site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वप्रम नेपालसहितको जम्बो टोलीले २० लाख खर्चेर गर्‍यो निजगढ विमानस्थलको हवाई निरीक्षण 

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको जम्बो टोलीले नेपाली सेनाको हेलिकोप्टरबाट बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याकको हवाई निरीक्षण गरी करिब २० लाख रुपैयाँ खर्च गरेको छ । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री नेपाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, वन मन्त्री शक्ति बस्नेत, समितिका सदस्यहरू दिव्यमणि राजभण्डारी र निर्जला राउत, समितिका कर्मचारीसहित उच्चपदस्थ सरकारी अधिकारीले सोमबार हवाई निरीक्षण गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्बद्ध स्रोतका अनुसार नेपाली सेनाको ठूलो आकारको ‘एमआई–१७’ सिरिजको एउटा हेलिकोप्टर लिएर पूर्वप्रम नेपालले नेतृत्व गरेको टोली बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।  “झन्डै दुई दर्जन अधिकारी बोकेको सेनाको एमआई–१७ हेलिकोप्टर दुई घन्टासम्म हवाई निरीक्षण गरी फर्किएको थियो,” स्रोतले सोमबार बाह्रखरीसँग भन्यो, “ठूलो हेलिकोप्टर त्यति समय उडाउँदा करिब २० लाख रुपैयाँ खर्च भएको छ ।”

स्रोतका अनुसार हेलिकोप्टर खर्च भने उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बहोर्ने छ । जम्बो टोलीमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल परियोजना प्रमुख प्रदिप अधिकारी, पूर्वपर्यटन सचिव तथा प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा, वन विभागका पूर्वमहानिर्देशक अर्जुन श्रेष्ठलगायत सहभागी थिए । देउजा उड्डयन विज्ञ र श्रेष्ठ वन विज्ञका हैसियतमा हवाई निरीक्षणमा सहभागी भएका हुन् । 

“निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, जंगल, फास्ट ट्र्याकदेखि सर्लाहीसम्म हवाई निरीक्षण गरियो,” पूर्वप्रम नेपालको संयोजकत्वमा रहेको संसदीय उपसमितिको हवाई टोलीमा सहभागी समितिका सचिव सुरजकुमार दुराले बाह्रखरीसँग भने, “अब तिहारपछि त्यस क्षेत्रको स्थलगत निरीक्षण गर्ने योजना छ ।”

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रुख काट्नपर्ने भन्दै पर्यटन मन्त्रालयले वन मन्त्रालयसँग अनुमति मागे पनि आवश्यकताभन्दा बढी संख्यामा काट्ने प्रस्तावपछि वनले हालसम्म अनुमति दिएको छैन । 

लगानी बोर्डका अनुसार निजगढमा विमानस्थल निर्माण गर्न पहिलो चरणमा ५४ करोड ५० लाख अमेरिकी डलर, दोस्रो चरणमा २ अर्ब ५५ करोड ३० लाख र तेस्रो चरणमा ३ करोड ४६ लाख ७० करोड गरी कूल ६ अर्ब ५६ करोड ५० लाख डलर (७ खर्ब ६१ अर्ब रुपैयाँ) लगानी गर्नुपर्ने छ । 

सार्वजनिक–निजी–साझेदारी वा निजी लगानीमा ‘निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण’ (बुट) मोडलमा निर्माण गर्ने तयारी सकारको छ । यसमा ३ हजार ६ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइका दुईवटा धावनमार्ग हुनेछन् जसले संसारकै सबैभन्दा ठूलो यात्रुबाहक जहाज ‘ए३८०’ लाई पनि सहज उडान–अवतरण गराउन सक्ने क्षमता राख्ने छ । हालसम्म यो विमानस्थलको सम्भाव्यता अध्ययनमात्र भएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १९:००
प्रतिक्रिया दिनुहोस्