काठमाडौं । विभिन्न कम्पनीमा जडान गरिएको मिटर उल्टो घुमाएर कमिशन खाने र लोडसेडिङ बढाउन सहयोग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
उद्योगलाई बढी बिजुली दिने तर उल्टो मिटर घुमाएर कम बिल उठाउने नेपाल विद्युत प्राधिकरणका कर्मचारी नै पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाले वर्षौदेखि विद्युतको मिटर बिगारेर करोडौं रकम हिनामिना गर्ने विद्युतका प्राविधिकसहित १६ जनालाई पक्राउ गरी कारवाही अघि बढाएको छ ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार पक्राउ पर्नेमा विद्युत प्राधिकरण बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, पूर्वकर्मचारी टहलबहादुर कार्की, उपत्यकाभित्रका विभिन्न क्षेत्रका मिटर रिडर १२ जना र ४ जना कारखानाका गरी १६ जनालाई नियन्त्रणमा लिएर ठगी अन्तरगत मुद्दा चलाइएको छ ।
प्राधिकरणको विभिन्न क्षेत्रमा काम गर्ने मिटर रिडर अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको र अझै केही व्यक्ति पक्राउ पर्न बाँकी रहेको एसएसपी खनालले बताए ।
महाशाखाका अनुसार कुमारीपाटीमा रहेको एक पानी कारखाना, कपास कारखाना र गौशालामा हरेको रामेश्वरम मिठाई पसलबाट प्राधिकरणका कर्मचारीसँग मिलेर मिटर उल्टो घुमाएर आर्थिक ठगी गर्ने गरेको भेटिएको छ ।
यसरी हुन्छ ठगी
अनुसन्धान अधिकारीका अनुसार बिजुलीको मिटर बिगार्दा एक जनाले मात्र हैन उनीहरुको पूरै च्यानल प्रयोग हुने गरेको भेटिएको छ । विद्युतका कर्मचारी र उद्योगीबीच पहिला मिटर बिगार्नेबारे छलफल हुन्छ । कुरो मिलेपछि पाँच सय भन्दा बढी पहिले नै बिलिङमा ५० युनिट बनाइन्छ । त्यसपछि मिटर रिडिङ गर्नेले सिल तोडेर उल्टो घुम्ने गरी जडान गर्छ । यसो गर्दा मिटर रिडरदेखि प्राविधिक र ग्राहकको मिलेमतो हुन्छ ।
प्राधिकरणका कर्मचारीहरुले बिदाका दिनमासमेत काम गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
महाशाखा प्रमुख एसएसपी खनाल भन्छन्, “संगठीत रुपमा मिलेर राजश्व चुहावटद हुने गरेको भेटियो, अनुसन्धान सुरु भएको छ, यसमा माथिसम्मको सेटिङ पनि हुन सक्छ हामी अनुसन्धान गर्दै छौं ।”