काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतका आधारमा संसदबाट पारित चिकित्सा शिक्षा विधेयकका विरुद्धमा सदन र सडकबाट आन्दोलन गर्ने उद्घोष गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकबाट सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रतिपक्षी कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने उद्घोष गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले संसद भवनमा सञ्चारकर्मीहरसँग प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा विधेयकमाथि कुनै छलफल नै नगरेर सरकारले अंक गणितको बलमा पारित गरेको टिप्पणी गरे । “दुई तिहाइले अंक गणितको बल देखायो । एक पटक कुनै पनि संवाद गरेन,’’ उनले भने ।
देउवाले दुई तिहाइको बलमा विधेयक पारित गरिएको प्रति सरकारको निन्दा गर्दै आज कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए । ‘‘यो अत्यन्तै भ्रत्र्सनायोग्य छ । निन्दा गर्न चाहन्छु,’’ उनले चेतावनीपूर्ण भाषामा भने, ‘‘संसदमा मात्रै होइन, बाहिर पनि हाम्रो विरोध कायमै रहन्छ ।’’
देउवाले कांगेसका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरलाई विघटनतर्फ लगेर सरकारले कांग्रेस नेताहरुको इतिहास मेट्ने दुष्प्रयास गरेको प्रतिक्रिया दिए । ‘‘कांग्रेस नेताको नाम मेट्न खोजेको छ । गिरिजाप्रसाद नभएको भए कहाँबाट गणतन्त्र आउथ्यो, कहाँबाट संविधानसभाको चुनाव हुन्थ्यो । सुशील कोइराला नभएको भए कहाँबाट संविधान बन्थ्यो ?’’ उनले प्रश्न गरे ।
कांग्रेसका युवा नेता गगन थापाले पनि सरकारले शुक्रबार संसदमा देखाएको व्यवहारको परिणाम आगामी दिनमा थाहा पाउने चेतावनी दिए । ‘‘समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर विजय उत्सव मनाएको छ । सरकारलाई बधाई छ,’’ संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘‘यसका विरुद्धको लडाई नेपाली कांग्रेसले संसदमा लड्छ । यसको प्रतिक्रिया सरकारले आउने दिनमा थाहा पाउँछ ।’’
थापाले बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक पारित गरेको घटना सरकारलाई महंगो सावित हुने दाबी गरे । ‘‘सरकालाई यो अत्यन्तै महंगो पर्छ । कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ’’ युवा नेता थापाले भने ।
प्रतिपक्षी दलको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले निषेधको राजनीति गरिहरेको पुष्टि गरेको उनको भनाइ थियो । ‘‘विधेयक पारित गरेर सरकारले संसदमा उभिरहेको प्रतिपक्षलाई त निषेध गर्छु भन्ने देशैभर एउटा सन्देश दिन खोजेको छ,’’ थापाले भने, ‘‘मसँग दुई तिहाइ छ । यो जो मसंँग रहन्छ, रहन्छ । विरोध गर्ने वा असहमति राख्नेलाई म चिन्दिन, म मान्दिन, गन्दिन भन्ने सन्देश हो । सरकारले निषेधको राजनीति जसलाई हामीले अहिलेसम्म भन्दै आएका थियो, आज उसले पुष्टि गरेको छ ।’’
नेता थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी कांग्रेसलाई जालझेल गरेको आरोपसमेत लगाए । ‘‘सभामुखले आग्रहबाट मुक्त भएर व्यवहार गर्न सक्नुभएन त भनेका थियौं नै तर आजबाट थप कुरा भन्नुपर्ने भएको छ, जालझेलपूर्ण काम गर्नुभएको छ,’’ उनले भने, ‘‘छलफल गर्न बोलाएर आज म सकेसम्म निकास निकाल्छु । तपाईंहरुको विरोध भयो भने म सदनलाई अगाडि बढ्न दिन्न भन्ने सन्देश हामीलाई प्रवाह गरेर सदनमा आएर बैठक सुरु भए पछाडि जालझेल गरेर सरकारको एउटा अंग जस्तो, आदेश पालक जस्तो व्यवहार देखाउनुभएको छ ।’’
कांग्रेस नेता थापाले विधेयक पास गर्न सरकारभन्दा पनि बढी हतार सभामुख महरालाई भएको दाबी गरे । उनले शुक्रबार संसदमा भएको कारवाहीलाई दुर्भाग्यपूर्ण भनेका छन् ।
‘‘आज जे भयो सदनमा दुर्भाग्यपूर्ण भयो । दुई तिहाई भएको सरकारले आज कसका विरुद्धमा विधेयक पारित गर्यो ? कि नेपालमा चिकित्सा शिक्षा बलियो हुनुपर्छ, चिकित्सा शिक्षामा पूर्णरुपमा सरकारको जिम्मेवारी हुनुपर्छ भन्ने मागलाई कुल्च्यो ।’’