राष्ट्रिय राजनीतिबाट खुम्चिएर तराईभूमि क्षेत्रीयता बुझिने खालको सोचमा पुगेको भान हुँदैछ । यसलाई पहाडी सोच पनि खुम्चिएकै अर्थमा बुझ्नुपर्ने हुन्छ । पहिले खासगरी तराई भनेर चिनिने नेपालको दक्षिणी समथल क्षेत्रमाथि त्यहाँ भएको आन्दोलनसँगै ‘मधेस’ नामको पहिचान थपिएको छ । र, अब तराईमधेस भनेर यस क्षेत्रलाई सम्बोधन गर्ने परम्परा बनिसकेको छ । मधेस कहाँदेखि कहाँसम्म र किन यो अलग्गै चर्चाको विषय हो तर यी पंक्तिमा भूमि होइन भाव खुम्चिएको विषय उठान गरिएको छ ।
नाममा विस्तार भएको छ तर राष्ट्रिय भावधाराबाट पहाड,तराई खुम्चिएको आभाष हुदैछ । यसो हुनुको विविध कारण छन् । पहाडी भावना र मधेसी भावनालाई एकीकृत राष्ट्रिय भावमा कायम राख्न नसक्ने वा नचाहने नेतृत्व र कारकहरु विभेद र विभाजित जस्तो लाग्ने मानसिकताका कारण हुन् ।
हाम्रो सन्दर्भमा तराई, पहाड र हिमाली क्षेत्र नेपालभित्रको भूखण्डको अवस्थितिमात्र हो । देश नेपाल नै हो । यो भावधार अहिलेभन्दा पहिले धेरै बलवान् थियो । एकीकृत रहेको पाइन्थ्यो । अहिलेभित्र कतै गुम्सिएको तर देखिने गरी पृथक, पृथक लाग्ने अवस्था बनाइएको छ । यसबीचको संकीर्ण राजनीतिले आपसी शंका उत्पन्न गरेको प्रस्टै छ ।
तराईमधेसबाट राष्ट्रिय राजनीतिलाई भरोसा दिनसक्ने नेतृत्वको अभाव स्पष्टै देखिएको छ भने यतिबेला पहाडी नेतृत्व पनि तराईमधेसका लागि भरपर्दो गरी स्थापित भएको छैन । इतिहास यसभन्दा भिन्न थियो । तराईबाट राजनीतिक नेतृत्व गरेका नेपाली कांग्रेसका नेता महेन्द्रनायण निधिले राष्ट्रिय विश्वास आर्जन गर्नुभएको थियो । दुर्गानन्द झा, रामनायण मिश्र, अरविन्द ठाकुरलगायत थुप्रैले तराईबाट नेपाली राजनीति गरे । अर्थात्, उनीहरुले पूरै नेपाललाई प्रभावित पारे । कुनै दिन नेपाली कांग्रेसको राजनीति गरेका गजेन्द्रनारायण सिंह पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली थिए, पछि खुम्चिए पनि । अहिले त ती राष्ट्रिय नेता पनि तराईमधेसका पात्रमात्र थिएजस्तो भान पार्ने कार्य भइरहेको छ । पहाड, तराई दुवैतिरका नेताको अहिलेको शैली त्यस्तै संकीर्ण छ ।
तराईमधेस वा पहाड भूमि हो । तर पहिचान नलमा हेर्ने गरिएको छ, छाला र रंगमा छुट्याउने काम भएको छ । मानाैं मान्छे ऊ–उसैको शरीरमा तराई, पहाड टाँसिएको छ । प्रकृतिमाथि विकृति थप्ने राजनीतिक अन्याय गरिएको छ । पहाडमा घरजम गरेर वर्षौं बसेको तराईमूलको नेपाली ऊ मधेसी नै कहलिएको छ । यस्तै पुस्तौं बिताएर पनि पहाडी परिवारले मधेसको पहिचान पाउन मुस्किल परेको छ । यो ‘मूल’भन्दा पनि विभक्त सोच भएको वा बनाइएको छ ।
विराटनगरका कोइराला हुन् कि वीरगञ्जका अमात्यहरु कैयौं उदाहरण छन् । तर, उनीहरुको थरले तराई ग्रहण गर्न पाएको छैन । दोलखामा बस्ने रामजीवन सिंह सधैँ मधेसी नै ठानिए । पहाडको शिक्षा विकासमा मधेसका शिक्षकले दिएको योगदान भुल्न हुने होइन । कतिपय पेसा व्यवसाय गर्दै पहाडमा नै घरजम गर्न पुगेका मधेसीले पहाडी बन्ने धोको आफ्नो भावी पुस्ताका लागि सुम्पिनुपरेको छ । पहाडीहरुले तराईमधेसको विकासमा दिएको योगदान त्यहाँको पुस्तालाई थाहै नदिई बिलाउने भएको छ ।
यस्तो संकीर्ण संकुचन ल्याउनुको बढी दोषी तराईमधेसको वर्तमान नेतृत्व हो । तराई केन्द्रित गरी बनाइएका र चलाइएका दलका नेतालाई पहाडी उबडखाबडको राजनीति कठिन लाग्यो । प्रतिस्पर्धा चर्को भयो । तराईमधेसको भावनालाई एकांगी बनाएर सत्ताको यात्रा यिनीहरुका लागि सजिलो भयो । यसबीच पहाडी खासगरी कम्युनिस्ट नेताहरुले तराईलाई स्वार्थमा प्रयोग गरे, उचाले । तर, उनीहरुले तराईको भावनालाई नेपाली भावना मानेर बुझ्न र आवश्यक सम्मान दिन सकेनन् पर्गल्ने शैली अपनाए ।
नेपाली भूबनोटप्रति समान उदार वा हिमाल, पहाड, तराई सबै नेपाल र नेपाली भन्ने मान्यताको नेपाली काग्रेसले समेत तराईका नेताहरुले सजिलो राजनीतिका लागि चलाएको खण्डीकृत सोचलाई चिर्न र हिजोजस्तै नेतृत्व दिन सकेन । फलतः भावनात्मक तहमा तराई खुम्चियो, पहाडलाई एक्ल्याइयो । तराई केन्द्रित गरी चर्काइएको क्षेत्रीय सोच र रंगभेद अनि पहाडी कम्युनिस्टले तराईलाई एक्ल्याएर दिएको राष्ट्रवादको नारा दुवै क्षेत्रीयतावादी वा खण्डवादी (भूखण्ड) षड्यन्त्र थिए । दुई खण्डवादीको कर्कश ध्वनिवीच कांग्रेसको समानभाव प्रभावोत्पाद भएन । परिणाम कांग्रेस हार्यो ।
उदाहरणकै लागि, भर्खरकै प्रसंग भन्दा हुन्छ – प्रथम राष्ट्रपति डा. रामवरण यादवले भूअवस्थितिको पक्षविपक्ष होइन सिंगो नेपाल र राष्ट्रियताको धारणा राख्दा संकुचित मधेसीले पहाडीको पक्षपोषण गरेको ठाने । यस्तै संकुचित पहाडीले मधेसीको भाषा बोलेको माने । तर, उनको भनाइमा सग्लो राष्ट्रको पक्ष रहेको बुझेनन् वा संकीर्ण राजनीतिका लागि नबुझेको जस्तो गरे ।
प्रजातान्त्रिक राजनीतिको सुरुवातमा नै महामना बीपी कोइरालाले तराईको संवेदनशीलता र भावनालाई बुझ्न एवं समेट्न भन्नुभएको हो । तराईमधेसबाट अहिलेसम्म धेरै पहाडी भनिनेहरुले राजनीति गरेका छन् र पटकपटक निर्वाचन पनि जितेका छन् । तर, मधेसी नेताले पहाडबाट यस्तो अवसर लिनसकेका छैनन् । यही अवस्थालाई तराईका कतिपय नेताले पहाडीलाई मधेसीले निर्वाचन जिताएका छन् तर पहाडबाट कुनै मधेसीलाई कहाँ जिताएका छन् ? भन्ने प्रश्न गर्छन् । तर, पहाडी नेताले मधेससँग जोडिएर राजनीति गरे, त्यहाँका जनतालाई रिझाए, उम्मेदवारी दिने हिम्मत गरे र चुनाव जिते । मधेसी नेताले चाहिँ कुनै पहाडी भूभागलाई आफ्नो राजनीतिक कर्मथलो बनाएको पाइँदैन । अहिले खुम्चिने क्रममा वा पहाडी मधेसी भन्ने खण्डित सोच बढाइँदा दुवैतिर दुवैको राजनीतिक कर्म थप टुक्रिँदै छ ।
राजनीतिमा मधेसीले पहाडलाई सशरीर कर्मथलो बनाएनन् । तर शिक्षा, व्यापार अरु व्यवसाय वा प्राविधिक विषयमा चाहिँ पहाडमा पनि झन्डै समान हैसियतको बराबरी मधेसी कर्मयोगीले बनाएका छन् । पहाडका ठूलासाना सहरबजारमा बाक्लै उपस्थिति मधेसका नेपालीको छ । त्यतिमात्रै होइन, गाउँघरमा समेत उनीहरुको उपस्थिति सम्मानजनक छ । तर, मधेसमा यस्तो सहकार्यको अवस्था बिथोलिएको छ ।
केही वर्षअघिसम्म मधेसका भित्री भागमा पनि पहाडीको बसोबास सम्मानजनक थियो । तर, आन्दोलनका नाममा प्रतिशोधपूर्ण तरिकाले त्यहाँबाट उनीहरुलाई धपाइयो, विस्थापित गरियो । त्यो घाउ वा खाली ठाउँ पुरिएको छैन र पुरिन सायद सजिलो पनि रहेन । सांकृतिक एकता र नेपाली भाइचारा त्यसरी खण्डित गरियो । तराई खुम्चियो । क्षुद्र राजनीतिक स्वार्थका लागि खुम्च्याइयो । यस मामलामा पहाडको सचेत जमात जोगिएको छ । मधेसका नेपाली बन्धु यहाँ दाजुभाइ सरह छन् । महेन्द्र राजमार्गको उत्तरी तराईमा भने पहाडी मूलका बासिन्दा अझै छन् । तिनले तराईका भनिने राजनीतिकर्मीलाई चुनावमा मत दिएर जिताउने गरेकै छन् ।
तराईमधेसको जनमत लोकतान्त्रिक हो । कुनै पनि प्रकारको अधिनायकवादी वा तानाशाही मान्यता तराईमधेसमा छैन । तराईका नागरिकलाई कम्युनिस्ट अधिनायक पनि स्वीकार्य छैन । त्यहाँको प्रजातान्त्रिक वा लोकतान्त्रिक जनमतलाई तराई केन्द्रित दलहरुले राजनीतिक सहजता र सरकारी सत्ताको पहुँचका लागि भजाउन खोजे । यो मौका कम्युनिस्टले पनि छोपे । तराईको भावनालाई पृथकतावादी आरोपित गरेर पहाडी मत कम्युनिस्टले सोहोरे । नाम थपिएर लामो भए पनि तराई खुम्चियो, तराईमात्रै के खुम्चियो र ? नेपाली भावनामा गहिरो चिरा पर्यो, पारियो ।
यस्तो कटु स्थितिको आन्तरिक कारक अर्थात् तराई केन्द्रित दल र कम्युनिस्टहरुले पहाड र तराईमधेसबीच उत्पन्न गरेको वैमनस्यको उत्कर्ष थामिदै गएको छ । सुधार हुँदैछ, हुनैपर्छ । सबै क्षेत्रका नेपालीले तथ्यहरु बुझ्दै गर्दा हार्दिकता बढ्दै जाने निश्चित् छ । घुलमिलले नै आत्मीयता बढ्ने हो ।
दुई वर्षअघि जस्तो लाग्छ सूचना विभागले तराईमा कार्यरत पत्रकारलाई पहाडी र पहाडीलाई तराई भ्रमणमा लाने कार्यक्रम ल्यायो । विश्लेषक चन्द्र किशोरजीको टोलीले म्याग्दी जिल्लातिर भ्रमण पनि गर्यो । तर, यसले निरन्तरता पाएन । चन्द्र किशोरले अनुभव लेखेर पहाडी जीवनको कष्ट, संस्कृति र सम्भावना केलाउनु भएको थियो र यस्ता भ्रमणले देश बुझिने सकारात्मक टिप्पणी गर्नुभएको थियो । पहाड, तराई, हिमाल जो जहाँ घुमे पनि हुन्छ । तर, पत्रकारको घुमाइले लेखाइमा व्यक्त हुने अनुभूति धेरैमा एकसाथ पुग्नसक्छ । ठ्याक्कै यस्तै नभए पनि, तराई पहाडबीचको भ्रमण कार्यक्रम बनाइँदा आन्तरिक पर्यटन त हुने नै छ । साथै आफ्नो देशको विविधतासँग सात्क्षात्कार भइनेछ । यसरी सिर्जना गरिने सकारात्मक बुझाइ अनुभूतिजन्य र हार्दिक हुने नै भयो ।
मुलुक संघीय प्रणालीमा गएको छ । खण्डीकृत भावनालाई एकीकृत गर्न नसक्दा वा एकीकृत भावना खण्डीकृत हुँदा पृथकतावाद बढ्छ नै । संघ र प्रदेशबीच संक्रमणको वर्तमान चरणमा मुलुकका सबै नेता वा दलले संवेदनशीलता बुझेर दायित्व निर्वाह गर्नुपर्नेछ । मान्यताले नै नेपालको भूगोल र त्यसले सिर्जना गरेको विविधतालाई समान सम्मान गर्ने दल नेपाली कांग्रेस विशेष चनाखो हुनु आवश्यक छ । आफ्नो समभावको प्रभाव कांग्रेसले सबैतिर विस्तार गर्नुपर्छ सग्लो नेपालको अवधारणा । यही महिना हुने महासमिति बैठकमा कांग्रेस यस विषयमा विशेष प्रकारले प्रस्तुत होओस् ।