बनाउँदै सरकारप्रति विश्वास ओरालो झरेको छ । दम्भ छ तर इतिहासकै कमजोर साबित हुने डिलमा सरकार पुगेको छ ।  
यसको सबैभन्दा नजिकको उदाहरण डा.गोविन्द केसीसँग सरकारले गरेको विश्वासघात हो । सरकारसँग रहेको  दुई तिहाइ मिल्नका लागि पनि हो कि पेल्नका लागि मात्रै ? तर, सरकार मिल्ने बाटो त्यागेर पेल्ने बाटोमा दगुर्न खोज्दैछ । जो संसद्मा देखियो । नेपाली जनताको हितमा डा.केसीसँग गरिएको सहमति प्रधानमन्त्रीले नै तोडेपछि सरकारको विश्वसनीयता स्खलित हुने नै भयो । भनिन्छ, सिरानी मुनिको खुकुरी भयभीतको निसानी हो । जतिसुकै संख्या होस्, दम्भ जनतासँग डराएको त्यस्तै निशानी हो, कमजोरी । दम्भी पेलानले टिकाएको तानाशाह कतै भेटिँदैन ।     

डा.केसीको सत्याग्रह २३ औँ दिनमा पुगेको छ । स्वास्थ्यस्थिति अति नाजुक भएको जानकारी सम्बद्ध चिकित्सकले दिइरहेका छन् । कम्युनिस्ट सरकारमा इमान र संवेदना थियो भने उनले सत्याग्रह गर्नैपर्ने थिएन । प्रधानमन्त्री केपी ओलीले यही आश्वासन पूर्वभेटमा डा.केसीलाई दिएका थिए । तर, आफ्नै सहमति र वचनलाई रछ्यानमा फालेर प्रधानमन्त्रीले एक व्यक्तिको अनशनमा राज्य झुक्नैपर्छ भन्ने हुँदैन भन्ने दम्भ व्यक्त गरे । लोकतन्त्रमा यसभन्दा ठूलो दुर्भाग्यको उदाहरण अर्को खोजिरहनु पर्दैन । जनताको हितका लागि समर्पित एक वृद्ध तपस्वीमाथि सरकारी रबैया र कम्युनिस्ट कार्यकर्ताको टिप्पणी पूरै समाजका लागि पीडादायी छ । 

सारा नागरिक समाज भनिरहेछ – डा.केसीको सत्याग्रहलाई सम्मान गर । उनको जीवन रक्षा गर । यसो गर्नु सरकारको दायित्व हो । तर, सरकारी मूढमति ‘कानमा तेल हालेर’ मस्त छ । लोकतन्त्रमा एक नागरिकको गुनासोसमेत सरकारले सुन्छ, सम्बोधन गर्नुपर्छ भनिन्छ । यो सरकार भने सारा नेपाली नागरिकको अनुरोधसमेत निर्लज्ज लत्याइरहेछ । 

चिकित्सकहरू, नागरिक समाजका विभिन्न संस्था, पूर्व प्रधानन्याधीशहरू, प्रतिपक्षी दल, सञ्चारमाध्यम अर्थात् सरकारी कम्युनिस्टबाहेक पूरा मुलुकले प्रधानमन्त्री ओलीलाई उनकै सहमति सम्झाइ रहेछन्, सत्याग्रहीको जीवन रक्षा गर्ने कर्तव्यबोध गराउन खोजेका छन् । तर, सरकारमा कुनै मानुस बोलिरहेको छैन । नागरिकलाई निरीह बनाइएको छ । सरकारी दम्भ नागरिकलाई सम्मान दिन तयार देखिँदैन । 

कम्युनिस्ट सरकारका लागि नागरिक समाज धिक्कार छ । बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई बधाई छ । बधाई यसकारण कि संसद्को सम्पूर्ण सर्वोच्चता तिम्रैलागि अर्पित गरियो । डा.केसी जेसुकै गरुन् वा मरुन् तर प्रधानमन्त्रीलाई आफ्नै स्वार्थमा प्रयोग गर्न सफल भयौ, विश्वासघाती बनायौ, सभामुखलाई ‘सत्तामुख’ को भूमिकामा उभ्यायौ, यसैले प्रसाईलाई बधाई दिनैपर्ने भयो । बी एन्ड सी अस्पताल कतै कालो कमाइलाई सेता बनाउने  ‘सरकारी कारखाना’ हो कि वा यिनका नेताको गोप्य लगानी पनि छ ?  यस्तो जिज्ञासा उठेको छ । उत्तर प्रसाईले नै दिनसक्छन् ।  

सरकारसँग निराशा र अविश्वासको कारण यतिमै सीमित छैन । एक वर्षको कम्युनिस्ट सरकारले अब कथित उपलब्धिका ‘फेहरिस्त’ निकाल्ला । ‘गोयबल्स शैली’मा बिजुलीका खम्बा र भित्तामा समेत फेहरिस्तका ठूला पर्चा झुन्ड्याइएलान् । विज्ञापनको दुन्दुभी बजाइएला । यो सरकारको विगत यस्तै छ । तर, जनताले पत्याउलान् के ? आफ्नो उत्पादनको मूल्य नपाएर डोजर लगाउने र सडकमा पोखेर सडाउने वा उखु सुकाउने जनताले के पानी जहाज र रेलको टिकटको आकाशे फलमा आफूलाई आत्मनिर्भर ठान्लान् ? वा सुख र समृद्धि अनुभूत गरेका होलान् र गर्न सक्छन् ?  

आत्मनिर्भर अर्थतन्त्रको दिशाबोध छैन । छिमेकीनिर्भर वा पराश्रित सपना बाँडिएको छ । बाह्य लगानी अभूतपूर्वरूपमा घटेको छ । आन्तरिक लगानी उल्लेख्य छैन । बढेको आयातले आएको राजस्वलाई सगर्व भनिन्छ । तर, आयातले बढ्दो व्यापारघाटा मुलुकले धेग्नै नसक्ने स्थितिमा पुगेको छ । आर्थिक क्षेत्रको असन्तुष्टि जगजाहेर छ । सरकारी व्यवहारबाट बैकिङ क्षेत्र पनि असन्तुष्ट छ । सत्ताधारी बाहेकमा कहाँ छ सन्तुष्टि ? कहाँ छैन निराशा ? 

भ्रष्टाचार नियन्त्रित होइन, संस्थागत बनाइएको छ । संस्था संरक्षित भ्रष्टाचार । कति लेख्ने ? वाइडबडी जाहजमा सार्वजनिक भएको भ्रष्टाचार । संसदीय सर्वोच्चताको बखान गर्ने सरकार संसदीय समितिको प्रतिवेदन सुझावलाई पेल्न हतारमा आयोग बनाएर वाइडबडी पचाउने मेसो गर्छ । बूढीगण्डकी होस् कि  ३३ किलो सुन । निजी कम्पनीले भन्दा झन्डै पाँचगुणा बढी (१९ खर्ब) लगानीबाट विस्तार गर्न खोजिएको टेलिकम फोरजी सेवामा अनियमितताको व्यूहरचना संसदीय समितिले हालै देखाइदिएको छ । भ्रष्टाचारका शृंखलाबद्ध अनगिन्ती काण्डले जनता निराश भएका छन् । 

प्रधानमन्त्रीले ‘भ्रष्टाचारीको मुख हेर्दिन’ जतिपटक भने पनि श्रृंखलाबद्ध भ्रष्टाचारलाई कसले संरक्षण दिएको छ त ? सुशासन शब्द उनले जति नै दोहोर्या पनि ट्रान्सपरेन्सी इन्टरनेसनलले सुशासन झन् खस्किएको देखाएको छ । अस्तिमात्रै सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचार बढेको भनेको छ । प्रधानमन्त्रीको भनाइप्रति पटक्कै विश्वास जाग्दैन । उनले डा. केसीलाई दिएको वचन तोडेर आफैप्रतिको सामाजिक विश्वासमा ग्रहण जो लगाएका छन् ।

सहिद दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले फेरि भने लोकतन्त्रको रक्षा र विकासको लागि हातेमालो गर्न तयार छु, सबै आऊ । उनले सयौँपटक यस्तो भनिसके तर व्यवहार आफूभन्दा भिन्न विचार राख्नेलाई पेल्ने, प्रतिपक्षलाई सिध्याउने धम्कीदिने, नागरिकको आवाज कुल्चिने, प्रधानमन्त्रीको भूमिका स्वार्थी समूह पोस्न प्रयोग गर्ने । आफ्नै प्रतिबद्धतालाई ‘अवसरवाद’ बुझिने गरी परिस्थितिजन्य भन्ने । प्रधानमन्त्रीको यस्तो रबैया र रुखो सरकारी व्यवहारले मुलुकमा निराशा बढ्ने नै भयो, बढेको छ । सरकारप्रतिको विश्वास भत्किएको छ । यो कुनै आरोप होइन । प्रधानमन्त्री ‘चाटुकारहरु’ बाट बाहिर निस्किएर दुईघन्टा मात्र स्वतन्त्र विवेचक वा देशको हितमा सोच्नेहरुलाई सुनून् स्थिति स्पष्ट हुनेछ । उनी वचनमा अडिदिएको भए नागरिक यति धेरै निराश हुनेथिएनन् । अब शहिदलाई साक्षी राखेर उनले भनेको वचन पनि परीक्षणमा रह्यो । 

सारा निराशाबीच सरकारलाई पर्ख र हेरको सुविधा कहिलेसम्म ? जबाफ त सरकारले नै देला । तर, सरकारी दम्भमा दमित लोकतन्त्र र अपमानित नागरिकले चार वर्ष पर्खन पर्ने नै देखिन्छ । त्यो बेलासम्म नेपाल र नेपालीले चुकाउनुपर्ने मूल्य योभन्दा धेरै कठोर नहोस्, यस्ता दिन नदोहोरिऊन् । अहिलेलाई यत्ति कामना गरौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro