site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकतान्त्रिक विचारको चुनौती सकियो ?

लोकतन्त्रको मुख्य सौन्दर्य बहुलता र वैचारिक स्वतन्त्रता नै हो । यही स्वतन्त्रताको उपयोग गरेर नागरिकले राज्यसँग आफ्नो असन्तुष्टि र आवश्यकताको आग्रह गर्नसक्छ, पाउँछ । सरकारसँगको गुनासो, आलोचना र सुझाव दिन पनि नागरिक समाजले वैचारिक स्वतन्त्रतालाई नै माध्यमका रूपमा प्रयोग गर्ने हो । विचारको स्रोत वैचारिक बहुलतामा हुन्छ । सम्पुष्ट ज्ञान विचार संग्रहको प्रत्युत्पादन मानिन्छ । संगठित प्रतिरोध भन्नोस् वा संगठन विचारसँगको आबद्धता हो । 

विचार गरौँ, मानव विचारहीनताको समूह हुन्थ्यो भने दुनियाँ अहिलेको भन्दा निष्क्रिय वा अनुत्पादक हुनसक्थ्यो । उसको प्रगति विचार निःसृत परिणाम हो । विचार नै विकास, समृद्धि र सभ्यताको सर्जक हो । विकास र विचार अन्योन्याश्रित छन् । भौतिक वा आध्यात्मिक विकासलाई गन्तव्य दिने उज्यालो विचारजन्य ज्ञान नै हो । 

भाषाहीन र विचारविहीन अवस्थामा आजको मानव समाजको कल्पना सम्भव छैन । विचार कुनै एक क्षेत्र र विषयमा मात्र केन्द्रित हुँदैन । यो बहुआयामिक वा असीमित धारहरूमा प्रवाहित हुन्छ । तर, यहाँ विचार निर्देशित राजनीतिको कुरा राख्न खोजिएको हो  ।

विश्वव्यापीरूपमा विचार कमजोर र व्यवहार प्राधान्य हुँदैगएको राजनीतिले भविष्यमा सिर्जना गर्ने राज्य सञ्चालन विधिमा बस्ने, बसाउने स्थितिको आकलन वर्तमानसँग तुलना गरी गर्न खोजिएको हो । विचार निर्देशित हुने राजनीतिको स्वाभाविक प्रक्रियामाथि अन्य विषय विचारको प्रभुत्व कायम भई थिचोमिचो हुने अवस्थाको चित्रण हो । 

अहिलेको विश्व राजनीति शक्तिस्पर्धा र व्यापारिक अर्थलाभको चरणबाट गुजिँ्रदैछ । नब्बेको दशकसम्म आइपुग्दा पहिरो गएको शीतयुद्धको बेला पनि शक्तिस्पर्धा थियो । तर, त्यसलाई राजनीतिक विचारले प्राप्त गर्न खोजिएको देखिन्छ । अहिले त्यो स्पर्धा अर्थलाभसँग बढी गाँसिन पुगेको छ । यस कारण विचारभन्दा फाइदाजनक व्यावहारिक अर्थात् व्यापारिक बाटो विश्वमञ्चमा स्थापित हुँदैछ । व्यवहार विचारजन्य हुन्छ तर अहिलेको राजनीति आदर्श(दर्शन)हीन, बढी लाभप्रद व्यवहारबाट निर्देशित छ । राजनीति विचार र व्यवहारको सन्तुलन वा समन्वय हो । तर, यही सन्तुलन गुम्दै गएको छ ।  

