site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समयमै होला कांग्रेस महासमिति बैठक ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न महासमिति बैठक निर्धारित मितिमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । भ्रातृ संगठन नेविसंघमा उमेर हद लागु गर्न संस्थापन पक्षले बहुमतको आड लिएपछि चुलिएको विवादका कारण महासमिति बैठक निर्धारित मितिमै सम्पन्न हुनेमा आशंका उत्पन्न भएको हो । 

केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामाथि चाडपर्वमा नअल्मलिइ छलफल चलाइएमात्रै तोकिएको मितिमा महासमिति बैठक सम्पन्न हुने कांग्रेस नेताहरुको भनाइ छ । ‘‘चियापानभन्दा अगाडि विधानको मस्यौदा तयार हुन्छ । तिहारको विदामा पनि केन्द्रीय कार्यसमितिले विधानको मस्यौदामाथि काम गर्नुपर्छ अनि मात्रै तोकिएकै मितिमा महासमिति बैठक सम्भव छ । नत्र पछाडि धकेलिन्छ,’’ विधान संशोधन मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले बाह्रखरीसँग भने ।   

तर, नेता पौडेलले भने झै आन्तरिक विवादका कारण कांग्रेसले विधानको मस्यौदालाई तिहारको समयमा केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि लैजाने सम्भावना न्यून छ । भ्रातृ संगठन नेविसंघमा उमेर हद लागु गर्ने निर्णय फिर्ता नलिएसम्म बैठक बहिष्कार गर्ने संस्थापन इतर समूहको चेतावनीका कारण केन्द्रीय कार्यसमिति बैठक बस्ने मिति तय हुन नसकेको स्रोतको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यद्यपि संस्थापन इतर समूहमै रहेका केन्द्रीय विधान संशोधन मस्यौदा समितिका सदस्य पौडेल नेविसंघको विवादका कारण देखाएर केन्द्रीय कार्यसमिति बैठक रोक्न नहुने पक्षमा देखिन्छन् । ‘‘नेविसंघमा देखिएको विवाद आफ्नो ठाउँमा छ । नेविसंघको विवादले केन्द्रीय समितिको बैठक नबस्ने, विधानमा छलफल नहुने भन्ने हुँदैन । निर्धारित मितिमै महासमिति बैठक सम्पन्न गर्न केन्द्रीय समिति बैठक बसेर विधानको मस्यौदामाथि छलफल गर्नुपर्छ,’’ उनले प्रतिक्रिया दिए ।      

गत असोज २१ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले नेविसंघमा ३२ वर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । गत असोज २५ गतेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि कांग्रेस नेताहरु सामूहिक रुपमा एक ठाउँमा भेला हुन सकेका छैनन् । 

केन्द्रीय समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले बहिष्कार गर्ने तयारी गरेपछि असोज २५ गतेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले महासमिति बैठकको तयारीका लागि तीव्रता भने दिइरहेको छ । सोमबार बसेको स्थानीय व्यवस्थापन समितिको बैठकले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । 

बैठकले भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ कांगे्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर कांग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको हो । 

बैठकले भक्तपुर कांग्रेसका सचिव निशान ढुङ्गेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरेको कांग्रेस कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन् । आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए । 

यसअघि गत शनिबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमितिको बैठक काठमाडौंको भृकटी मण्डपमा गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०७:५२
प्रतिक्रिया दिनुहोस्