काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेडकर्नर सूचीमा १४ नेपाली छन् । त्यसबाहेक सूचीमा राखेकै आधारमा केही पक्राउ पनि परिसकेका छन् ।
यसअघि पनि रेडकर्नरको सूचीमा रहेका नेपालीलाई प्रहरीले पक्राउ गरिसकेको छ । रेडकर्नर सूचीमा रहेका पूर्वडीएसपी जगदिश चन्दलाई प्रहरीले ७२ असारमा उनकै घरबाट पक्राउ गर्यो । सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न भएको भेटियो । चन्द फरार भए । नेपाल प्रहरीले उनलाई इन्टरपोलको रेडकर्नरमा राखेको थियो ।
२० गैंडाको शिकार गरी मलेसिया पुगेका राजकुमार प्रजा पनि इन्टरपोलको माध्यमबाट मलेसियाबाट पक्राउ परे । उनी २०७१ माघ १६ गते मलेसियामा पक्राउ परे ।
त्यस्तै, इन्टरपोलको रेडकर्नर सूचीमा पवन कुमार कार्की पनि छन् । उनी हाल अमेरिकामा बस्दै आएका छन् । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुबाएर अमेरिका भासिएको र अमेरिकामा उनले डिपार्टमेन्टल स्टोर चलाएको प्रहरीले फेला पारेपछि उनलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो ।
रेडकर्नर नोटिसबाट केही अभियुक्तहरू पक्राउ परेका छन् भने अझै १४ जना पक्राउ पर्न बाँकी छन् ।
को को छन् रेडकर्नर नोटिसमा ? के छ उनीहरूको कसुर ?
पवन कुमार कार्की– बैकिङ कसुर । नेपालको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स डुबाएर अमेरिका गएर डिपार्टमेण्ट स्टोर खोलेर बसेका थिए । उनलाई इन्टरपोलले २०१५ को डिसेम्बरमा रेडकर्नर नोटिसमा राखेको थियो ।
भुपेन्द्र खड्का– वैदेशिक रोजगार ठगी । उनले २००६ अगस्टमा ६ जना नेपालीबाट ४५ लाखभन्दा बढी असुलेर फरार भएपछि प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेको हो ।
भक्तबहादुर लामा– वैदेशिक रोजगार ठगी । उनले विभिन्न व्यक्तिबाट २००६ मा २१ करोड बढी रकम उठाएर फरार भएका थिए ।
विष्णुबहादुर लामा– वैदेशिक रोजगार ठगी । भक्तबहादुरसँग मिलेर ठगी गरेर फरार भएका थिए । उनलाई इन्टरपोलले २००७ मा रेडकर्नर नोटिसमा राखेको थियो ।
रामबहादुर तामाङ – वैदेशिक रोजगार ठगी । तामाङलाई इन्टरपोलले अगस्ट २००७ मा रेडकर्नर नोटिसमा राखेको थियो ।
केशव दर्लामी मगर– उपेन्द्र देवकोटाको छोरी मेघा देवकोटा अपरणमा संलग्न । उनलाई इन्टरपोलले २००८ को सेप्टेम्बरमा रेड कर्नर नोटिसमा राखेको थियो ।
फकिर रियाज– मे २००८ मा रुपन्देहीमा तीर्थ बोहोराको हत्यामा संलग्न । उनलाई इन्टरपोलले जुलाई ३०, २००८ मा रेड कर्नर नोटिसमा राखेको थियो ।
अगंबहादुर बोहोरा (वसन्त)– बालिका बलात्कार । उनले ६ वर्षिया बालिकालाई बलात्कार गरी फरार रहेका थिए । उनलाई इन्टरपोलले २००९ मा रेडकर्नर नोटिसमा राखेको थियो ।
रामकुमार यादव– हत्या÷अपहरण । सिरहाको अयोध्या नगरका गंगाप्रसाद यादवको हत्या तथा अपहरण काण्डमा फरार भएका यादवलाई प्रहरीले २०११ मा रेडकर्नर नोटिस जारी गरेको हो ।
पशुपतिनाथ शुक्ला – बैंकिङ ठगी ।
रुद्र आचार्य– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या काण्डमा संलग्न । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन गरेको थियो । अधिकारी हत्यामा आचार्यलाई अदालतले दोषी ठहर गरेपछि उनी फरार थिए । उनलाई इन्टरपोलको रेडकर्नर नोटिसमा सन् २०१४ को जुन महिनामा राखिएको हो ।
एमडी सकिल हुसेन– हत्या । उनले २०१३ मा सप्तरीमा हत्यापछि फरार थिए । उनलाई इन्टरपोलले १९ जुन २०१५ मा रेडकर्नर नोटिसमा राखेको थियो ।
वकेन्द्रबहादुर सिंह– हत्या । काम्दा–८ बाजुराका शेरबहादुर रोकायालाई अगस्ट २९, २०१५ मा हत्या गरी फरार थिए । उनलाई इन्टरपोलले डिसेम्बर २०१५ मा रेड कर्नर नोटिसमा राखेको थियो ।
जीवनबहादुर अधिकारी– कास्कीको सिद्धा गाविसका शिवराज थापालाई हत्या गरी फरार थिए । उनलाई इन्टरपोलले २०१६ मा रेड कर्नर नोटिसमा राखेको थियो ।
यस्ता १४ जनालाई नेपाल प्रहरीको इन्टरपोल शाखाले रेडकर्नर नोटिस जारी गरेको हो ।
त्यसो त नेपालीहरू स्वदेशमा मात्र होइन, विदेशमा समेत अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिको सूचीमा रहेको देखिएको छ । इन्टरपोलको वेबसाइटमा रहेको तथ्यांकअनुसार चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कारजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै १० जना नेपालीलाई भारतीय इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ ।
को को हुन् भारतीय इन्टरपोलले रेडकर्नर जारी गरेका व्यक्तिहरू ?
विपिन बस्ती
भिमी दमाई
हरिहर भुसाल
रमेश भगदार
इन्द्रबहादुर चित्रासभाद
राजेश क्षेत्री
तहिर साह
नान्नु मगर
राजबहादुर साही
खुमराज थापा
यसैगरी अमेरिकी इन्टरपोलले नेपालका अभिषेक सिंहका नाममा पनि रेडकर्नर नोटिस जारी गरेको छ ।
प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लका अनुसार नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ । नेपालले कुनै विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ । त्यसैगरी अपराध गरेर अन्य मुलुकमा बसेका नेपालीलाई पनि सम्बन्धित देशको नियम कानुनअनुसार नेपाल पठाउने गरेको छ ।
के हो रेड कर्नर नोटिस ?
सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रियस्तरमा झाँगिँदै गयो । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो ।
मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो ।
सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो । इन्टरपोलमा हालसम्म १९० देश सदस्य छन् । इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।
सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोहीअनुरूप खोजी कार्य हुन्छ ।