site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य चौकी बन्यो तर पुग्ने बाटो छैन

झापा ।  झापाको केचना–३ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि नयाँ भवनसम्म जाने बाटो नहुँदा भवन सञ्चालनमा आउन नसकेको हो । जग्गादाता पञ्चानन्द राजवंशीले दिएको पाँच कट्ठा क्षेत्रफलमा रु एक करोड ६८ लाख ३९ हजार १२१ को लागतमा सुविधा सम्पन्न दुई तले भवन बनेको छ ।

नवनिर्मित स्वास्थ्य चौकीको भवन बाटोदेखि करिब १५० मिटरको दूरीमा खेतको बीचमा रहेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूधन कोइरालाले सरकारले भवन निर्माणका लागि मात्र रकम दिने भएकाले जग्गाको समस्या त्यहीका स्थानीयवासीले समाधान गर्नुपर्ने बताए । बाटोको टुङ्गो नलागी भवन निर्माण गर्न मिल्छ भन्ने राससकर्मीको जिज्ञासामा उनले भने, “बाटोबिनै भवन कसरी बन्यो त्यो आश्चर्यको कुरा हो, स्थानीय स्वयम्ले यसको समाधान गर्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाटोका विषयमा गाविस सचिव सोमनाथ पौडेलसँग बुझ्दा उनले गाउँ परिषद्को भेलाबाट बाटोको समस्याको समाधान गर्ने बताए ।  “एक साताभित्र गाउँ परिषद्को भेला बोलाएर बाटोको समस्या समाधान गर्ने तयारीमा हामी छौँ,”  सचिव पौडेलले भने ।

जग्गादाताले पहिला बाटो दिने मौखिक सहमति गरे पनि हाल आएर नदिएपछि समस्या भएको उनको भनाइ छ । बाटो निश्चित नभइ भवन निर्माण गरिँदा अहिले स्वास्थ्य चौकी केचनामा समस्या भएको छ ।

रासस

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १५:१४
प्रतिक्रिया दिनुहोस्