शीतयुद्धको नायक अमेरिका र तत्कालीन सोभियत संघ आफ्ना राजनीतिक सहयात्रीको संख्या बढाएर शक्तिको उचाइ हासिल गर्न उद्यत थिए । सोभियत रुस संरक्षित वार्सा सन्धि संगठन र अमेरिकी धुरी नाटोको मूलभूत दुई केन्द्रमा राजनीतिक विचारको संग्रह र शक्तिको सञ्चय थियो । यही विषयमा विश्व बाँडिएको देखिन्थ्यो । पछि, अर्को असंलग्न भनिएको समूह पनि जन्मियो तर त्यसको प्रभाव जेजस्तो रहे पनि यसमा आबद्ध अधिकजसो देश भित्रभित्रै तिनै दुई धुरीसँग कर्के, फर्केकै थिए । असंलग्न आन्दोलनलाई विचार आन्दोलनभन्दा पनि शीतयुद्धका मियो राष्ट्रबाट अलग रहेको देखाउने र विषय (इस्यु) हेरेर पक्ष विपक्ष बन्ने मान्यतामा आधारित गर्न खोजिएको हो । भलै आर्थिक(सहयोग) र तटस्थताको कुरा गरिन्थ्यो ।  

अमेरिका लोकतान्त्रिक आदर्शको समाज निर्माणमा वा तिनलाई सहयोग गर्ने मनसाय राख्थ्यो । विचार स्वतन्त्रताको पक्षपोषण गथ्र्यो । सोभियत रुस कम्युनिस्ट एकदलीय वा वर्गीय अधिनायकवादी विश्वसत्ता देख्न चाहन्थ्यो । ऊ कम्युनिस्टबाहेकको विचार निषेध राजनीतिको प्रतिनिधित्व गथ्र्यो । यस्ता दुई राजनीतिक अवधारणामा शक्ति आर्जन गर्ने होड नै शीतयुद्धको प्रत्यक्ष कारक थियो । तर, आएको आर्थिक खुलापनले कम्युनिस्ट वर्गीय अधिनायकवादलाई त ढलायो नै प्रजातान्त्रिक चिन्तनको वैचारिक सबलतालाई पनि गलायो । 

कम्युनिस्ट शासित रुस अहिले त्यसभन्दा भिन्न तर अपेक्षाकृत खुकुलो बाटोमा छ । यस्तै चीन राजनीतिमा कम्युनिस्ट र अर्थनीतिमा खुला र पुँजीवादी बाटोमा आएको छ । प्रजातान्त्रिक मानिने पश्चिमा र युरोपेली मुलुकमा पनि राजनीतिक विचारको गुञ्जन कमजोर र आर्थिक विकासको माग अधिक छ । एसियाली देश पनि यही बाटोमा छन् । यसको अर्थ, के विश्वमा प्रजातान्त्रिक आन्दोलन (विचार)ले पूर्णता पाएको हो ? वा अर्थलगायत नीतिले विचारलाई विश्रामतिर पठाए कि ? प्रजातान्त्रिक विचारमाथिको चुनौती खत्तम भएको हो ? 

कुनैबेला अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरले विश्वको लागि आधारभूत मानवअधिकारको सर्त प्रस्तुत गर्थे । अहिले, डोनाल्ड ट्रम्पको अमेरिका ‘अमेरिका फस्र्ट’को उल्झनमा छ, कथित व्यापारयुद्धमा छ । दुनियालाई विचारले भन्दा खुला दम्भले ठेगान लगाउने मनःस्थितिमा छ । विश्व व्यवस्थालाई विचारले प्रभावित पार्ने परम्परा उछिन्दै अमेरिका र चीन व्यापारले प्रभावित गर्ने होडमा छन् । 

विश्वमा विचार स्वतन्त्रताको राजनीतिलाई बेलायत, अमेरिका र आबद्ध मुलुकहरूले नै अघि बढाएका हुन् । एसियामा जापान र भारत यस मामलामा अघि देखिन्थे । अहिले यी सबै देशमा विकासको होडमा विचार दमित छ । यही कारण जहाँतहीं भ्रष्टता, खासगरी नैतिक भ्रष्टताको पारो पनि माथि चढ्दै छ । 

