site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेविसंघ पदाधिकारीको राजीनामा विधानविपरीत, महाधिवेशनको जिम्मेवारीबाट पछाडि नहट्न अध्यक्षको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पदाधिकारीले दिएको राजीनामा विधानविपरीत देखिएको छ । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको आठ जना पदाधिकारीको राजीनामा नेविसंघको विधानविपरीत देखिएको हो ।  

दुईपटक समयावधि थपिए पनि महाधिवेशन गर्न अध्यक्ष महर इच्छुक नदेखिएको दाबी गर्दै उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनीले शुक्रबार बिहान पार्टी सभापति देउवालाई राजीनामापत्र बुझाएका थिए । सभापति देउवालाई बुझाइएको राजीनामापत्रमा सहमहामन्त्री चलाउनेको भने नाममात्र छ, हस्ताक्षर छैन । 

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उपाध्यक्ष शाहीले बाह्रखरीलाई बताएका छन् । ‘‘हाम्रो समायावधि भदौ २ मै सकिएको थियो । तर विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन लाग्यौं,’’ उनले भने, ‘‘त्यो अवधिमा अधिवेशन हुन सकेन, पार्टीले फेरि २ महिना थपेपछि घोषणा गरिएको समयमा अधिवशेन हुन नसक्ने देखिएपछि हामीले संगठनलाई अनिर्णयको बन्दी बनाउन हुँदैन भनेर राजीनामा दिएका हौं ।’’

नेविसंघको विधानमा केन्द्रीय कार्यसमितिबाट राजीनामा दिन चाहने अध्यक्षबाहेकका पदाधिकारी र सदस्यहरुले कारण खुलाएर अध्यक्षसमक्ष राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । विधानले अध्यक्षले पार्टीको सहमतिमा राजीनामा स्वीकृत गर्न सक्ने अधिकार प्रत्याभूत गरेको छ । 

‘‘केन्द्रीय कार्यसमितिबाट राजीनामा दिन चाहने अन्य पदाधिकारी एवं सदस्यहरुले कारण खुलाई अध्यक्षसमक्ष राजीनामा दिनुपर्ने छ,’’ नेविसंघको विधानमा राजीनामाबारे उल्लेख गरिएको धारामा भनिएको छ, ‘‘उक्त राजीनामा नेपाली कांग्रेस केन्द्रको सहमतिमा अध्यक्षले स्वीकार गर्न सक्छन् । त्यसरी रिक्त हुन आएको पदमा यस विधानबमोजिम रिक्त स्थानको पदपूर्ति गरिने छ ।’’ 

नेविसंघ अध्यक्ष महरले पनि राजीनामाको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘‘मलाई राजीनामाको विषयमा केही थाहा छैन र मलाई कसैले केही भन्नुभएको पनि छैन,’’ उनले बाह्रखरीसँग भने, ‘‘अब दिएकै हो भने पार्टीले मकहाँ राजीनामापत्र पठाउला । मकहाँ राजीनामा आउनैपर्छ ।’’

राजीनामापत्र बुझाएका पदाधिकारीहरुलाई महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीबाट पछाडि नहट्न आग्रह गर्दै अध्यक्ष महरले आशन्न स्ववियू निर्वाचनलाई मध्यनजर गरेर अहिले देखिएको समस्यालाई पार्टीले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।   

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो । तर, महाधिवेशन घोषणा गरेको मिति आइसक्दा पनि नेविसंघले मात्र १४ जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छ । दुई जिल्लामा अधिवेशन उद्घाटन सम्पन्न भए पनि आन्तरिक विवादका कारण नेतृत्व चयन हुन सकेको छैन । महर नेतृत्वको कार्यसमितिको समयावधि माघ २ गते सकिँदैछ ।     

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro