काठमाडौं । विभिन्न १८ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई कम्तिमा ३ करोड रुपैयाँ बिजुली महशुल बक्यौता तिर्न बाँकी रहेको पाइएको छ ।
१८ मन्त्रालयले झण्डै ३ करोड रुपैयाँ बिजुली बक्यौता भुक्तानी गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी महशुल बक्यौता गृह मन्त्रालयको छ । गृहले मात्रै १ करोड ३ लाख ७५ हजार रुपैयाँ महशुल तिर्न बाँकी छ । सबैभन्दा कम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको छ । सो मन्त्रालयले ७ हजार १९ रुपैयाँ महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।
अधिकांश मन्त्रालयले बिजुली महशुल तिर्न बाँकी रहेको ऊर्जामन्त्री जनार्दन शर्माले बताए । “अधिकांश मन्त्रालयले महशुल तिर्न बाँकी छ,” उनले भने “सरकारी निकाय भएकाले महशुल उठाउन सकिन्छ ।” उनले सम्हालेको ऊर्जा मन्त्रालय र जल तथा शक्ति आयोगले बिजुली महशुल भुक्तानी गरेको छ । यस्तै सिँचाइ मन्त्रालयले समेत महशुल बुझाएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले पटक–पटक ताकेता गरे पनि गृहलगायत अन्य मन्त्रालयले बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका छन् । गत असारमा प्राधिकरणले ७ दिनभित्र बिजुलीको महशुल तिर्न सार्वजनिक सूचना प्रकाशित गरे पनि मन्त्रालयले नै अटेर गरेका छन् । सरकारले प्रत्येक वर्ष बिजुली महशुल तिर्नका लागि करोडौं रुपैयाँ वजेट विनियोजन गरे पनि मन्त्रालयले महशुल भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ । महशुल नितिर्नेको लाइन काट्ने अभियान सुरु गरेपछि विद्युत् प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ बढी पुरानो वक्यौता असुल गरेको थियो ।