काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासत कक्षमा रहेका ६ जना एटिएम ह्याकरले प्रहरीलाई हैरान पारेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई एक महिनायता काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । ब्युरोको हिरासत कक्षमा ३ जना रोमानियन, २ जना टर्किस र एक जना बुल्गेरियन गरी ६ जना रहेका छन् ।
ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले बाह्रखरीसँग भने, “अपराध गरेर प्रहरीको कारबाहीमा पर्नेमध्येमा अरुभन्दा अहिले नियन्त्रणमा लिएका ६ जना विदेशी नागरिक अलि फरक छन्, “अनुसन्धानमा यिनीहरुले मुख खोल्दैनन् । अंग्रेजी भाषा बोल्न जान्ने भए पनि उनीहरु दोभाषे चाहिने भन्दै प्रहरीलाई बयान दिन मान्दैनन् ।”
नेपाल आएर रकम चोरी गर्नुपूर्व तिनले नेपालको कानुन र नेपालको कमजोर पक्षलाई बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ । डीआईजी सिलवालले भने, “पक्राउ परेका ६ जनामात्र हैनन्, एटिएम ह्याकिङको पूरै सञ्जाल हुन्छ । हामीले पटक पटक गरी ९ विदेशी नेपालमा पक्राउ गरेका छौं ।” सिलवालका अनुसार ह्याकरहरू समूहमा काम गर्ने र एटीएमबाट रकम निकाल्न जाने देशहरुको सुक्ष्म अध्ययन समेत गर्दछन् । जुन देशको नियम कानुन फितलो छ, यस्तो अपराध गर्दा समातिएको खण्डमा कम सजाय पाइन्छ, त्यही देश उनीहरुको टार्गेटमा पर्छ ।
उनीहरू प्रहरीले पक्राउ गरेपछि केही फरक पर्दैन भन्ने हेतुले नेपाल आएको देखिन्छ । ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले भने, “एटीएम ह्याक गरी पक्राउ परेका ६ जनाले नेपाल आउनुअघि नै नेपालको कानुनको अध्ययन गरेको देखिन्छ । उनीहरूले स्विकारेका छन् कि नेपालको कानुन कमजोर भएरै उनीहरू यहाँ एटीएम ह्याक गर्न आएका हुन् ।”
नेपालमा पक्राउ पर्दा प्रहरीले कुटपिट गर्दैन र २ वर्ष जेल बसे छुटकारा पाइने भन्ने उनीहरुको सोचाइ देखिन्छ । अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेका ६ विदेशीले राम्रोसँग बयान दिन मानेका छैनन् । उनीहरु ढुक्कले केही कुरा बोले पनि आफ्नो सञ्जालबारे खुल्न मान्दैनन् ।
सीआईबीका अधिकारीसँग एटिएम ह्याकरहरु “आई एम युरोपियन” भन्दै उल्टै ठूला कुरा गर्छन् । उनीहरू अत्यधिक चुरोट सेवन गर्ने र खानेकुरा नमिठो दियो भने थर्काएर राम्रो खानेकुरा माग्ने गरेका छन् । प्रहरीसँग सिधा कुरा पनि गर्न नमान्ने कारणले उनीहरुको बयान लिन सीआईबीले दोभाषे प्रयोग गरेको छ ।
पत्रकारले फोटो खिच्न खोज्दा लुगा खोलिदिए
केही दिनअघि ब्युरोले पक्राउ परेका एटिएम ह्याकरका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्यो । प्रहरीले उनीहरुको बारेमा सबै कुरा जानकारी गराएपछि पत्रकारलाई उनीहरुको फोटो खिच्न भन्दै हिरासत कक्षबाट बाहिर निकाल्यो । पक्राउ परेका एटिएम ह्याकरको तस्बिर खिच्न पत्रकारहरु अघि बढे, क्यामेरा देख्नासाथ एटिएम ह्याकरले अंग्रेजी भाषामा अश्लिल शब्द प्रयोग गर्दै लगाएको प्यान्ट र कट्टु नै खोलिदिए ।
पहिला विदेशीको रकम चोरी हुन्थ्यो, अब नेपालीको पनि
अनुसन्धान अधिकारीका अनुसार ह्याकरहरु पहिला युरोप तथा विभिन्न मुलुकमा बसोबास गर्नेहरूको एटिएम, भिसा तथा विभिन्न बिजनेस कार्डको पिन नम्बर चोरी गरेर नेपाल ल्याएर रकम निकालेर जान्थे । तर, हिजोआज नेपालीहरुको एटिएमको पिन कोड पनि चोरी हु्न थालेको छ ।
योबीचमा ४ हजारभन्दा बढी नेपालीको पिन कोड चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धान अधिकारीका अनुसार ह्याकरले विदेशी नागरिकको चोरी गरेको पिन नम्बर प्रयोग गरेर नेपालबाट रकम निकाल्ने र नेपालीको पिन नम्बर चोरी गरेर विदेशबाट रकम निकाल्ने तयारी गर्दै गर्दा प्रहरीले यो तथ्य पत्ता लगाएको हो ।
सीआईबी प्रमुख डीआईजी सिलवालले भने, “नेपालका एटिएम बुथमा विभिन्न डिभाइस जडान गरेर नेपालीहरुको विवरण चोरी गरेर विदेश सप्लाइ गरेको हुन सक्छन् । हामीले यो कुरा पहिला पत्ता पाएर सम्बन्धित ग्राहकहरूलाई आफ्नो पिन कोड परिर्वतन गर्न सुझाव दिएका छौं ।”