site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुद्धले सरकारलाई बुझायो ‘महत्वपूर्ण उड्डयन मुद्दा’ प्रतिवेदन

काठमाडौं । मुलुकका प्रमुख आन्तरिक वायुसेवा कम्पनीमध्ये एक बुद्ध एयरले कुनै ठूलो हवाई दुर्घटना हुनुभन्दा अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘महत्वपूर्ण उड्डयन मुद्दा’ सम्बोधन गर्न आग्रह गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ ।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सम्बोधन गरी लेखेको पत्रसहितको १६ पृष्ठ लामो प्रतिवेदनको बोधार्थ मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पनि दिइएको छ ।

“उड्डयन क्षेत्रको एक प्रमुख साझेदार भएका कारण हामीले पत्ता लगाएका र अनुभव गरेका विमानस्थल उड्डयन सुरक्षासम्बन्धी विषयबारे सरकारलाई जानकारी दिनु हाम्रो चासो र कर्तव्य हो,” बुद्धका प्रबन्ध निर्देशक बस्नेतले लेखेको उक्त पत्रमा उल्लेख छ, “विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले पनि हाम्रो विमानस्थलका उड्डयन सुरक्षाबारे सुझाव दिएका छन् तर, हामी त्यस्ता सुरक्षा अनुभव गर्ने पहिलो पक्ष भएका कारण प्रतिवेदन नै तयार गरेका बुझाएका हौं ।”

बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा मुलुकका अन्य विमानस्थलबाट गरी दैनिक करिब ९० उडान–अवतरण गर्दै आइरहेको र आगामी दुई महिनाभित्र दुईथान जहाज थपेर उडान संख्या १ सयभन्दा बढी हुने उल्लेख गर्दै विमानस्थलमा प्रमुख समस्या अविलम्ब सम्बोधन गर्नुपर्ने तथा उड्डयन नियामक निकाय र सञ्चालक निकाय छुट्टाछुट्टै रूपमा काम गर्न थालेपछि बाँकी समस्या समय क्रमसँगै सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ । 

“त्यसकारण विमानस्थलमा व्याप्त उड्डयन सुरक्षासम्बन्धी समस्या कुनै एउटा ठूलो दुर्घटना हुनुअघि नै सम्बोधन गरिनुपर्छ, होइन भने यसले पर्यटन उद्योगलाई स्थिर बनाउने निश्चित छ,” बुद्धले लेखेको पत्रमा छ ।

बुद्धले बुझाएको प्रतिवेदनमा बर्सेनि बढिरहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान संख्याका कारण ‘एयर ट्राफिक द्वन्द्व’ पनि बढेको र जसका कारण चालकदलले एयर ट्राफिक सेवाबारे सयौं गुनासो गरेको उल्लेख छ । सन् २०१६ मा त्रिभुवन विमानस्थलबाट १ लाख २४ हजार १ सय ६१ आन्तरिक तथा २७ हजार १ सय १८ अन्तर्राष्ट्रिय उडान–अवतरण भएका थिए । एक वर्षपछि २०१७ मा १ लाख ६२ हजार १ सय ४५ आन्तरिक र ३३ हजार ३ सय ६२ अन्तर्राष्ट्रि उडान–अवतरण भएका थिए । यसमा ३७ हजार ९ सय ८४ आन्तरिक र ६ हजार २ सय ४४ अन्तर्राष्ट्रिय उडान–अवतरण थपिएका थिए ।

प्रतिवेदनअनुसार हाल त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ साना र ठूला जहाज गरी ९ वटा पार्किङ वे, आन्तरिकतर्फ १७ साना जहाज र हेलिकोप्टरतर्फ १३ वटा राख्न मिल्छ । आन्तरिक पार्किङमा एउटा जहाजलाई ३० मिटर चौडाइको क्षेत्रफल उपलब्ध गराइएको छ । हाल ९ आन्तरिक वायुसेवाले ११ किसिमका जहाज सञ्चालन गरिरहेका छन् । तीमध्ये बुद्ध, यती एयरलाइन्स र नेपाल वायुसेवा निगमका जहाज मर्मत गर्न आफ्नै ‘ह्यांगर’ छन् । 

“विमानस्थलका धावनमार्ग, ट्याक्सी वे र एप्रोन पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैनन् । पार्किङमा एक जहाजबाट अर्को जहाजको दुरी असाध्यै कम भएका कारण बेलाबेला एकआपरमा पखेटा ठोक्किएर दुर्घटना हुने गरेका छन्,” प्रतिवेदनमा छ, “बुद्धका तीनवटा जहाजमा अर्को कम्पनीका जहाज ठोक्किइसकेका छन्, जसबाट हामीलाई २५ लाख रुपैयाँभन्दा बढीको क्षति भइसकेको छ ।”

एयर ट्राफिक चापका कारण एयर ट्राफिक कन्ट्रोलर (एटीसी) मा थप चाप र तोकिएको समयमा उडान नहुनेदेखि भीडभाडयुक्त पार्किङ बेका कारण इन्जिन चलिरहेको जहाजका नजिकैबाट यात्रु आवागमन हुँदा थप जोखिम रहेको तथा नजिक–नजिक जहाज र उपकरण रहने कारण थप जोखिम बढिरहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनका अनुसार हाल बुद्धसँग साना २, मध्यम ३ र ठूला ६, नेपाल वायुसेवा निगमसँग साना ६ र ठूला २, सौर्य एयरलाइन्ससँग मध्यम २, श्री एयरलाइन्ससँग मध्यम २ र ठूलो १, सिम्रिक एयरलाइन्ससँग साना २, सीता एयरसँग साना ४, तारा एयरसँग साना ७ तथा यती एयरलाइन्ससँग मध्यम ६ र ठूला २ गरी कूल ४९ जहाज छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro