site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इतिहासमै पहिलो पटक भित्रिए १० लाख बढी पर्यटक

काठमाडौं । गएको ११ महिनामा १० लाखभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यति संख्या मुलुकको पर्यटक आगमन इतिहासमै पहिलो पटक पुगेको हो ।

नेपाल पर्यटन बोर्डले बिहीबार जनाएअनुसार हवाई र स्थल मार्गबाट सन् २०१८ को जनवरीदेखि नोभेम्बरभित्र १० लाख १ हजार ९ सय ३० पर्यटक नेपाल आएका छन् । विगतमा एक वर्षसम्म पर्यटक गणना गर्दा पनि १० लाख पुग्न सकेको थिएन । तर, यो वर्ष ११ महिनामै १० लाख नाघेपछि सरकारमात्र नभई पर्यटन व्यवसायी पनि उत्साही छन् ।

“एघार महिनामै विदेशी पर्यटक संख्या बढेर १० लाख नाघ्नु भनेको समग्र पर्यटन उद्योगका लागि असाध्यै खुसीको खबर हो,” एस होटल्स एन्ड रिसोर्ट्सका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले बिहीबार बाह्रखरीसँग भने, “यही वृद्धि दरले गति लिँदै गयो भने सरकारले घोषणा गरेको २० लाख पर्यटक ल्याउने ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल हुनेमा शंका छैन ।” 
नेपाल आएका र आउने योजना बनाएका संसारभरका पर्यटकलाई सकेसम्म बढी मनोरञ्जन दिन र यहाँ बिताउने दिन बढाउन पर्याप्त पूर्वाधार हुनुपर्ने शाक्यको भनाइ छ ।  “तर, पर्यटकको संख्या बढेर रमाइहाल्ने अवस्था भने छैन,” १० लाख पर्यटक ल्याउने लक्ष्यसहित सन् २०११ मा सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०११’ का राष्ट्रिय कार्यक्रम संयोजकसमेत रहेका शाक्यले भने, “पहिलो कुरो, मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सुधार गर्न बाँकी छ । हवाई मार्गबाट नेपाल आइपुग्ने पर्यटकले पहिलो पाइला राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार नगरेसम्म पर्यटकमाझ नेपालको छवि सकारात्मक हुँदैन ।”

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले एक वर्ष नपुग्दै विदेशी पर्यटक संख्या १० लाख नाघ्नुलाई कोशेढुंगाका रूपमा लिएको प्रतिक्रिया दिए । “यो संख्याबाट हामीले के बुझ्नुपर्छ भने नेपाल संसारभरका पर्यटकका लागि एउटा सुरक्षित र सुन्दर अनि रोजाइको गन्तव्य हो,” जोशीले भने, “यो सफलताबाट उत्साह थपिएकै छ तर हौसिएर बाटो बिराउने काम गर्नु हुँदैन, यही वा योभन्दा धेरै परिमाणको वृद्धि दर लक्ष्य गरी अगाडि बढ्यो भने नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य अवश्य पूरा हुनेछ ।” 

पर्यटन बोर्डका अनुसार गत ११ महिनामा आएका पर्यटकको संख्या २०१७ को ११ महिनाको दाँजोमा १६ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । ११ महिनामा छिमेकी भारतबाट १ लाख ७८ हजार १ सय ३० तथा चीनबाट १ लाख ३४ हजार ३ सय ६२ जना आएका थिए । 

भारतीय पर्यटक अघिल्लो वर्षको ११ महिनाको दाँजोमा २३ दशमलव ४ प्रतिशत र चिनियाँ पर्यटक ४३ दशमलव ५ प्रतिशतको उल्लेख्य दरले बढेका छन् । गत वर्ष सोही अवधिमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ र चीनबाट ९३ हजार ६ सय ५४ आएका थिए । सरकार र पर्यटन प्रवद्र्धनको जिम्मेवारी बोकेको पर्यटन बोर्डले पनि भारत र चीनलाई पहिलो प्राथमिकतामा राखेर प्रवद्र्धनका काम गर्दै आएको छ । 

त्यसैगरी गत ११ महिनामा अर्का प्रमुख पर्यटन बजार अमेरिकाबाट ८२ हजार ८ सय ७० र बेलायतबाट ५७ हजार ५ सय ५५ नेपाल आएका थिए । अमेरिकी साढे १२ प्रतिशतले तथा बेलायती १३ दशमलव ६ प्रतिशतले बढेका हुन् । एसियाको प्रमुख गन्तव्य जापानबाट भने साढे ५ प्रतिशतले बढेर २५ हजार ९ सय ६ आइपुगेका छन् ।

बोर्डका अनुसार ११ महिनामा दक्षिण एसियाबाट साढे १९ प्रतिशतले बढेर २ लाख ६० हजार १ सय २४, अन्य एसियाली देशबाट २२ दशमलव ३ प्रतिशतले बढेर २ लाख ५९ हजार ५ सय ४१, युरोपबाट २० दशमलव ३ प्रतिशतले वृद्धि भई २ लाख २४ हजार २ सय ६ तथा अन्य विभिन्न देशबाट ४ दशमलव ६ प्रतिशतले बढेर १ लाख २१ हजार १ सय ९० पर्यटक नेपाल आइपुगेका छन् । 

तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro