site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाइडबडी विमान खरिदबारे कांग्रेसको धारणा यथावत्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पार्टीको धारणा थप प्रष्ट पारेको छ । यही माघ २१ गते हुन गइरहेको सरकारविरुद्धको आन्दोलनका लागि तय गरिएका एजेण्डामा वाइडबडी प्रकरण नसमेटेको भन्दै आलोचना भएपछि कांग्रेसले थप प्रष्टीकरण दिएको हो ।  
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस वाइडबडी प्रकरणमा आफ्नो पुरानै अडानमा यथावत् रहेको दाबी गरे ।

‘भ्रष्टाचारको एजेण्डामा विगतमा गरिएको निर्णयहरु जुन–जुन घोटालाहरुसँग सम्बन्धित छन्, ती सबै विषयहरु पर्छन् भन्ने प्रष्टोक्ति म यहाँ राख्न चाहन्छु,’’ उनले पत्रकार सम्मेलनमा भने, ‘‘केही मिडियामा वाइडबडीलाई लुकाइयो भनेर समाचार आएको छ । आजको पत्रकार सम्मेलनमा म तपाईंहरुलाई स्मरण गराउन चाहन्छु, केन्द्रीय कार्यसमितिको बैठकले प्रष्टसँग भ्रष्टाचारको मुद्दा लेखेको छ । उठाएको छ ।’’

वाइडबडी खरिदमा अर्बौ रुपैयाँ घोटाला भएको बारे कांग्रेसले गम्भीर ढंगले गहिरो छानविन गर्न संसद् र सार्वजनिक रुपमा प्रष्ट रुपमा उठाउँदै आएको दोहोर्याउँदै प्रवक्ता शर्माले वाइडबडी प्रकरणलाई सरकार, प्रतिपक्ष, संसद्, नागरिक समाज र मिडियाले गम्भीर ढंगले हेर्नुपर्नेमा जोड दिए । 

प्रतिपक्षी कांग्रेसले वाइडबडी प्रकरणको छानविन गरिरहेको समितिलाई तथ्यको जगमा उभिएर सत्यको खोजी गर्नुपर्ने आफ्नो पुरानो माग फोरि दोहोर्याएको छ । ‘‘वाइडबडी घोटालाको अनुसन्धानमा सक्रिय समितिले तथ्यको जगमा उभिएर सत्यको खोजी गरोस् । कांग्रेसले माघ २१ गतेको प्रदर्शनमा वाइडबडीको मुद्दालाई घनिभूत रुपमा उठाउने म प्रष्ट्याउन चाहन्छु,’’ प्रवक्ता शर्माले भने, ‘‘कांग्रेसले वाइडबडी प्रकरणमा भएको घोटालाको अध्ययन गरिने, खोजविन गरिने, दोषी पत्ता लगाउने र दण्डित गरिने कर्मलाई विधिवत् रुपमा केन्द्रीय कार्यसमिति बैठकबाट गरिसकेको स्मरण गराउन चाहन्छु ।’’ 

सरकार दुई तिहाइको दम्भमा अभिनायकवादतर्फ उन्मुख रहेको निष्कर्षसहित प्रतिपक्षी कांग्रेसको माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ वटा मुद्दाहरु अघि सारेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । उसले चिकित्सा शिक्षा विधेयक, कांग्रेस नेताका नाममा खुलेका अस्पताल, संवैधानिक परिषद् बैठक, हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध, महँगी, भ्रष्टाचार तथा अनेक जनविरोधी निर्णय र जिल्लास्तरमा रहेका स्थानीय मुद्दालाई माघ २१ गतेको आन्दोलनका लागि एजेण्डा बनाउने भनेको थियो । 

कांग्रेसको केन्द्रीय समिति बैठकले सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दा एजेण्डाका रुपमा अघि सारेका ६ वटा मुद्दामा वाइडबडी विमानमा भएको भनिएको भ्रष्टाचार प्रकरणलाई स्पष्ट रुपमा उल्लेख गरिएको थिएन । सरकारविरुद्धको आन्दोलनका एजेण्डामा वाइडबडी भ्रष्टाचार प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि प्रतिपक्षी कांग्रेसले उक्त एजेण्डा नसमेटेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

‘संसद्मा सबैभन्दा पहिला वाइडबडी प्रकरण संसदको रोष्ट्रममा उभिएर उठाएको नेपाली कांग्रेस पार्टीले हो । सभापतिले उठाउनुभएको हो,’’ कांग्रेस प्रवक्ता शर्मा वाइडबडी भ्रष्टाचार प्रकरणमा छानविनको माग गर्ने पहिलो व्यक्ति नै पार्टी सभापति देउवा भएको जिकिर गर्दै भन्दै आएका छन्, ‘‘यो वाइडबडीको प्रकरणमा हामीलाई पनि गाँस्ने प्रयत्न हुँदै गर्दा माघ २ गते भएको पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा आउँदा हामीले छानविन गरियोस् भनेकाा छौं ।’’ 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ठूलो (वाइडबडी) आकारका दुईथान जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको एक उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको थियो । 

यो पनि पढ्नुहोस्

कांग्रेसको एजेण्डाबाट वाइडबडी प्रकरण 'गायब' ! प्रवक्ता शर्मा भन्छन्– भ्रष्टाचारको एजेण्डाले समेट्छ

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro