site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘संसारकै अतिसुन्दर बस यात्रा’ मा काठमाडौं–पोखरा बस यात्रा 

काठमाडौं । संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको ‘संसारकै अतिसुन्दर बस यात्रा’ यात्रा कथामा नेपाल परेको छ । 

लोन्ली प्लानेटले सोमबार आफ्नो अनलाइन संस्करणबाट सार्वजनिक गरेको यात्रा कथामा ६ देशका बस यात्रा वर्णन समेटिएका छन् । जसमा नेपालको राजधानी काठमाडौंबाट दोस्रो ठूलो पर्यटकीय गन्तव्य पोखरासम्मको बस यात्रालाई संसारकै अतिसुन्दर बस यात्रामध्ये एकका रूपमा वर्णन गरिएको छ । लोन्ली प्लानेटका अनुसार काठमाडौंबाट पोखरासम्मको बस यात्राको दुरी २ सय किलोमिटर (१ सय २४ माइल) छ । यति दुरी पार गर्न ८ घन्टा लाग्ने छ । 

“जसले विश्वको सर्वोच्च शिखर सगरमाथा आधारशिविरसम्मको पदयात्रा (ट्रेकिङ) लाई नेपालकै सबैभन्दा ठूलो चुनौतीका रूपमा मानेको छ, उसले एकपल्ट नेपालको राजधानी काठमाडौंदेखि पोखरासम्मको बस यात्रा गर्दा हुन्छ,” लोन्ली प्लानेटले यात्रा कथामा लेखेको छ, “पुरानो ‘हिप्पी मार्ग’ बाट सुरु हुने यो बस यात्रा यति रमाइलो छ जहाँ यात्रीले आफ्ना लगेज (झोला) बाँधेर बसको छतमा चढेपछि दुवै हातले लगेज समातिरहनुपर्छ । यो नै अवर्णनीय अनुभव हुने छ ।”

लोन्ली प्लानेटका अनुसार यो यात्राले एकातर्फ काठमाडौंको एउटा कुनो जहाँबाट रिक्सा चढेर भीड छिचोल्दै मन्दिरै मन्दिरले घेरिएको दरबार स्क्वायरमात्र समेट्ने नभई हिमालले घेरिएको र प्रसिद्ध फेवातालसँगैको लेकसाइड सहर पोखरासमेत जोडेको छ । यो यात्रा जम्मा २ सय किलोमिटरको भए पनि हिमालय क्षेत्र र त्यस वरपरका दृश्यले लठ्ठ बनाउने छ ।

“काठमाडौंबाट गुडेको बस विस्तारै पहाड उक्लिँदै जान्छ र गहिराइमा निला नदीहरू क्षीतिजसम्म बगेको हेर्दै यात्रा गर्नुजत्तिको अविष्मरणीय र स्वर्गीय आनन्द शायद अन्त पाइएला,” लोन्ली प्लानेटले उल्लेख गरेको छ, “मनमोहक दृश्यमात्र नभई तपाईंले फाट्टफुट्ट रोकिने बस बिसौनीलाई पनि धन्यवाद दिनुपर्छ जहाँ गाउँले परिवेशका रेस्टुरेन्टमा स्वादिष्ट दालभात र तरकारी खान पाइन्छ ।”

लोन्ली प्लानेटले बस यात्रा कथामा नेपालको काठमाडौं–पोखरा बस यात्रासहित मोरक्कोको ४ सय ९६ किलोमिटर लामो माराकेचदेखि एर राचिडियासम्मको बस यात्रा, अमेरिकाको ४ हजार ६ सय ७० किलोमिटर लामो न्युयोर्क–सानफ्रान्सिस्को, बेलायतको ६० किलोमिटर टेभिस्टक–डौलिस, अस्ट्रेलियाको १ सय १२ किलोमिटर जिलङ–अपोलो बे र अर्जेन्टिनाको ५ सय ८० किलोमिटर लामो रियो ग्यालेगोस–उसुएइयासम्मका यात्रा समेटेको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार लोन्ली प्लानेटको यात्रा कथामा परेपछि अन्तर्राष्ट्रिय जगतमा समग्र नेपालको छवि थप आकासिएको छ । नेपाल अझै सुरक्षित र सदाबहार गन्तव्यका रुपमा रहेको पुष्टि भएको छ । लोन्ली प्लानेटको  यो यात्रा कथालले पर्यटन बोर्डलाई विदेशका पर्यटन मेलामा भाग लिन जाँदा नेपालको प्रचार गर्न सजिलो बनाउने छ ।

संसारका ठूला टुर तथा ट्राभल अपरेटरले लोन्ली प्लानेटको यस्ता यात्रा कथा, उत्कृष्ट सूची आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने तथा प्लानेटकै वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने व्यवसायीको भनाइ छ । 

यसअघि लोन्ली प्लानेटले गत कात्तिक पहिलो साता आगामी एक वर्षका लागि घुम्नैपर्ने संसारका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौंलाई पाँचौं स्थानमा राखेको थियो । उक्त सूचीको पहिलो स्थानमा डेनमार्कको कोपेनहेगन सहर परेको थियो भने पाँचौंमा परेको काठमाडौंले मेक्सिको, सेनेगल, अमेरिका, क्रोएसिया र मोरक्ककोका सहरलाई पछाडि पारेको थियो । 

लोन्ली प्लानेटले यसअघि २०७३ चैतमा पनि ‘बेस्ट भ्यालु’ गन्तव्य सूचीको पहिलो नम्बरमा नेपाललाई राखेको थियो । “भूकम्पले ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्ग लगायत ध्वस्त भए पनि नेपालसँग ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता छ,” लोन्ली प्लानेटले त्यसबेला लेखेको थियो, “अहिले नेपाललाई आम्दानीको खाँचो छ । त्यसकारण नेपालको स्थानीय संस्कृति, जनतालाई सहयोग गर्न नेपाल भ्रमण गर्नैपर्छ जसबाट एउटा राष्ट्र पुनर्निर्माण हुनेछ र अझ बलियो भएर आउने छ ।”

बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको थियो । 

“नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,” त्यसबेलाको बेस्ट भ्यालु सूचीमा थियो, “नेपालमा विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।” 

तस्बिरः लोन्ली प्लानेट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro