काठमाडौं । गोरखा भिरकोट–३ का रामबहादुर बानियाँलाई रोजगारीको लागि दुबई पठाइदिने भन्दै कास्कीका यम भन्ने ऐनबहादुर थापामगरले ९८ हजार ५ सय रुपैयाँ लिए । तर, विदेश भने पठाएनन् । पैसा खाएर गायब भएपछि बानियाँले महानगरीय प्रहरी महाशाखा टेकुमा थापा मगरविरुद्ध उजुरी गरे ।
महाशाखाको टोलीले थापामगरलाई पुस १८ गते काठमाडौंको जमलबाट नियन्त्रणमा लियो । महाशाखाको प्रहरी टोलीले उनको खानतलासी गर्दा उनको साथमा पीडित बानियाँको नामको एसएसलसीको सर्टिफिकेट भेटियो । प्रहरीले सर्टिफिकेटका बारेमा अनुसन्धान गर्दै जाँदा नक्कली भएको र उक्त सर्टिफिकेट काठमाडौंको रानीबारीस्थित एक साइबर क्याफेमा बनाएको खुल्यो । अभियुक्त थापा मगरले एक हजार रुपैयाँ तिरेर रानीबारीस्थित आईटी भिट टेक्नोलोजी नामक साइबरबाट त्यो सर्टिफिकेट बनाएको बयान दिए ।
उनको बयानलाई पुष्टि गर्न महाशाखाको टोली उक्त साइबरमा गयो । सादा पोसाकका प्रहरीले आफूलाई एसएसलसीको नक्कली सर्टिफिकेट चाहिएको भन्दै बनाइदिन आग्रह गरे । त्यसै क्रममा साइबर सञ्चालक विकास रम्तेल र भगवान भण्डारीले लामो समयदेखि साइबरको आवरणमा नक्कली सर्टिफिकेट बनाउने गरेको खुल्यो ।
०७३ भदौ २९ गते प्रहरीले काठमाडौंको डिल्लीबजारमा बाहिर साइबर तथा टाइपिङ सेन्टरको बोर्ड झुण्ड्याएर भित्र नक्कली सवारी चालक अनुमतिपत्र तथा शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र बनाउने गरेको प्रहरीले भेट्टायो । साइबरको आवरणमा लामो समयदेखि नक्कली कागजपत्र बनाउने गिरोह नै प्रहरीले फेला पार्यो ।
गुल्मी पिपलबोटका ४० वर्षीय शोभाकर खनाल, काठमाडौं कमलाक्षीका ६० वर्षीय बालकृष्ण श्रेष्ठ, गोरखा सोरेपानी–२ का ४० वर्षीय मुक्तिनाथ ढकाल, पाल्पा डाँडाकोट–३ का ३८ वर्षीय निर्मल खड्का, ललितपुर गोदावरी–१ का २७ वर्षीय प्रविण कार्की, मकवानपुर मनहरीका श्रीराम अर्याल, धादिङ तसर्पु–४ का ३८ वर्षीय शालिकराम अर्याल र कञ्चनपुर दोधारा चाँदनी–२ का २० वर्षीय अशोक विष्ट प्रहरीको फन्दामा परे । उनीहरूले झुक्याउनका लागी साइबर खोलेको तर भित्र सबै काम नक्कली कागजपत्र बन्ने गरेको खुल्यो ।
गत वैशाख ११ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले ललितपुरबाट तीन जना नक्कली इन्जिनियरलाई नियन्त्रणमा लियो । नक्कली प्रमाणपत्र बनाएर इन्जिनियरिङ परिषद्मा समेत दर्ता गराएको आरोपमा महाशाखाले डोटी दिपायलका हितेश सिंह, खोटाङ बाक्सिलाका पूजनकुमार खत्री र काठमाडौं बूढानीलकण्ठका सनत श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्यो । उनीहरूले इन्जिनियरिङ पढेको तर पास हुन नसकेपछि नक्कली सर्टिफिकेट पेश गरी इन्जीनियरिङ पेसामा लागेको कुरा अनुसन्धानबाट खुल्यो ।
यसरी नक्कली प्रमाणपत्र कहाँ र कसले बनाउँदो रहेछ भन्दै महाशाखाको टोलीले अनुसन्धान गर्दै जाँदा ललितपुरको गाबहालस्थित एक साइबरबाट नक्कली सर्टिफिकेट बन्ने गरेको रहस्य खुल्यो । कम्प्युटर डिजाइन तथा इन्टरनेट सेवा दिने भन्दै खुलेका साइबरमा इन्जिनियरका सर्टिफिकेट पनि बन्ने गरेको तथ्य फेला पर्यो ।
यी केही उदाहरणमात्र हुन् । महागरीय प्रहरी परिसरको अपराध महाशाखामा यस्ता दर्जनौं घटनाको अनुसन्धान भइरहेको छ । एक जमाना थियो, सबैसँग इन्टरनेटको पहुँच थिएन, त्यसैले नागरिक इन्टरनेट गर्न साइबरमा जान्थे ।
हातहातमा मोबाइल र घरघरमा इन्टरनेट भइसक्दा पनि साइबर क्याफेहरू चलिरहेको देखेपछि ती प्रहरीको शंकाको घेरामा परेका थिए । “महँगो भाडा तिरेर सञ्चालन गरिएका साइबरमा के काम हुन्छ भनेर खोज्दै जाँदा त केही साइबर अवैध धन्दा र आपराधिक क्रियाकलापमा लागेको भेटियो,” महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, “बाहिर साइनबोर्ड साइबरको राख्ने, ढोकामा साइबरका विभिन्न काम गरिन्छ भनेर लेख्ने तर भित्र नक्कली सर्टिफिकेटको धन्दा गरेको अवस्थामा केही साइबर भेटिए ।” अवैध कागजपत्र प्रिन्ट गर्नेदेखि नक्कली कागजपत्र बनाउने साइबर सञ्चालकलाई कानुनी दायरामा ल्याएको उनले बताए ।