काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार ३४ किलो सुनसहित बाँकेका गोपालबहादुर शाहीलाई नियन्त्रणमा लियो । शाहीले दुबईबाट सुटकेसमा सुन ल्याएर आएका थिए, शाहीसँगै अर्का सुन भरिया पनि थिए । उनी सुन रिसिभरलाई लिएर फरार भए ।
शाही आफूले बाकेर ल्याएको सुन मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई बुझाएर आफ्नो बाटो लाग्ने सुरमा थिए । उनले यसअघि पनि यही तरिका अपनाउँदै आएका थिए ।
काफ्ले र थापाले पनि शाहीबाट रिसिभ गरेको सुन पनौतीका रामहरि कार्कीलाई दिने योजनामा थिए । कार्कीबाहेक थापा र काफ्लेले अरुलाई चिन्दैनन् । “त्यो सुन कता जान्छ भन्ने कुरा कार्कीलाई मात्र थाहा हुन्छ,” प्रहरीका एक अनुसन्धान अधिकृतले भने, “एकले अर्कोलाई नचिनाउने उद्देश्यले तस्करले यसरी सेटिङ गरेका हुन्छन् ।”
गत पुस १४ गते केरुङ हुँदै अवैध रूपमा काठमाडौं भित्रिँदै गरेको सुनसहित महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सिन्धुपाल्चोक लिस्ती–१ का कुन्साङ लामालाई पक्राउ गर्यो । लामाले केरुङबाट भन्सार छलीको ७ किलो सुन हाइलक्स गाडीको एयर फिल्टरभित्र लुकाएर काठमाडौं ल्याउँदै गरेका थिए । बेला पक्राउ परेका हुन् ।
उनले आफ्नै नाममा रहेको बा ८ च ४७२० नम्बरको हाइलक्स गाडीको एयर फिल्टरमा सुन फिटिङ गरेको अवस्थामा महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनी ‘प्रोफेसनल’ सुन भरिया हुन् । त्यसअघि पनि लामा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन बोक्ने काम गर्थे । तातोपानी नाका बन्द भएपछि उनी केरुङ सरेका हुन् । उनको केरुङमा एउटा होटल पनि छ । तर, होटल त उनको देखाउनका लागि चलाएको व्यवसायमात्र हो । उनले होटलको दुरुपायेग गरी सुन तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनको पछि को छ भन्ने कुरा पत्ता लगाउन महाशाखाले उनलाई केही दिन हिरासतमा राखी अनुसन्धान गर्यो, तर कुनै कुरा पनि चुहिएन । उनले काठमाडौं ल्याएको सुन कसलाई दिने गरेको भन्ने खुलाएनन् । “मलाई काठमाडौं गाडी पुर्याउने जिम्मा दिइएको थियो । मैले गाडी ग्यारेजमा राख्ने हो, त्यसपछि सुन कसले उठाएर लैजान्छ भन्ने मलाई थाहा हुँदैन,” लामाको बयान उद्धृत गर्दै महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकारीले भने ।
पुस २९ गते राति बालाजु प्रहरीले रसुवाबाट सुन आउँदैछ भन्ने खबर पायो । धादिङ गल्छीको बाटो आउँदै गरेको ना १ ज ४९६४ नम्बरको टाटा सुमोको पर्खाइमा रातभर प्रहरी कलंकीमा ढुकेर बस्यो । शनिबार बिहान साढे १० बजे बल्ल प्रहरीले पर्खिरहेको सुमो गाडी काठमाडौं भित्रियो ।
सादा पोशाकमा रहेका प्रहरीले गाडीको पिछा गर्न थाले । सुमोका चालक रविन्द्र भुजेलले कंलकीबाट सुमो बालाजुतर्फ मोडे । सुमो बालाजुबाट खोलैखोला एकान्तकुना निस्कन जब अघि बढ्यो, प्रहरीले बालाजुको पुल क्षेत्रमा गाडी रोक्यो । खानतलासी गर्दै जाँदा गाडीको ब्याट्री छेउमा फल्स बटम बनाएर १५ किलो सुन लुकाएको अवस्थामा भेटियो ।
गाडी चालक अर्थात् सुन भरिया रविन्द्रलाई सुन कसलाई दिने भन्ने जानकारी छैन । उनी पहिल्यैदेखिका भरिया भएपछि सुन तस्करले तरिका बदलेको अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोत भन्छ, “उनले रसुवाबाट ल्याउँदा पनि गाडी सडकबाटै टिपेर ल्याएका थिए । काठमाडौंमा पनि एकान्तकुनाको सडक किनारमा गाडी छाडेर हिँडे ।”
त्रिभुवन विमानस्थलमा गत साता पक्राउ परेका सुन भरियाको बयानका आधारमा तस्करी समूहका अन्य पक्राउ परेपछि तस्करहरूले तरिका बदलेको डीएसपी सन्तोष तामाङ बताउँछने । उनले भने, “भरिया पक्राउ परिहाले पनि अन्य कुरा नखुलोस् भन्नका लागि तस्करले यस्तो उपाय अपनाएको देखियो । सुन रिसिभरले फोन गर्छ होला भन्दै भरियाको फोन खुला राखियो । तर, घरका परिवारबाहेक कसैले फोन गरेको देखिएन ।”
तस्करको आफ्नै भाषा
अनुसन्धान अधिकारीका अनुसार सुन बोक्ने भरिया र तस्करीका विभिन्न भाषा छन् । पहिला सुनलाई ‘फाली’ भनिन्थ्यो । हिजोआज ‘आलु’ भन्ने गरेको भेटिएको छ । तस्करीको भाषामा अहिले ‘आलु’ भनेको सुन हो । एक बोरा ‘आलु’ अर्थात् एक किलो सुन ।