भारत जहाँ महात्मा गान्धीले नेतृत्व गरेको समयले विचारलाई स्थापित गर्यो । चार महिनापछि लोकसभा सदस्यका लागि चुनावमा जाने तयारीमा रहेको विश्वको ठूलो लोकतन्त्र भनिने अहिलेको भारतमा विचारको प्रचार शून्यप्रायः छ । त्यहाँको सञ्चारमाध्यममा सुनिने आरोप, आक्षेप र असहिष्णुता सायद विचारहीनताकै कारण हो ।  

भारतको निर्वाचन आयोगले मिति तोक्न बाँकी भए पनि मे महिनामा हुने भनिएको लोकसभा चुनावलाई प्रभावित पार्न सुरु भएको भारतीय नेताहरूको तुफानी प्रचारवाजीमा भ्रष्टाचार, परिवारवाद, हिन्दुत्व, अयोध्या राममन्दिर, आरक्षण, किसानको ऋण माफी, धार्मिक वा जातजाति मत आकर्षित गर्नेजस्ता विषयबाहेक राजनीतिक आदर्श र विचारको झिनो प्रस्तुति पनि सुनिदैन । अहिले भारतको सबैभन्दा प्रभावशाली भनिएका प्रधानमन्त्री नरेन्द्र मोदी पनि विचारभन्दा आक्रोश बोलेकै सुनिन्छन् ।  

यस्तै आन्तरिक कुराले अहिलेको राजनीतिलाई गाँजेको छ । नेपालको सन्दर्भमा प्रजातान्त्रिक आधुनिक विचारको संगठित नेतृत्व नेपाली कांग्रेसले गरेको हो । अर्थात्, उसले विचार स्वतन्त्रताको पक्षपोषण गर्छ । यस कारण नेपाली राजनीतिलाई विचार र व्यवहारको सन्तुलनमा ल्याउने र समन्वयमा राख्ने कोसिस नेपाली कांग्रेसले गरोस् । बहुल राजनीतिक विचारलाई निषेध गर्ने कम्युनिस्टहरु विचार आयामका प्रतिस्पर्धी होइनन्, एकल प्रभुत्ववाला हुन् । यस कारण राजनीतिक विचारको बहुलताका सन्दर्भमा ती असान्दर्भिक छन् । 

जतासुकै विकासको नाराले विचारलाई छेकेको देखिँदैछ । विचार कठिन यात्रा हो  । विकासको नारा सजिलो छ । केही भौतिक संरचना देखाएर पनि विकासको गफ गर्न सकिन्छ । आकाशको फल, विकासको गफ हुनसक्छ । तर विकास भौतिक मात्र हुँदैन । वैचारिक विकासविनाको विकास विकृतिको कारक पनि हुनसक्छ । यही कारण होला अहिले हाम्रो देशमा दिनदिनै भ्रष्टाचारको घटना सार्वजनिक हुन्छन् र प्रायः ती सत्ताको बलमा साम्य पारिन थालेका छन् । विचारको राजनीतिले नैतिक र स्वच्छ मापदण्डको आग्रह राख्छ र पालना पनि गर्छ ।

विकास र समृद्धि विचारसँगै जोडिएर आउने प्राप्ति हुन् । समृद्धिको अनुभूति विचारले गर्ने र दिने हो । त्यसो हुन्थेन भने करोडौंमाथि अर्बौं भ्रष्टाचार गरिने थिएन । नीतिगत भ्रष्टता पनि कमै हुन्थ्यो । विचारलाई अलग्याएर विकास, समृद्धि र सुखको नारा सायदै सार्थक होला । 

नेपाली राजनीतिमा यतिबेला विकासकै नारा गुञ्जायमान छ । प्रधानमन्त्री केपी ओली पनि आफ्नो राजनीतिलाई विकाससँग जोड्ने प्रयत्नमा छन् । कांग्रेस पनि विकास प्रयासमा सहायक हुन प्रतिबद्ध छ । विकास स्वाभाविक माग हो । तर, विचारहीन विकास सम्भव पनि छैन र भए त्यसले समृद्धि वा सभ्यताको संस्कार दिँदैन भन्ने घटना हाम्रै दैनन्दिनले छर्लंग पारेकै छ ।        
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro