काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै भन्सार छली गरेर ल्याइएको ३४ किलो सुन कसको हो भन्ने विषय झनै रहस्यमय हुँदै गएको छ ।
विदेशबाट ल्याइएको सुन कहाँ कुन व्यापारीलाई कति उपलब्ध गराउने सम्बन्धित अर्का व्यक्ति पक्राउ परेपछि सुन सम्बन्धि विषय झनै रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।
केही मिडिया सञ्चालकले समेत उनै व्यक्तिलाई प्रयोग गरेर केही पहिलादेखि नै सुनको कारोबार गर्दै आएको अनुसन्धानमा संलग्न अधिकारीको आशंका छ ।
तर लगानीकर्ताको पहिचान अझै हुन नसकेको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् ।
“आशंका गरिएको भन्दा झनै रहस्यमय देखिँदै गएको छ,” स्रोतले भन्यो, “अनुसन्धान पूरा नहुँदासम्म यो कसको लगानीमा ल्याइएको हो । कहाँ लैजाने भन्ने अहिले नै केही भन्न सकिँदैन ।”
दुबईबाट सेटिङमार्फत नेपाल भित्र्याएको सुन व्यापारीकहाँ पुर्याउने सुन तस्करी समूहका काठमाडौं नजिकैका एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।
पक्राउ परेका उक्त व्यक्ति अनुसन्धानको घेरामै रहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकारीले बताएअनुसार ती व्यक्ति सुुन तस्करी समुहका नेपालमा सुन बाँडफाँड गर्ने प्रमुख व्यक्ति हुन् ।
यसअघि पक्राउ परेका तीन जनाले आ–आफ्नो काम पूरा गरेर सुन ती व्यक्तिकहाँ पुर्याउने तयारी गरेका थिए । दुबईबाट नेपाल सेटिङमार्फत भित्रिएको सुनलाई उनैले नै व्यापारीकहाँ र भारतसम्म पुर्याउने गरेको स्रोतले जानकारी दियो ।
उच्च स्रोतका अनुसार उनले काठमाडौंको न्युरोडमा रहेका नाम चलेकै सुन पसलका मालिकलाई सुन बुझाउने गरेका थिए ।
(स्रोतले सुन पसलको नाम गोप्य राखिदिन आग्रह गरेका कारण व्यापारी र पसलको नाम गोप्य राखिएको छ ।)
“दुबईमा बसेर नेपाल सुन पठाउने हरी खड्काका दाहिने हात जस्तै हुन् उनी,” स्रोत भन्छ, “काठमाडौंमा उनैको एउटा रोधी घर छ । त्यहींबाट कसले कति सुन लैजाने हो भन्ने निर्णय हुन्थ्यो ।”
अनुसन्धान स्रोतका अनुसार यसपटक ती व्यापारीले ८० ‘पिस’ अर्थात् ८० किलो सुन अर्डर गरेका थिए ।
“त्यहीमध्येको ३४ किलो सुन फेला परेको हो,” स्रोतले भन्यो, “बाँकी सुन आइसक्यो कि आउन बाँकी हो भनेर अनुसन्धान भैरहेको छ ।”
रोदीघरबाटै व्यापारीलाई बेचिन्थ्यो सुन
“दुबईबाट सुन बोकेका भरिया नेपाल आउँथे,” प्रहरी स्रोतले भन्यो, “भरियाले भन्सारका कर्मचारीको सहयोगमा विमानस्थलबाट बाहिर निकाल्थे । बाहिर निस्केपछि उनीहरुले त्यो सुन दोस्रो पक्षलाई दिन्थे, त्यो दोस्रो पक्षले सुन मंगलबार राति पक्राउ परेका व्यक्तिकहाँ पुर्याउँथ्यो । उनैले त्यो सुन काठमाडौंमा रहेको रोधीघरमा लगेर जम्मा गर्थे । रोधीमा सुन राख्नकै लागि एउटा कोठा नै छुट्याएका रहेछन् । अर्डरअनुसार व्यापारीले सुन रोधीघरबाटै उठाउने गरेको भेटियो ।”
मंगलबार राति पक्राउ परेका व्यक्तिले सुन व्यापारी र लगानीकर्ताको नाम बताए पनि अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक नगरिएको ती अधिकारी बताउँछन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्,“सुन त बेला–बेला यसैगरि पक्राउ हुन्थ्यो । तर यसपटकको केसले धेरै कुरा बाहिर आउला जस्तो देखिएको छ । यसमा ठूलै नाम चलेका व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ ।”